‘पिर’ले निम्त्याएको पीर र चर्चा

‘पिर’ले निम्त्याएको पीर र चर्चा


कलाकार प्रकाश सपुतको ‘पिर’को चर्चा अझैं सेलाएको छैन । तत्कालिन नेकपा माओवादीको दश वर्षे सशस्त्र द्वन्द्व र संसदीय राजनीतिमा माओवादी आएपछिको अवस्थालाई तुलना गर्दै सपुतले निकालेको पिरले राष्ट्रिय राजनीतिमा हलचल नै ल्यायो । पिरको शब्दमा आपत्ति नभएपनि माओवादी र उसका भ्रातृ संगठनले म्युजिक भिडियोमा कडै प्रतिक्रिया जनाए ।

यूट्युबबाट उनको म्युजिक भिडियो हटाउन माओवादी भ्रातृ संगठनका नेताहरुले निर्देशनात्मक भाषा मात्र प्रयोग गरेनन् नहटाए जे पनि हुन सक्ने चेतावनी समेत दिए । पिरले माओवादी नेताकार्यकर्तालाइ पिर दिएपनि अन्य दलका नेताहरुलाई भने भरपुर मनोरञ्जन प्रदान गरेको छ ।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा पिर बारे दिएको प्रतिक्रियाले सामाजिक सञ्जालमा राम्रै स्पेस पायो भने अन्य दलका नेताहरुको भनाइलाई पनि भिडियाकर्मीले महत्वका साथ प्रकाशन प्रसारण गरे । शासनसत्ता परिवर्तनको माग गर्दै १७ हजारको ज्यान लिने गरी भएको माओवादी सशस्त्र द्वन्द्वले सार्थकता त पायो तर ज्यानको आहुती दिन तयार भएका लडाकुले अहिले भोगी रहेको कष्टकर जीवनलाई सपुतले आफ्नो म्युजिक भिडियोमा नाटकीय रुपान्तरण गरेका छन् ।

जीवन गुजाराका लागि बिदेश जानु पर्ने बाध्यतामात्रै हैन आफ्नो पेट पाल्न महिला लडाकुले शरिर बेच्नु पर्ने परिस्थितिमा माओवादीको गम्भीर आपत्ति छ । कलाकार सपुतले म्युजिक भिडियोमा अभिनय गराएकी एक महिला पात्र वास्तविक लडाकु भएकाले पनि माओवादीको टाउको दुखाइ बढी भएको विश्लेषण छ ।

त्यसमाथि युद्धका कमाण्डरहरुले सत्तामा पुगेपछि लडाकु र कार्यकर्ताको पीरमर्का नसुनेको र सत्ताभोगी भएको भन्ने दृश्यले माओवादीलाई पिरोलेको छ । ‘पीर’ गीत हो कि कथा भन्नेहरुको जमात पनि ठूलै छ । कसैले यसलाई छोटो कथा पनि भनेका छन् । ५ मिनेट हाराहारीमा हुने गीतलाई १६ मिनेटको दृश्यांकन गर्नुले पीर छोटो फिल्म नै भएको भन्नेहरु पनि भेटिन्छन् । कसैले गन्धर्व’ को गीतलाई बिगारेर गाएको भन्ने आरोप लगाउन पछि परेका छैनन् । 

‘महिलालाई परम्परागत शैलीमा देखाउनु दुखद’
पिर गीतमा राखिएको विज्ञापनको पनि आलोचना भइरहेको छ । विवादित एक सिमेन्टको विज्ञापन भिडियोको सुरुवातबाट अन्तिमसम्म देखिनुले पनि यो गीतलाई विवादित बनायो । सो सिमेन्ट कम्पनीलाई गैरकानुनी रुपमा प्रकृतिको दोहन गरेको आरोप छ । प्रभु वैंकको विज्ञापनलाई पनि म्युजिक भिडियोका निर्देशकले बारम्बार देखाएका छन् । 

सशस्त्र द्वन्द्वमा सहभागी भएकाहरुमध्ये पनि महिलाहरु बढी पीडामा छन् भन्ने सन्देश यो गीतमा दिन खोजिएको छ । ‘आइमाई’ विदेश जानु हुँदैन र भन्ने प्रश्नले मात्र हैन पेट पाल्न यौनधन्दामा लागेको देखाउनुले महिलाको अपमान भएको बुझ्नेहरु पनि छन् । रानीबाट सन्तान नभए प्राप्तीका लागि दरबारमा राखिने महिलालाई आईमाई भन्ने चलन रहेको स्मरण गराउँदै अधिकारकर्मीहरुले म्युजिक भिडियोमा प्रयोग भएको सो शब्दप्रति आपत्ति जनाएका छन् । ‘जनयुद्धमा होमिएको र देशका लागि लडेको पार्टीका योद्धा, यौनकर्मी हुनुपरेको चित्रण गर्नु स्वभाविक भने होइन । 

‘गीतभन्दा भिडियो विवादमा’
प्रकाश सपुतले ‘पीर’ गीत मार्फत सशस्त्र द्वन्द्वका कारण प्राप्त अधिकार र उपलब्धिको खिल्ली उडाएकोविश्लेषण भएको छ । गन्धर्वहरुको लय समावेश गर्दै गीतलाई सरल र सहज बनाउने प्रयासमा प्रकाश सपुतको सिर्जना माओवादी नेताहरुको नजरमा परेको हो । पूर्व लडाकुको कारुणिक तस्बिर, माओवादी नेताको सत्ता लोलपुता र कार्यकर्ताको उपेक्षा, भिडियोमा पूर्वलडाकुको अभिनयलगायत विषयले महान जनयुद्धुको अपमान भएको बुझाई माओवादीको हो । यही कारण पीर सार्वजनिक भएको केही घण्टा भित्रै अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सामाजिक सञ्जालमा लेखिन्,‘जनयुद्धमा सहभागी महिलाले तपाईंको पनि स्वतन्त्रता र तपाईंले भोगेको जातीय विभेदबिरुद्ध लडेका थिएनन् ? यो गीत तुरुन्त यू ट्युबबाट हटाएर माफी मागियोस ।’ 

‘गीतबाट समाज बोलेको छ’
गीतमा युद्धका घाउलाई जिवन्त दिने प्रयास गरिएको छ । माओवादी शान्ति प्रक्रिया हुँदै संसदीय प्रणालीमा समाहित भएको पनि डेढ दशक पूरा भएको छ । तर यो बीचमा उनीहरुले भनेको झैं न त समाज परिवर्तन भएको छ न जनताले समान अधिकार पाएको महसुस गर्न पाएका छन् । भिडियोमा देखाईए जस्तै छातीमा गोली थाप्न तयार जनताको जीवतस्तर जस्ताको त्यस्तै छ भने छातीमा गोली थापेर बचाएका नेताहरुको सिंहदरबार प्रवेश शानदार भएको छ ।

१० वर्षे युद्धले मुलुकमा शासन सत्ता नै परिवर्तन त ग¥यो तर सो परिवर्तन नेता र उनीहरुका आसेपासेलाई मात्र आयो । जनता भने जहाँको त्यहीं । यो म्युजिक भिडियोले पनि यहीं सन्देश बोकेको छ जुन नेपाली समाजको वास्तविकता पनि हो । दश वर्षे सशस्त्र द्वन्द्वका नेतृत्वकर्ता मध्येका एक बाबुराम भट्टराईले पीरलाई यथार्थपरक गीतको संज्ञा दिदै गीतमा समाज बोलेको भन्दै प्रशंसा गरेका छन् । जनअपेक्षा माओवादी नेताबाट पूरा हुन नसकेको र नेताहरु सुविधाभोगी भएको कुरा गीतले प्रष्टयाएको भट्टराईको भनाइ छ । 

अर्को तर्फ गीतले बढ्दो बैदेशिक रोजगारीलाई पनि देखाएको छ । राम्रोसँग नबुझी बिदेशिनु र बिदेशिएका नेपाली महिलाले बन्धकको जीवन बिताइरहेको यथार्थलाई म्युजिक भिडियोले समेटेको छ । बिदेशी भूमिमा अलपत्र परेका, बन्धक बनाइएका नेपाली नागरिकको उद्धारमा सरकारको उदाशीनता यो गीतमा देखाइए जस्तै छ जुन यथार्थ हो । 

‘काल्पनिक कथाका वास्तविक कलाकार’
युद्धमा होमिएकी जनवादी कलाकारकेशु पुन मगर (केशरी) आफैं यो गीतको म्युजिक भिडियोमा देखिनुले पनि जीवन भरिदिएको छ। सपुतले बनाएको भिडियोलाई उनको अभिनयले न्याय गरेको भन्नेहरु पनि प्रसस्तै छन् । पूर्व लडाकु आफै संलग्न भएकाले पनि गीत र भिडियोले थप चर्चा पाएको छ । पूर्वलडाकुहरुप्रति माओवादी र नेताहरुको नजर नपुग्नुले आफु डान्सबारमा काम गर्ने गरेको उनका अन्तर्वार्ताले पूर्व लडाकुको दिनचर्या कति कष्टकर छ भन्ने देखाउँछ । 

‘अनावश्यक विज्ञापन’
पीर गीतमा राखिएको विज्ञापनको पनि आलोचना भइरहेको छ । विवादित एक सिमेन्टको विज्ञापन भिडियोको सुरुवातबाट अन्तिमसम्म देखिनुले पनि यो गीतलाई विवादित बनायो । सो सिमेन्ट कम्पनीलाई गैरकानुनी रुपमा प्रकृतिको दोहन गरेको आरोप छ । प्रभु वैंकको विज्ञापनलाई पनि म्युजिक भिडियोका निर्देशकले बारम्बार देखाएका छन् । 

के भन्छन् जानकारहरु ?
चर्चित गीतकार तथा साहित्यकार राजेन्द्र थापाले गीत संगीतमा विवाद आउनु सामान्य कुरा भएको तर्क गरे । उनले विभिन्न कालखण्डमा गीतहरु विवादमा आएको स्मरण गर्दे यो नौलो तथा भयानकनभएको बताए । उनले भने ‘यो सब सामाजिक सञ्जालमा आएको विवाद मात्र हो । विगतमा पनि यस्ता खालका विवादहरुआएका थिए । सो बेला सामाजिक सञ्जाल थिएनन् र तर्कबितर्क गर्ने ठाउँ थिएन तर अहिले जे मन लाग्यो त्यो बिचार व्यक्त गर्ने ठाउँ सामाजिक सञ्जाल बनेको छ ।

पिर छोटो फिलिम हो यसले कथाबस्तुमा जोड दिएको छ’उनले थपे, ‘सपुतले कुन कारणले यस्तो गीत निकाले त्यो तर्फ नजाउँ । हामीले रचनालाई सम्मान गर्नुपर्छ । के कारणले निकाले त्यो उस्को कुरा भयो । यसमा महिलाको विषयमा देखाइएको कुरामा केही कमजोरी छ । यस्ता कमजोरी सुधारेर जानुपर्छ अन्य कुराहरुमा आपत्ति जनाउँने बाटो देखिन ।’

चर्चित सञ्चारकर्मी एवं गीतसंगीतका अध्येता हेम सुवेदीले पनि आफुले रेडियोमा काम गरेका बखत विभिन्न समयमा यस्ता किसिममा विवादहरु आएको अनुभव सुनाए । पीर गीतले बोकेको सन्देश बलियो रहेको तर्क गर्दै सुवेदीले माओवादी नेताकार्यकर्ताले यसमा टिकाटिप्पणी गर्नुभन्दा आफु भित्र रहेको कमजोरी सुधार गर्दै देश र जनताका लागि लड्ने नारालाई साकार बनाउन लाग्नु पर्ने बताए । माओवादीका कारण देशमा परिवर्तन आएकोमा कुनै द्विमत नरहे पनि परिवर्तन ल्याउन जीवन आहुती दिन तयार पूर्वलडाकुको सम्मानका लागि तत्काल सोच्न आवश्यक रहेको उनको भनाइ छ । 

Logo