यी हुन् हरेक वर्ष दसैंमा गुञ्जने सदाबहार गीतहरू

यी हुन् हरेक वर्ष दसैंमा गुञ्जने सदाबहार गीतहरू


दुर्गापूजा, टीका र जमरा दसैंका मुख्य विशेषता हुन्, तर दसैंसँग थुप्रै विषय जोडिने गरेका छन् । भलै वर्ष २०७८ महामारीले यसका विशेषतामा ह्रास ल्याएको छ। मानिसहरूका रहर अनि ब्यवहार खुम्चिएका छन्, तथापि दसैंसँग जोडिएका विविध पक्षलाई भने हामी भूल्न सक्दैनौं। यही विविधपक्षहरू मध्येको एउटा पाटो हो, गीत संगीत।

दशैं पात्रोका पानाहरू पल्टाएर मात्रै आउँदैन। शरद ऋतुको आगमनसँगै मौसममा देखिने एक प्रकारको नयाँपन अनि रेडियो, टेलिभिजन, सार्वजनिक सवारी, हाटबजार, मेला अनि सुपरमार्केटमा बज्ने मालश्री धून र दसैं भावमा बज्ने गीत पनि दसैं बोकेर आउने पक्षहरू हुन् । यहाँ यस्तै यस्तै गीत सङ्गीत अनि दसैंसँग जोडिएका केही सदाबहार कालजयी गीत–संगीतको चर्चा गरिएको छः

१–मालश्री धुन

दसैंमा सबैभन्दा बढी बज्ने संगीतिक धून हो मालश्री धून । सनातन हिन्दू धर्म अनुसार कालिका, जगदिश्वरी लगायत नारी शक्तिहरूको अनुग्रह तथा पूजा आराधनामा यो धूनको प्रयोग हुँदै आएको छ। विभिन्न ठाउँ र पर्व अनुसार मालश्री धून फरक फरक सुन्न सकिन्छ । ढोलकको प्रयोगविना बजाइने मालश्रीले दसैंको आभास दिन्छ। यस अनुरुप मादल, झ्याम्टा, ढोलक लगायत बाजा बजाएर मालश्रीको राग सिर्जना गर्ने गरिएको छ । यही धून जसले साँच्चै सांस्कृतिक रुपमा दसैं बोकेर आउँछ। नयाँ उमंग लिएर आउँछ।

२– दसैं नै हो कि, यो मेरो दशा…

जब, दसैंको आभास हुन्छ अनि, रचनाकार प्रेम बस्नेतको ‘दसैं नै हो कि, यो मेरो दशा, फर्की आएको…’ बोलको गीतले चर्चा पाउँछ । निकै नै कर्णप्रिय यस गीतले दसैंको नयाँ उमंग मात्र ल्याउँदैन दसैंसँगै परिवार तथा सन्तानका रहर, इच्छा र आकांक्षाका विषय पनि उजार गराई दिन्छ ।

दसैं नै हो कि, यो मेरो दशा फर्की आएको
वर्ष नै पिच्छे किन यो मेरो टाउको खाएको
दसैंआएको…दसैं आएको…

पारिवारिक जिम्मेवारी बोध गर्नुपर्ने अभिभावकको मनोदशा गीतले बोल्छ । दसैंसँग मौलिकता र साँस्कृतिक पक्ष मात्र जोडिएको छैन, आर्थिक पक्ष पनि गहनरूपमा सम्मेलित छ भन्ने सन्देश गीतमा सुन्न सकिन्छ । अधिकांश नेपालीको दुखाइ हो, भोगाइ हो। अझ भनौं तल्लो वर्गको आर्थिक अवस्थाका मानिसहरूका निम्ति दसैंको मनोदशा गीतले बोल्छ। योगेश्वर अमात्यको आवाजमा रहेको यो गीत साच्चै दसैंसँग झुमेर आउँछ।

३– नमुछे आमा दहिमा टिका नछरे जमरा…

दसैं पर्व यस्तो पर्व हो जसले, सारा नेपालीहरूलाई एउटै धागोमा समेटिरहेको आभास गर्न सकिन्छ। स्वदेश विदेश जहाँ भए पनि दसैंमा एक पटक भएपनि आफ्नो गाउँ, घर सम्झाउने माध्यमका रूपमा मानिन्छ दसैं । तर, सधैं सोचे जस्तै, भने जस्तै गरि कहाँ घर फर्कन पाइन्छ र ? यिनै अनुभूतिलाई समेटेर भारतीय सेनामा कार्यरत लक्ष्मण रायमाझीले पाकिस्तानसँगको युद्धका बेला रचेका थिए ‘नमुछे आमा दहीमा टीका…’ बोलको गीत।

रचनाकार गायक नारायण रायमाझीका दाजु हुन् । परदेशिएका नेपालीको आत्मकथा बोल्ने यो गीतमा परदेशमा रहेका छोराले आमालाई आफू मृत्युको संघारमा पुगेकाले, नवदुर्गाको प्रसाद जमरा र टीकाको दुःख नगर्न आग्रह गरिएको छ। अझ भनौं परदेशिएको छोराको आशामा कुनै दुःख नगर्नु है भन्ने सन्देश प्रवाह गरिएको छ।

‘नमुछे आमादहीमा टीका नछरे जमरा
दैवले पर्दा उठायो आमा आउँदिन फर्केर’

गीतमा आफ्नी जीवन संगिनीलाई नाडीका चुरा अनि सिँउदोको सिन्दुर नत्याग्न पनि आग्रह गरिएको छ।

‘नफोरे प्रिय नाडीका चुरा झर्याम्म पारेर
जाँदैन दुःख आँसुका ढिक्का बर्बरी झारेर ।’

पर्व लक्षीत हुँदाहुँदै पनि आम नेपालीको कथा बोल्ने गीत साँच्चै गालजयी बनेको छ।

४– ‘दसैं आयो’

चलचित्र ‘मुग्लान’मा समेटिएको लोकप्रिय दसैं गीत हो– ‘दसैं आयो…।’ शरद ऋतुको अभास गराउने मौसम । अनि यो गीतको चित्रण साँच्चै लोभ लाग्दो छ।

वर्ष र दिनको रमाइलो चार्ड गाउँघरमा आइपुग्यो
नेपालीजनको महानपर्व आँगनमा आइपुग्यो
हो, दसैं आयो…हो….दसैं आयो…

शरद ऋतुको आगमन, परदेशिएका सन्तानको उपस्थिती अनि, अग्रज अभिभावकहरूको अनुहारमा देखिने खुसीका धर्साहरू साँच्चै वर्णन योग्य लाग्छ । यही काममा सफल छ, गीत ‘दसैं आयो’ । ग्रामीण परिवेश र त्यही परिवेश भित्र मनाईने दसैंको रौनकता, शब्द, संगीत अनि दृश्यमा समेत हेर्न पाउनु गीतको लोकप्रियतासँग जोडिएको गहन पाटो हो।

लोकनाथ सापकोटाको शब्द र संगीत तथा, उदित नारायण झा र दीपा झाको स्वर रहेको गीतमा बेसीहरूमा झुलेका धानका बाला, बारीमा फुलिरहेका कोदोका बाला अनि निधारमा टिका र जमराको चमकताको गुणगान पस्कन सक्नु वास्तकिताको विम्ब हो। वास्तविक नेपाली परिवेश अनुकूल तयार यो गीत दसैंका लागि सदाबहार छ।

‘कोदो फुल्यो बारीमा लरिलै, धानको बाला झुल्यो खेतैमा
कति राम्री देखिन्छौ बरिलै जमरा र रातो टिकैमा…’

५– रातो टिका निधारमा

पूरानो फिल्म अल्लारेमा समावेश ‘रातो टिका निधारमा..’ बोलको गीतले पनि दसैंको झल्को दिन्छ । सहदेव ढुंगानाको शब्द तथा शम्भुजित बाँसकोटाको संगीत रहेको गीतमा उमेश पाण्डे र रमना श्रेष्ठको आवाज रहेको छ।

पछिल्लो समय त यो गीतलाई प्रमोद खरेल र मेलिना राईका आवाजमा नयाँ भर्जनमा पनि सार्वजनिक गरिएको छ । नयाँ भर्जनको यो गीत अघिल्लो वर्षको दसैंमा सार्वजनिक चलचित्र ‘रातो टिका’मा पनि समावेश गरिएको थियो । जहाँ दसैंकै रौनकता अनि दसैंको भाव व्यक्त गरिएको छ ।

रातो टिका निधारमा टलक्क टल्कियो
छातिभित्र मायाको राँको सल्कियो
ए बिजुलीको तार तार…

६ – ‘अहिलेको दसैंमा आमा घरमा आउँदिन…’

गायक बद्री पंगेनीको स्वर, राजु परियारको संगीत तथा भगवान भण्डारीको शब्द रहेको ‘अहिलेको दसैंमा आमा घरमा आउँदिन..’ बोलको गीतले पनि दसैंको भाव झल्काउँछ । विदेशिएका युवाहरूको कथा बोल्ने यो गीतले दसैंसँग जोडिएका केही बाध्यकारी विषयको उठान गरिदिएको छ । युवाहरू विदेशिनुको बाध्यता अनि दसैं जस्तो विशेष पर्वमा घर आउन नसक्नुको पीडा यो गीतले बोल्छ।

बाध्य भइयो परदेशमा छिर्न,
आमा मैले पढ्दा लागेको ऋण तिर्न
आमा बिदा पाउँदिन
अहिलेको दसैंमा आमा, घरमा आउँदिन…

७– सुनिल गिरीको दसैं आयो

थालैभरि रातोरातो अक्षता र पाती
बाटैभरि नयाँ नौलो मानिसको ताँती
दसैं आयो,
फर्कियो लाहुरे गाउँघरको मायालाई सम्झेर…

शरद ऋतुको मौसम, ग्रामिण परिवेश अनि दसैंको रौनकता वर्णन गरिएको यो गीतले पनि दसैंको बहार बोकेर आउँछ । अर्कातर्फ लाहुरबाट आएको छोरो देखेर आँगनीको डिलमा आमाको हाँसो अनि तिहारको माहोल साँच्चै रोचक लाग्न सक्छ। सुनिल गिरीको शब्द संगीत तथा स्वरमा रहेको ‘दसैं आयो’ बोलको गीत पनि स्रोता माझ प्रिय छ।

८– विछोडको पीडा नसकि खप्न…

स्वर सम्राट नारायण गोपाल र गायिका दिलमाया खातीको स्वरमा सजिएको अर्को दसैं बोध गराउने गीत हो– ‘बिछोडको पीडा’। गीतकार रत्न शमसेर राणाले रचना गरेको यो गीत नेपाली सदावहार गीतको सूचीमा समेत छ।

‘विछोडको पीडा नसकि खप्न दसैंको बेलामा
तिमीलाई भेट्न आउँदै छु फर्की रमाईलो गाउँमा…’

गीतमा पारिवारिक रुपमा बिछोडिएको परदेशीले घर आउन गरेको वाचा प्रस्तुत गरिएको छ । स्वदेशमा दसैं मनाईरहँदा विदेशमा युवाको मनमा कस्तो मनोदशा चलिरहेको हुन्छ, यो विषय गीतले प्रस्तुत गरेको छ । तथापि, यो गीत दसैंभन्दा बढी जीवन साथीसँगको बिछोडको विलौना अर्थात् युगल प्रेमीको प्रेमाभावको विम्बको रुपमा लिँदा न्याय हुने केही गीकारहरूको तर्क छ।

९ सुगमको ‘दसैं तिहार’

दसैंको समय बज्ने अर्को लोकप्रिय गीत हो सुगम पोखरेलको ‘दसैं तिहार’ । पछिल्लो समय सार्वजनिक भएका गीत मध्ये सुगमको यो गीत दर्शक–स्रोतामाझ निकै प्रिय छ।

‘वर्षमा दिनमा लै लै हर्षका दिन यी लै लै
दसैं तिहार चाड र बाड, खुसीले सारा भर्यो नि संसार’

गीतमा चाडपर्वको हर्ष र उमंगका साथ बाध्यताले विदेशमा बस्नु परेका युवाको वेदना पनि प्रस्तुत गरिएको छ । यसरी ‘फेस्टिभ’ रंगमा रवि श्रेष्ठले शब्द मार्फत् नेपालीमाझ दसैंतिहारको आभास दिलाएका छन् भने सुगम पोखरेलले गीतमा निकै लोभलाग्दो स्वर तथा संगीत भरेका छन् ।

अर्काको देशमा लै लै, सम्झना आको नि मैलाई
सयपत्री फुलेको आँगन, रातो अक्षता जमरा लगाई,
यता मेरो आँसुको धारा, उता होलान् रातै ती निधार…

यीसँगै अन्य धेरै मौलिक संस्कृति तथा सामाजिक र यथार्थ परिवेश बोकेका दसैं गीत बजारमा सुन्न पाइन्छ । दसैं विशेष गीतभन्दा बढी दसैं–तिहार जोडेर संयुक्त रुपमा धेरै गीत बन्ने परिपाटीका कारण यहाँ दसैंका लागि मात्र भनेर तयार गीत भने कम सुन्न पाइन्छ ।

यस मध्ये ‘फौजीलाई कुन हो दसैं कुन हो चाड तिहार…’, ‘घरदेश परदेश…’, ‘दसैं आयो’…(उत्साह), ‘दसैं र तिहार’, ‘यस पालि त यस्तै भयो आमा…’, ‘दाइ त मेरो लाहुरै जाने…’ जस्ता गीतहरू पनि दर्शक स्रोतामाझ दसैंमा निकै लोकप्रिय छन्।

 

Logo