डेंगु आतंक : डेंगु नियन्त्रणका लागि सरकारले के गर्दै छ त ?

डेंगु आतंक : डेंगु नियन्त्रणका लागि सरकारले के गर्दै छ त ?


अहिले देशैभर डेंगुको संक्रमण बढीरहेको छ ।

गएका वर्षहरुमा पनि असोज र कात्तिक महिनामा डेंगुको संक्रमण धेरै बढेको पाइएको थिया भने यो वर्ष असोज महिना नलाग्दै डेंगुको संक्रमण फैलिरहेको छ । अझै दुई महिना डेंगुको जोखिम रहने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । डेंगु नियन्त्रणका लागि के छ त सरकारको प्रयास ? आजको अंकमा हामी यसै विषयमा चर्चा गर्नेछौँ ।

पछिल्लो समय देशैभर डेंगु संक्रमण गम्भिर समस्या बनेको छ । हालसम्म डेंगु ७२ जिल्लामा फैलिएको छ । एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं उपत्यकामा असारको दोस्रो सातादेखि देखिन थालेको डेंगु संक्रमण भदौको तेस्रो साता नपुग्दै लगभग देशभरि फैलिएको हो । देशभर हालसम्म तीन हजार तीन सयभन्दा बढीमा डेंगु संक्रमण पुष्टि भइसकेको छ ।

डेंगु संक्रमणबाट धनगढीमा एकजनाको मृत्यु समेत भएको छ । धनगढीमा रहेको निसर्ग अस्पतालमा धनगढी उपमहानगरपालिका– ३५ की वर्षीया गीता शाहीको उपचारका क्रममा मंगलबार मृत्यु भएको थियो । हाल ललितपुर, काठमाडौं र रुपन्देहीमा सबैभन्दा धेरै संक्रमण देखिएको महाशाखाले जनाएको छ । त्यसपछि संखुवासभा, अर्घाखाँची, तेह्रथुम, धादिङ, सिन्धुली, गुल्मीलगायतका जिल्लामा डेंगु संक्रमण फैलिएको छ ।

योसँगै उपत्यकाका अस्पतालहरूमा ज्वरोसहितका लक्षण भएका बिरामीको भिडभाड बढेको छ । संक्रामक रोगको उपचार हुने टेकु अस्पतालको इमर्जेन्सीमा बिहीबार डेढ सयभन्दा बढी बिरामी उपचारका लागि पुगेका थिए । हाल टेकु अस्पतालमा डेंगुका २४ जना बिरामी भर्ना भएकामा चारजनाको आइसियूमा उपचार भइरहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार ओपिडीमा सयभन्दा बढी र इमर्जेन्सीमा डेढदेखि दुई सय लक्षणसहितका बिरामी दैनिक पुग्ने गरेका छन् । इमर्जेन्सीमा पुग्ने अधिकांश बिरामीमा सामान्य परीक्षण र उपचार गरी फर्कने भएकाले भर्ना गर्नुपर्ने अवस्था नरहेको अस्पतालले जनाएको छ । 

वडैपिच्छे जनचेतना कक्षा
प्रकोप बढेपछि उपत्यकाका स्थानीय तह रोकथाममा लागेका छन् । डेंगु रोकथामबारे यसअघि पूर्वतयारीसमेत नगरेका स्थानीय तह जिल्ला स्वास्थ्य कार्यालयको आग्रहपछि मात्रै डेंगु नियन्त्रणमा लागेका हुन् । उपत्यकाका तीन जिल्लामा डेंगु संक्रमित हुनेको संख्या दुई हजार आठ सय ८४ पुगेको छ । संक्रमण दर फैलिएपछि काठमाडौं महानगरपालिकाले ३२ वटै वडाबाट डेंगु नियन्त्रणबारे जनचेतना तथा लामखुट्टेको वासस्थानमै पुगेर लार्भा र अन्डा नष्ट गर्न थालेको छ ।

त्यसका लागि महानगरले ९० जनाभन्दा बढी महिला स्वयंसेवक तथा स्वास्थ्यकर्मी खटाएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले गत सोमबार काठमाडौंका सबै स्थानीय तहलाई डेंगु नियन्त्रण र लामखुट्टेको लार्भा तथा अन्डा नष्ट गर्ने तालिम दिएको थियो । तालिमपछि बुधबारदेखि काठमाडौं महानगरपालिकासहित अन्य नगरपालिका डेंगु नियन्त्रणमा लागेका छन् । बिहीबार उपमेयर सुनिता डंगोलसहितको टोलीले बबरमहल क्षेत्रमा पुगेर लामखुट्टेको वासस्थान नष्ट गरेको थियो । 

हालसम्म काठमाडौंमा एक हजार ५० जनामा डेंगु भेटिएको स्वास्थ्य कार्यालय काठमाडौंको तथ्यांक छ । सबै निजी स्वास्थ्य संस्थाबाट तथ्यांक नआएकाले ठूलो संख्यामा डेंगु फैलिएको हुन सक्ने अनुमान गरिएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक वसन्त अधिकारीले बताए । स्थानीय तहलाई तालिम दिएपछि स्वास्थ्यकर्मीसहित उनीहरू डेंगु नियन्त्रणमा लागेको उनको भनाइ छ ।

कागेश्वरी मनोहरा, टोखा, दक्षिणकाली, बुढानीलकण्ठ, चन्द्रागिरिलगायतलाई स्वास्थ्य कार्यालयले तालिम दिएको छ । तालिमपछि स्वास्थ्यकर्मीसहितको टोली घरघरमा पुगेर डेंगुबारे जनचेतना दिनुका साथै रोग नियन्त्रणमा खटिएको काठमाडौं महानगरपालिका, स्वास्थ्य विभागले जनाएको छ । डेंगु संक्रमण बढ्दै गएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहकार्यमा उपत्यकामा ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान थालिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विशेषगरी ललितपुर र काठमाडौंमा संक्रमण अत्यधिक बढेकाले लामखुट्टे पाइने स्थान खोजेर नष्ट गर्न स्थानीय तहमा अभियान सञ्चालन गरिएको छ । डेंगु संक्रमण फैलिने जोखिममा रहेका एक सय ३९ स्थानीय तह र सातवटै प्रदेश तहमा बजेट पठाइएको इडिसिडीले जनाएको छ । महाशाखाका अनुसार स्थानीय तहमा दुई करोड ३५ लाख रुपैयाँ र प्रदेश र जिल्लास्तरमा ७५ लाख रुपैयाँ पठाइएको हो । तर, संक्रमण नियन्त्रणका लागि यो वार्षिक बजेट रकम पर्याप्त नभएकाले लामखुट्टे न्यूनीकरणका लागि थप कार्यक्रम सञ्चालन गर्न प्रदेशस्तरमा निर्देशन दिइएको छ । 

उपत्यकाभित्र ललितपुरमा सबैभन्दा धेरै डेंगु फैलिएको छ । ९ असारदेखि नै ललितपुरमा डेंगु फैलन सुरु गरे पनि त्यसको रोकथामबारे भने जिल्लाका स्थानीय तहले बेलैमा चासो नदिँदा संक्रमण भयावह बनेको छ । बुधबार साँझसम्मको तथ्यांकअनुसार एक हजार चार सय ३४ जना संक्रमित भेटिइसकेका छन् । महानगरको वडा नम्बर ५, ११, १५ र १६ मा डेंगु फैलिएको छ ।

गोदावरी नगरपालिकामा १३ र महालक्ष्मी नगरपालिकामा ५७ जना डेंगु संक्रमित भेटिएका छन् । डेंगुको प्रकोप फैलिएपछि बिहीबार स्वास्थ्य कार्यालय ललितपुरले ६ वटै स्थानीय तहलाई बोलाएर डेंगु नियन्त्रणबारे छलफल गरेको छ । छलफलका क्रममा नगरपालिका, निजी तथा सरकारी अस्पताल र नागरिक जिम्मेवार भए मात्रै डेंगु प्रकोप रोक्न सकिने स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ  । नगरपालिकाहरूले जनचेतनाका कार्यक्रमलाई नै जोड दिने, पानी जम्न नदिने, लामखुट्टेको वासस्थान पत्ता लगाएर अन्डा तथा लार्भा नष्ट गर्नेबारे छलफल भएको छ ।

ललितपुर महानगरपालिकाले डेंगु नियन्त्रणका लागि स्वास्थ्य कार्यालयलाई आवश्यक बजेट उपलब्ध गराउने र २९ वटै वडाबाट जनचेतनाका कार्यक्रम सुरु गरिने बताएको छ ।  माइकिङ गर्ने, वडावडाबाट जनचेतनाका कक्षा सञ्चालन गर्ने, पानी जम्ने नदिने, लामखुट्टेको वासस्थान पत्ता लगाएर लार्भा मार्नेलगायत कार्यक्रम शुक्रबारदेखि सुरु गरिएको छ । भक्तपुरमा हालसम्म झन्डै चार सयजनामा डेंगु फैलिएको छ ।

भक्तपुर नगरपालिकाले गत आइतबारदेखि नै जनचेतनाका कार्यक्रम र लामखुट्टे धेरै भएको क्षेत्रमा पुगेर चुन तथा अन्य कीटनाशक औषधि छर्किएर नष्ट गर्ने अभियान थालेको छ । यहाँका प्रत्येक वडामा एक–एकजना नर्सको व्यवस्था छ । नर्स, स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी, महिला स्यवंसेवकसहित टोलीले प्रत्येक वडामा स्थानीयलाई पालैपालो जनचेतना दिएको भक्तपुर नगरपालिकाले जनाएको छ ।

स्थानीयलाई जनचेतना कक्षा दिने, पानी जमेको ठाउँमा लामखुट्टेले पारेका लार्भा मार्नेलगायत कार्य भइरहेको छ । त्यसका लागि अहिले स्वास्थ्य कार्यालयकै टोली परिचालित भइरहेको छ । लामखुट्टे नष्ट गर्न स्वास्थ्य कार्यालय, नगरपालिका, ख्वपः अस्पताल, भक्तपुर अस्पताललगायतको सहभागितामा १५ जनाको टोली डेंगु नियन्त्रणमा खटिएको छ । यसबाहेक प्रत्येक वडा–वडाबाट लामखुट्टे नष्ट गर्ने र यसको टोकाइबाट बच्ने उपायबारे जनचेतना कक्षा सुरु भइरहेको छ ।

Logo