महिला स्वास्थ्य सम्मेलनः मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्नेमा जोड

महिला स्वास्थ्य सम्मेलनः मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्नेमा जोड


पहिलो महिला स्वास्थ्य सम्मेलन शुरु भएको छ । बिहीवारदेखि काठमाडौंमा पहिलो महिला स्वास्थ्य सम्मेलन शुरु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको अग्रसरतामा आजसम्म सम्मेलन सञ्चालन हुने बताइएको छ । 

सम्मेलनमा महिला स्वास्थ्यको बहुआयामिक विषयवस्तुमा छलफल गर्नुका साथै यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, नसर्ने रोग, बालबालिका, किशोर किशोरी र ज्येष्ठ नागरिकको स्वास्थ्य, मानवीय सहायता आवश्यक पर्ने अवस्थामा महिला स्वास्थ्य र पोषणको विषयमा छलफल र प्रस्तुती भइरहेको छ । 

सम्मेलनमा करिब ३ सय प्रतिनिधिहरूको सहभागिता रहेको छ । 

सञ्चारकर्मीसँगको कुराकानीमा परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालले अहिले पनि मातृ मृत्युदर ठूलो चिन्ताको विषय भएको बताए । उनले किशोरी अवस्थामा नै गर्भवती हुने, बच्चा जन्माउने चुनौतिको विषय र महिलाहरुमा हुने स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, मानसिक स्वास्थ्यको समस्यालाई यथेष्ठ सम्बोधन हुन नसकेको बताए । 

विभाग प्रमुख लालले विपद्को समयमा महिलालाई यौन तथा प्रजनन स्म्बन्धी सेवा र अधिकार सुनिश्चित गर्ने कुरामा जोड दिनुपर्ने बताए । उनले महिलाहरुमा हुने कुपोषणको समस्या भयावह रहेकाले यी विषयहरुलाई सम्बोधन गर्न आवश्यक रहेको बताए । स्वास्थ्य सुरक्षासम्बन्धी ऐनहरु भएपनि त्यसको कार्यान्वयन फितलो रहेको उनले बताए ।  

त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वसचिव डा. सुधा शर्माले स्वास्थ्य सेवा बिस्तार भएपनि सेवाको गुणस्तर जनसमुदायमुखी नभएको बताइन् । उनले देशमा स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नुका साथै सेवाको पहुँचमा पनि बिस्तार गर्नुपर्नेमा जोड दिइन् । प्रविधिको अनावश्यक प्रयोग भइरहेको भन्दै सरकारका नीतिहरुमा र प्रजनन स्वास्थ्यको नीतिमा पनि सुधार गर्दै लैजानुपर्ने उनले बताइन् ।  

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रले महिलाहरुले गुणस्तरीय सेवा कसरी महिललाई सबैभन्दा बढी दिने भन्नेबारेमा छलफल हुनुपर्ने बताइन् । उनले गुणस्तरीय स्वास्थ्यमा महिलाको पहुँच बढाउनुका साथै समतामुलक पहुँच बिस्तार गर्नेकुरा नै महत्वपूर्ण रहेको बताइन् । 

उनले प्रजनन स्वास्थ्यका साथै किशोरकिशोरीको स्वास्थ्यको समस्या, नसर्ने रोगको बढ्दो संक्रमण चुनौतिको विषय भएको बताइन् । महिलाको स्तन र पाठेघरको क्यान्सरको विषयमा आवश्यक ध्यान दिन जरुरी रहेको उनले बताइन् ।   

सम्मेलनमा महिला स्वास्थ्यको क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम गरिरहेका सरकारी, गैह्र सरकारी संस्था, प्रतिष्ठान, शिक्षण संस्था लगायतका प्रतिनिधिहरू एवं विज्ञ व्यक्तित्वहरूको सहभागिता रहेको छ । महिला स्वास्थ्यका विभिन्न आयामहरूमा हासिल सफलता, चुनौति एवं अवसर, अन्वेषण विकसित घटनाक्रम र तथ्यांकरूको लेखाजोखा गर्नु सम्मेलनको उद्देश्य रहेको बताइएको छ । 

सम्मेलन शुक्रवारसम्म चल्नेछ ।

Logo