वेब सिरिजको बढ्दो क्रेज, नेपाल किन भयो कमजोर ?

वेब सिरिजको बढ्दो क्रेज, नेपाल किन भयो कमजोर ?


कोरोना भाइरसको महामारी अघि ओटीटी (ओभर दी टप) प्लेटफर्म बिस्तारै उदाउँदै थिए । डिजिटल प्लेटफर्ममा सामग्री भए पनि दर्शकले त्यति चासो लिएका थिएनन् ।

तर कोरोना भाइरस संक्रमणपछि सिर्जित अवस्थाले ओटीटीमा रहेका सामग्रीले दर्शक पाए । घरमै बस्नुपर्ने भएपछि समय कटाउने साथी ओटीटीमा रहेका कन्टेनहरु बने ।

त्यसो त उक्त समयमा ओटीटीका विभिन्न सेवा प्रदायकहरूले आफ्नो सामग्रीको प्रचारप्रसार मात्र गरेनन् त्यसमा थप लगानी पनि गरे । हलका लागि बनाइएका धेरै फिल्म ओटीटी कै माध्यमबाट दर्शक समक्ष पुगे ।

डिज्नेको मुलान, डिसीको वन्डर वोमन १९८४, मार्भलको ब्ल्याक विडो, सलमान खानको राधेलगायत ठुला फिल्महरुसँगै कयौँ फिल्म डिजिटल प्लेटफर्ममा आए । त्यसपछि दर्शकको ध्यान त्यसतर्फ मोडियो । 

त्यसो त कोरोना भाइरसको महामारी अघि नै चर्चामा रहेका वेब सिरिजहरू मिर्जापुर, स्याक्रेड गेम्स, असुरलगायतले राम्रो दर्शक पाए । सिरिज प्रेमी दर्शकहरुले हेर्न सिफारिस गरेको भए पनि ‘वाच लिस्ट’मा रहेका यी सिरिजहरू अधिकांश दर्शकको प्रिय बन्न पुगे । 

फिचर फिल्ममा समयाभाव र सेन्सरका कारण खुम्चिने कथाहरूलाई सिरिजमा स्वतन्त्रतापूर्वक मेकरहरुले पस्किए । जसलाई दर्शकले मन पराए । कथा बुनिएको र तयार गरिएको सेटअप अनुसार पात्र चित्रित हुँदा दर्शकले उक्त सब फिल्म र सिरिजलाई महसुस गरे । 

यही कारण दर्शक माझ सिरिजको क्रेज बढ्न थाल्यो । त्यसो त मेकर्सले सिरिजलाई फिल्मकै शैलीमा दर्शक माझ ल्याए । प्रकाश झाको सिरिज होस वा निरज पाण्डेको सिरिज, फिल्म भन्दा कम छैनन् । 

नेटफ्क्सि, अमेजन प्राइम भिडियो, डिज्ने प्लस हटस्टार लगायत ओटीटीको आफ्नै फिल्म बनाउने सर्तहरू छन् । यद्यपि भारतीय मेकर्सले दर्शकलाई आफ्नो शैलीमा कमी महसुस गर्न दिएनन् । 

एक अन्तर्वार्तामा निर्देशक निरज पाण्डेले सिरिजमा स्वतन्त्र भएर काम गर्न पाउने बताए । ‘यहाँ स्टार चाहिँदैन तपाईँ आफ्नो पात्रलाई न्याय गर्न सक्ने अनुहार राखेर तयार गर्न सक्नु हुन्छ,’ निर्देशक पाण्डे भन्छन्, ‘मैले निर्देशन गरेको फिल्ममा कथाहरू माथि–माथि हुन्थे तर सिरिजमा हरेक पात्रको गहिराइमा पुगेर कथा भन्ने प्रयास गरेको छु ।’ 

उनले आफ्नो हिट सिरिज ‘स्पेसल ओप्स’ कै एक पात्र हिम्मत सिंहलाई लिएर ‘स्पेसल ओप्स १।५’ ल्याउँदै छन् । आउँदो नोभेम्बरमा रिलिज हुने सिरिजलाई हिम्मत सिंहको ‘स्पिन अफ’ भनिएको छ । उनले यो प्रयोग आफ्नो फिल्म ‘नाम शबाना’ मा गरिसकेका छन् । 

मेकर्सहरु सिरिजमा रिस्क कम देख्छन् । आफ्ना फिल्ममार्फत दर्शकको मन जितेकी जोया अख्तरले पनि ‘मेड इन हेवेन’ नामक सिरिज दर्शक समक्ष ल्याइन् । उनले चार विभिन्न जीवनको अन्तरकथासँगै हालको समाजको परिवेशलाई देखाउन सफल भइन् ।

सिरिजलाई हेर्ने अधिकांशले ‘हाइ सोसाइटीको कथा’ भनेका छन् । जोयाले यो कथामा आफूले फिल्म बनाउन नसक्ने बताएकी थिइन् । ‘मैले सिरिजमा देखाएको कथालाई फिल्ममा देखाउँदा रिस्क बढी हुन्थ्यो, तर सिरिजमा त्यसलाई स्वतन्त्र रूपमा देखाउन पाएँ,’ उनी थप्छिन्, ‘सिरिजले हाम्रो सोचलाई जस्ताको त्यस्तै पर्दामा देखाउने स्वतन्त्रता दिएको छ ।’  

सिरिजको आकर्षण बढ्न थालेपछि चिनिएका अनुहारहरु पनि आकर्षित भएका छन् । माधुरी दीक्षित, रविना टन्डन, सैफ अलि खान, अजय देवगन, बबी देओल, सुष्मिता सेन, सोनाक्षी सिन्हा, मनोज बाज्पायी, इमरान हासमी, अरशद बारसीलगायतका फिल्ममै व्यस्त अनुहारहरु पनि सिरिजमा आकर्षित छन् ।

यसले दर्शक बढाएको निर्देशक हंसल मेहता बताउँछन् । उनले निर्देशन गरेको सिरिज स्क्याम १९९२ दर्शकको प्रिय बनिसकेको छ । सन् १९९२ मा हर्सद मेहता घोटाला काण्डमा आधारित सिरिजले आइएमडीबीमा राम्रो रेटिङ पाएको छ । 

‘स्क्यामलाई दर्शकले एक अर्कामाझ हेर्न आग्रह गरे अर्थात् माउथ पब्लिसिटीले सिरिज हिट भयो । तर, स्टार भएका भए अलि छिटै दर्शक माझ पुग्थ्यो,’ निर्देशक मेहता भन्छन्, ‘पात्रलाई न्याय गर्ने स्टार वा सामान्य जो राख्दा पनि हुन्छ तर कन्टेन बलियो हुनुपर्छ किनकि स्टार भए छिटै दर्शक कहाँ पुग्छ, नयाँ अनुहार भए अलि ढिला ।’

भारतमा बनेका सिरिजहरूको कुरा गर्ने हो भने मिर्जापुर ३, असुर २, द फेमिली म्यान ३, वार्ड अफ ब्लड २, आश्रम ३ लगायतका सिरिज प्रतीक्षित छन् । 

नेपाल उपलब्धिबाट पछि 

भारतमा ओटीटीले फड्को मार्दा पनि नेपालमा भने खासै उपलब्धि छैन । अहिले सञ्चालनमा रहेका ओटीटीहरु दर्शक तान्ने असली सामग्री नहुनु नै दर्शकको आकर्षण कम भएको बुझ्न सकिन्छ । 

त्यसो त ओटीटीमा रहेका फिल्महरू हलमा चलिसकेका फिल्म नै छन् । यसैले गर्दा पनि दर्शक आकर्षित नभएका हुन सक्छन् । ‘सायद बजारले गर्दा होला ओटीटीले फिल्ममा राम्रो लगानी गर्न सकेन, त्यस कारण यहाँ हामी पछि भयौँ,’ निर्देशक प्रदीप भट्टराई भन्छन् । 

बलिउड र हलिउडका फिल्महरू ओटीटीमा आए पनि नेपालको नआउनुमा लगानीकै अभाव देख्छन् निर्देशक पुर्नेन्दु झा । ‘ओटीटीमा आएको फिल्मलाई पाइरेसीको ठुलो खतरा छ, त्यस कारण राम्रो रकम नपाउँदासम्म मेकरहरु रिलिज गर्न तयार नभएका हुनसक्छन’, निर्देशक झा भन्छन्, ‘फिचर फिल्म नसकेता पनि वेब फिल्म र सिरिजमा लगानी गर्ने ओटीटी भए र दर्शकको मन जित्ने कन्टेन भए दर्शकले साथ दिनेछन् ।’

कोरोना भाइरसको महामारी अघि प्रदर्शनको तयारीमा रहेका फिल्महरू म यस्तो गीत गाउँछु २ , प्रेम गीत ३ , चपली हाइट ३, लक्का जवान, नीरफुललगायतका फिल्मलाई ओटीटीले आफ्नो प्लेटफर्ममा ल्याउन नसक्नु नै नेपालमा डिजिटल प्लेटफर्मको कमजोरी हो भन्छन् यस क्षेत्रका अनुभवीहरु । न्युज कारखाना  

Logo