नेपाली चलचित्रको अबकाे बजार हल कि डिजिटल?, के भन्छन् चलचित्रकर्मीहरु?

नेपाली चलचित्रको अबकाे बजार हल कि डिजिटल?, के भन्छन् चलचित्रकर्मीहरु?


नेपाली चलचित्रको बजार हल र डिजिटल प्लेट फर्म दुवै भएको चलचित्रकर्मीहरुले बताएका छन्। कोरोनाबाट थलिएका नेपाली चलचित्रको बजार हल कि डिजिटल भन्ने विषयमा  शुक्रबार अनलाइन मार्फत भएको बहसमा चलचित्रकर्मी तथा प्रदर्शकहरुले उक्त कुरा बताएका हुन्। 

अब बजार भनेकै डिजिटल प्रणाली भएकोले भन्दै आफ्नो नयाँ चलचित्र ‘एक‘ विभिन्न डिजिटल प्लेटमार्फत रिलिज गरेका निर्देशक मनोज पण्डितले यस प्रविधिको प्रयोगमा भने अन्यौल रहेको बताए। चलचित्र प्रदर्शन गर्न सहज भएपनि डिजिटल प्रविधि सम्बन्धि जागरुकता कम रहेको र यसलाई क्रमशः प्रविधिमैत्री बनाउनु पर्ने निर्देशक पण्डितले बताए।

डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले डिजिटल प्रविधि विकासको एकदमै प्रारम्भिक चरणमा रहेकोले अहिले पनि हल चलचित्रको पहिलो बजार हो भने डिजिटल दोश्रो बजार भएको बताएका छन्। उनले ठूलो लगानी हुने भएको हुँदा आफूले योजनाबद्ध तरिकाबाट कार्य गर्दै आएको र डिजिटल प्रविधिबाट नेपाली चलचित्रको बजार विस्तार हुने विश्वास व्यक्त गरे। 

सोही कार्यक्रममा हल संचालक तथा निर्माता नरेन्द्र मर्हजनले हल र डिजिटल प्लेटफर्म दुवैलाई सँगसँगै लैजानुपर्ने बताए। बजार जति विस्तार भयो त्यतिनै निर्माता सुरक्षित हुने बताउँदै अब चलचित्रसँगै हल र डिजिटल प्लेटर्फलाई प्रविधिमैत्री बनाउनु पर्नेमा उनले जोड दिए। 

त्यस्तै असोज २६ गतेबाट आफ्नो चलचित्र ‘डाँडाको वरपिपल‘ हलमा रिलिज गर्न लागेका निर्देशक सोभित बस्नेतले हलहरू संचालनमा आएकाले दर्शक आए नआए पनि चलचित्र क्षेत्रलाई चलायमान बनाउन आफूले फिल्म प्रदर्शन गर्न तयार भएको बताए। कसै न कसैले त जोखिम मोल्नु नै थियो, म तयार भएँ भन्दै हलपछि मात्र म डिजिटल प्रविधिमा जान्छु भन्दै उनले पनि डिजिटलले नेपाली चलचित्रको बजारलाई विस्तार गरेको बताए। 

हलको विषयमा आजसम्म बहस नभएको र यस विषयमा बहस गराएर नेपाल चलचित्र तथा साँस्कृति प्रतिष्ठानले राम्रो शुरुवात गरेको बताउँदै निर्देशक पण्डितले हलमा लक्जरी सिट, पर्दा भएपनि अब हल मनोविज्ञान रुपमा पुरानो भएको बताउँदै तसर्थ अबको चलचित्र प्रदर्शन स्वतन्त्र हुनुपर्छ भन्दै उनले त्यो स्वतन्त्रता डिजिटल प्रविधिमा मात्र सम्भव भएको तर्क पेश गरे। तसर्थ अब वैकल्पिक प्लेटफर्मको अवधारणा डिजिटल प्रविधिमा नै जोड दिइनुपर्ने पण्डितको भनाइ छ। उनले निर्माता र फिल्मको स्तर अनुसार हल कि डिजिटल चयन हुनु पर्ने बताए।

बहस कार्यक्रममा डिस होमका प्रबन्ध निर्देशक सुदीप आचार्यले सर्वर मार्फत चलचित्रलाई विशेष रुपमा डिजिटल प्रचार प्रसार गर्ने विभिन्न प्रविधि ल्याएको बताए। 

निर्देशक पण्डितले डिजिटल प्रविधिमा चलचित्र प्रदर्शन गर्दा पारदर्शिताको प्रश्न उठाउँदा डिसहोमका प्रवन्ध निर्देशक सुदीप आचार्यले डिस होम पारदर्शी भएको र सरकारलाई अहिलेसम्म आठ अर्ब कर तिरेको दाबी गरे। 

उनले अब कन्टेन्टलाई पनि दीर्घकालीन रुपमा सोचेर चलचित्र निमार्ण गर्नु पर्ने बताए। विश्वव्यापीरुमा रहेका नेपाली दर्शकहरुले डिजिटल प्रविधिबाट नेपाली चलचित्र हेर्न थालेको अवस्थामा यसको बजार धेरै विस्तार हुनेमा उनी विश्वस्त देखिए। त्यो सम्भावना देखेर नै आफूहरुले यस क्षेत्रमा कार्य गरिरहेको र त्यसको परिणाम चाँडै आउने उनले बताए। 

कार्यक्रममा चलचित्र निर्देशक सोभित बस्नेतले नेपाली चलचित्र रिलिज हुने भनेकाले हलमा चलचित्र रिलिज गर्नुपर्छ। त्यसैले हललाई चलयमान बनाउनु पर्नेमा जोड उनले दिएका छन्। 

पहिलो प्राथमिकतामा हल र दाेस्रो डिजिटल प्लेटर्फमको पक्षमा आफू रहेको बताउँदै  हलबाट पैसा उठ्ने तर डिजिटल प्लेटफर्मबाट मात्र लगानी उठाउन कठिन हुने उनको भनाइ थियो।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्वारा आयोजना गरिएको बहस कार्यक्रममा नेपाली चलचित्रलाई अब डिजिटल प्रबिधिबाट अगाडी बढाइनु पर्नेमा जोड दिइएको छ। जुममार्फत संचालित सो कार्यक्रमका सहजकर्ताका रुपमा नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानका महासचिव तथा चलचित्र निर्देशक यादवकुमार भट्टराई रहेका थिए।

Logo