दुई वर्षअघि शिलान्यास भएको अस्पतालको भवन निर्माण अझै भएन, डाक्टरलाई सास्ती

दुई वर्षअघि शिलान्यास भएको अस्पतालको भवन निर्माण अझै भएन, डाक्टरलाई सास्ती


दुई वर्ष अघि शिलान्यास भएको रौतहटको कटहरियास्थित प्राथमिक स्वास्थ्य केन्द्रको  १५ बेडको भवन निर्माणको काम अझै सुरु भएको छैन।

२०७७ पुस १ गरेका दिन कटहरियाका  तत्कालीन नगर प्रमुख सियाराम कुश्वाहाले  बिधिवत रुपमा शिलान्यास गरेका थिए। शिलान्यास लगत्तै १५ बेडको अस्पताल भावना निर्माण हुने सहमति अनुसार पुरानो जीर्ण रहेको डाक्टर तथा स्टाफ बस्ने भवन भत्काइएको थियो । सङ्घीय सरकारको १९  करोड ७५ लाख लगानीमा भवन निर्माणको लागि कटहरिया नगरपालिकाले आव्हान गरेको टेन्डर घटाघट प्रक्रिया मार्फत महालक्ष्मी धनञ्जय, चौधरी जेविले ११ करोडमा सकार गरेको थियो । कटहरिया स्थित प्राथमिक स्वास्थ्य केन्द्रको हाता भित्र १५ सैंयाको आधारभूत  स्वास्थ्य केन्द्रको भवन निर्माण अवधि  २ वर्ष रहेको र उक्त समय भित्रै निर्माण पुरा गर्ने चौधरी निर्माण सेवाका निर्देशक उपेन्द्र प्रसाद चौधरीले प्रतिबद्धता जनाएका थिए।

तर भवन निर्माणको अवधि  सकिँदा समेत  ठेकदार चौधरीले भवनको जग बाहेक अन्य काम अगाडि बढाएका छैनन्। भवन निर्माण हुने भनिएको स्थानमा ठुलो खाडल बनेको छ। पुरानो क्वाटर भवन भत्काएको कारण अस्पतालका डाक्टरलगायत कर्मचारीलाई बस्न कठिनाइ छ। 

प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर अनिल कुमार साहले अस्पताल भवनको अभावमा बिरामीको उपचारमा समस्या हुनुका साथै कर्मचारीलाई बसोबासमा समस्या भएको बताए।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधि मार्फत देशको ७५३ वटै स्थानीय तहमा सुविधा सम्पन्न १५ बेडको आधारभूत अस्पताल भवनको शिलान्यास गरेका थिए ।  पहिलो चरणमा केही रकम निकासा भए पनि  मन्त्रालयको प्राविधिक त्रुटिको कारण भवन निर्माणको काम अगाडि बढ्न नसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले जानकारी दिए । 

Logo