सुधारगृहमा रहेका किशोरको मृत्यु, उपचार अभावमा मृत्यु भएको आफन्तको दाबी

सुधारगृहमा रहेका किशोरको मृत्यु, उपचार अभावमा मृत्यु भएको आफन्तको दाबी


जबर्जस्ती करणी अभियोगमा डेढ वर्षदेखि वीरगन्जस्थित बाल सुधारगृहमा रहेका १७ वर्षीय किशोरको बुधबार मृत्यु भएको छ । 

रौतहट राजपुर नगरपालिका–४ का जितेन्द्र साहको नारायणी अस्पताल वीरगन्जमा मृत्यु भएको हो । अभिभावकले भने उपचार अभावमा मृत्यु भएको दाबी गरेका छन् । तिघ्रामा घाउ भएपछि उनलाई अन्तिम अवस्थामा भदौ २७ गते सुधारगृह प्रशासनले अस्पताल लगेको परिवारको भनाइ छ । उपचारमा संलग्न चिकित्सक डा.खालिफ हसनले भेन्टिलेटरमा राखेर उपचार गराउने क्रममा शरीरभरि घाउको पीपले संक्रमण फैलिएको बताए । अन्तिम अवस्थामा पुगेपछि मात्र उनलाई अस्पताल ल्याइएको डा.हसनले बताए ।

मृतकका हजुरबुबा बारा सिम्रौनगढ–८ कचोर्वाका रामनाथ साहले नातिलाई सुधारगृहमा गएदेखि नै प्लास्टिकको पाइपले कुटेपछि घाउ भएको आरोप लगाए । नातिको औषधि किनेको २० हजार रुपैयाँ पनि सुधारगृहले तिर्न लगाएको साहको भनाइ छ । आमा शर्मिलाले छोरालाई मृत्युदण्ड दिएसरह भएकाले आफूले न्याय पाउनुपर्ने बताइन् ।

गाउँकै एक नाबालिकालाई ०७७ जेठ ३० मा करणी गरेको कसुरमा जितेन्द्रलाई रौतहट जिल्ला अदालतले ०७८ वैशाख १४ मा दोषी ठहर गर्दै ५ वर्ष ३ महिना कैद सजाय र ५ हजार जरिवाना गरेको थियो । त्यसयता उनी सुधारगृहमा कैदी जीवन बिताइरहेका थिए । उच्च अदालत वीरगन्ज अस्थायी इजलासले पनि जिल्ला अदालतकै फैसलालाई सदर गरेको थियो । ६० कैदी क्षमताको गृहमा १ सय १८ बालकैदी छन् । उपचार खर्चबापत सरकारले वार्षिक २ लाख बजेट मात्र उपलब्ध गराउँदा समस्या हुने गरेको काफ्लेले बताए ।

Logo