माधुरी दीक्षितको जीवनमा ‘तेजाब’ कोशेढुंगा

माधुरी दीक्षितको जीवनमा ‘तेजाब’ कोशेढुंगा


अभिनेत्री माधुरी दीक्षितलाई नृत्यमा निपूर्ण मानिन्छ । उनले गर्ने नृत्य र त्यसमा दिने एक्सप्रेसनले दर्शक मोहित हुने गर्छन् । फिल्म ‘तेजाब’को गीत ‘एक दो तीन चार पाँच छे’मार्फत लोकप्रिय बनेकी माधुरी पछिल्लो समय ठूलो पर्दाको तुलनामा सानो पर्दामा सक्रिय छिन् । 

हाल डान्स दिवानेको तेस्रो सिजनमा निर्णायकको भूमिकामा रहेकी माधुरीको नृत्यको चर्चा राम्रो हुने गर्छ । उनको सुन्दरता र नृत्यको चर्चा पछिल्लो समय पनि उत्तिकै छ । उनले दिने एक्सप्रेसनले दर्शक मोहित हुने गरेका छन् । 

५४ वर्षीया माधुरीको सुन्दरताको चर्चा नगर्ने बलिउडमा सायदै छन् । यद्यपि सुरुवाती दिनमा माधुरीको नृत्य राम्रो थिएन । उनले नृत्य र एक्सप्रेसनलाई एकसाथ प्रयोग गर्न कोरियोग्राफर सरोज खानबाट सिकेकी हुन् । 

फिल्ममा आगमन

स्कुल र कलेज लाइफमा कहिले काहीँ स्टेजमा देखिएको माधुरीले कत्थक नृत्य गर्छु भन्ने सोचेकी थिइन् । माक्रोबायोलोजी अध्ययन गर्ने तयारीमा रहेकी माधुरीलाई कक्षा १२ मै ‘अबोध’ नामक फिल्मको अफर भयो । तर , उनको परिवार भने फिल्म खेलाउने मनसायमा थिएन । 

यसैबीच, एक पटक अफर गरिएको प्रोडक्सन हाउस राजश्रीमा जाने निर्णय परिवारले ग¥यो । उनलाई राजश्री प्रोडक्सनमा काम गर्ने गोविन्द मुनेशले फिल्म अफर गरेका थिए । गोविन्दको छोरी र माधुरीको दिदीसँगै पढ्ने भएकोले राजश्रीसम्म कुरा पुगेको थियो । ‘त्यो समयमा राजश्रीले कलेज गर्ल खोजेको रहेछ । त्यसैले मुनेशजीले मलाई अफर गर्नुभयो । उहाँले एक पटक भेट्न कर गरे पछि हामी सपरिवार भेट्न पुग्यौँ’, माधुरीले भनिन् ।

राजश्री प्रोडक्सनमा माधुरी र उनको परिवारलाई पारिवारिक माहोल लाग्यो । त्यसपछि फिल्ममा काम गर्ने सहमति जुट्यो । यद्यपि, ‘अबोध’ फिल्म सफल हुन् सकेन, न त माधुरीलाई चिनाउन नै सक्यो । 

सरोजसँग सामिप्यता 

पहिलो फिल्ममार्फत नोटिस नभएकी माधुरीलाई चिनाउने गीत ‘तेजाब’ कै थियो । त्यो फिल्म रिलिजपछि उनले एअरपोर्टमा पहिलोपटक अटोग्राफ दिएकी थिइन् । तर, सुरुवाती समयमा त्यो गीत उनलाई खासै लागेको थिएन ।

‘सबैलाई गीत मन परेको थियो । म भने त्यो नम्बर भएको गीत किन राखेको होला भन्ने सोच्थेँ’, माधुरीले भनिन् । उनले गीतकै लागि कोरियोग्राफर सरोज खानसँग एक महिना प्रशिक्षण लिइन् । नृत्यमा राम्रो भए पनि क्यामरा अनुसारको नृत्यको लागि उनले एक महिना सिकेकी थिइन् । ‘त्यही प्राक्टिसको क्रममा मैले क्यामेरासँग फ्रेन्डली हुन सिकेँ’, उनले भनिन् । त्यसपछि उनले लगातार फिल्म गरिन् । एकपछि अर्को फिल्ममार्फत उनले आफूलाई सफल बनाउँदै अगाडि बढाइन् । 

उनले सरोजमार्फत पहिलो पटक त्यही गीतमा एक सय एक रुपैयाँ पाएकी थिइन् । ’त्यो रकमभन्दा पनि उनले मलाई दिएको आशीर्वाद थियो, जसले मलाई आगामी यात्रामा मेहनत गर्न प्रेरित गर्‍यो’, उनले भनिन् । 

त्यसपछि माधुरीले धेरै गीतमा सरोजसँग काम गरिन् । ’मलाई उहाँले गीतमा क्यामेरासँग जोडिन सिकाउनु भयो र मैले त्यसैलाई अगाडि बढाएँ’, माधुरी भन्छिन् ।  न्युज कारखाना

Logo