डेंगु संक्रमणबाट बच्न के गर्ने ? यस्ताे छ डा. बास्तोलाकाे सुझाव

डेंगु संक्रमणबाट बच्न के गर्ने ? यस्ताे छ डा. बास्तोलाकाे सुझाव


पछिल्लो समय देशैभर डेंगु संक्रमण तीब्र्ररुपमा फैलिरहेको छ । हालसम्म मनाङ र हुम्ला बाहेक बाँकी ७५ जिल्लामा डेंगु संक्रमण देखिएको छ । एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं उपत्यकामा असारको दोस्रो सातादेखि देखिन थालेको डेंगु संक्रमण भदौको तेस्रो साता नपुग्दै लगभग देशभरी फैलिएको हो ।

गएका वर्षमा पनि असोज र कात्तिक महिनामा डेंगुको संक्रमण धेरै बढेको पाइएको थियो भने यो वर्ष असोज महिना नलाग्दै डेंगु संक्रमणले भयावह रुप लिएको हो । अझै दुई महिना डेंगुको जोखिम रहने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । विश्वका उष्ण र उपोष्ण प्रदेशीय  क्षेत्रमा देखा पर्ने डेंगु लामखुट्टेबाट सर्ने सरुवा रोग हो । जुन हरेक वर्ष विश्वभर नै लाखौंको संख्यामा देखा पर्ने गर्छ ।

मूख्यतयाः काठमाडौं उपत्यकाको ललितपुर, काठमाडौं र भक्तपुरमा डेंगुले आतंक नै मच्चाएको छ । नेपालमा गत पुषको दोस्रो साता (जनवरी) यता मात्रै ५ हजार भन्दा बढीमा डेंगु पुष्टि भइसकेको छ । जसमध्ये काठमाडौंंमा ८८८, ललितपुरमा १,८३२ र भक्तपुरमा ९९ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ७ जनाको डेंगुबाटै मृत्यु भएको छ ।

केन्द्रविन्दु संवाददाता सुश्मिता वानियाँले सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलासँग डेंगु रोगबारे गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौं !

डेंगु भनेको के हो ?
-एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक हो । डेंगु ज्वरो तीन प्रकारको हुन्छ । सामान्य डेंगु ज्वरो, हेमोरेजिक र सक सिन्ड्रोम । हेमोरेजिक र सक सिन्ड्रोम ज्वरो खतरनाक हुन्छ । सामान्य डेंगु ज्वरो नियन्त्रणमा नआउँदा यो हेमोरेजिक वा सक सिन्ड्रोममा परिवर्तित हुँदा नियन्त्रण गर्न गाह्रो हुन्छ । एक प्रकारको विषाणुबाट डेङ्गु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेंगु घातक हुन्छ । शरीरमा प्लेटलेटको सङ्ख्या कम भएमा रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकोले शरीरमा डाबर आउने, बिरामी सिकिस्त हुने, रक्तचाप निकै कम हुने हुन्छ   ।

डेंगु कसरी सर्छ ?
-डेङ्गु एडिस नामक लामखुट्टेको टोकाइबाट सर्छ, जसले जिका र चिकनगुनिया जस्ता भाइरस पनि बोक्छ । लामखुट्टेले डेङ्गु ज्वरो भएको व्यक्तिलाई टोक्छ र त्यसपछि अरू कसैलाई टोक्छ, जसले गर्दा उनीहरू संक्रमित हुन्छन् ।

डेंगु कुन उमेर समुहका व्यक्तिहरुलाई हुन्छ ? 
-डेंगु प्राय सबै उमेर समुहका व्यक्तिहरुलाई  हुन्छ । 

डेंगुले गर्भवती महिलाहरुमा कस्तो किसिमको असर पार्छ ? 
-यदि तपाईंमा डेङ्गकोु ज्वरो छ भने, यसले गर्भपतन, कम वजन वा समय भन्दा पहिले बच्चा जन्माउने जस्ता समस्याहरु निमत्याउछ । तसर्थ, गर्भावस्थाको समयमा आफू र आफ्नो गर्भमा रहेको बच्चालाई डेङ्गुबाट सुरक्षित राख्नका लागि विशेष सावधानी अपनाउन एकदमै जरुरी छ ।

डेंगु सक्रमण भएको कसरी थाहा पाउने ? 
-सुरुवाती चरणमा ज्वरो आउने, आँखा रातो हुने हुन्छ । त्यस्तै टाउको,पेट,जोर्नी,मांसपेशी दुख्न र आलस्य हुनेजस्ता हुन्छ । 

यसका लक्षणहरु के-के हुन् ? 
-सबैभन्दा पहिला टाउको दुख्ने, ज्वरो आउने, रिँगटा लाग्ने, हात दुख्ने, आँखाको गेडी दुख्ने, शरीरको मासु पुरै दुख्ने हुन्छ । त्यस्तै जोर्नीहरु दुख्ने, बान्ता हुने, आलस्यता हुने जस्ता लक्षणहरु पनि देखा पर्छन । स्वास प्रस्वासमा समस्या आउँछ । रगतमा पानीको मात्रा कम हुने, रक्तचाप कम हुने पनि हुन्छ । 

डेंगु भइहालेमा कसरी बच्न सकिन्छ  (उपचार पद्दती) ? 
-ठ्याक्कै यहि उपचार पद्दती भन्ने हुँदैन । तर हामी सबैभन्दा पहिला लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । घर वरपरका पानी जम्ने खाल्डाखुल्डीहरु पुर्ने र झाडीहरु हटाउने । लामखुट्टेको टोकाइबाट बच्न झूलको प्रयोग गर्ने वा लामखुट्टे धुप वा क्रिम प्रयोग गर्नु पर्छ । शरीर पुरै ढाक्ने कपडा लगाउनुपर्छ । सरसफाइमा ध्यान दिनुपर्छ ।

डेंगुले कस्ता किसिमका समस्या निम्त्याउँछ ? 
-फोक्सोमा पानी जम्ने,पेटमा पानी जम्ने,रक्तश्राव हुने, मृगौला ड्यामेज हुन्छ । त्यस्तै एक पटक डेङ्गु भैसकेको मानिसमा अर्को पटक पनि हँदा धेरै जोखिम हुन्छ  । 

डेंगु संक्रमण भएको कति समयसम्म रहन्छ ? 
-डेंगु लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । जस्ले गर्दा मानिसहरु सिकिस्त हुने गर्छन् । डेंगु ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । 

नेपालमा डेंगु संक्रमणको अवस्था कस्तो रहेको छ ? 
-अहिलेको अवस्थालाई हेर्दा संवेदनशील नै रहनुपर्ने रहेको  छ । यस्तै हुने हो भने महामारी नै घोषणा  गर्नुपर्ने हुन्छ । 

भएको संक्रमण दरलाई घटाउन/नियन्त्रण के गर्ने ? 
-ठ्याक्कै  औषधी उपचार नभएकाले जति सक्दो सरसफाईमा ध्यान दिने । ज्वरो आएमा पारासिटामोल खाने तर भुलेर पनि कुनैपनि किसिमको एन्टिबायोटिकको प्रयोग नर्गने । आफुलाई कुनै पनि खालको असहज्ता महसुस भए चिकित्सको परामर्श लिने । 
 

Logo