पोखरा शिक्षण अस्पतालले आकस्मिक सेवा सुचारू गर्ने

पोखरा शिक्षण अस्पतालले आकस्मिक सेवा सुचारू गर्ने


पोखरा विश्वविद्यालयको  शिक्षण अस्पतालले आगामी वैशाखदेखि आकस्मिक सेवा सुरु गर्ने तयारी गरिएको छ ।

वि सं २०७९ भदौ २२ गतेदेखि ओपिडी सञ्चालन गर्दै आएकोमा अस्पताललाई पूर्ण रूपमा सञ्चालन गर्ने तयारी गर्दै आकस्मिक सेवा सञ्चालन गर्न लागिएको हो । 

पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायका डीन डा. अमर नागिलाले शिक्षण अस्पताल सञ्चालनको सम्पूर्ण प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिएका छन् । गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिवको संयोजकत्वमा गठित वातावरणीय अध्ययन प्रतिवेदन जाँचबुझसम्बन्धी प्राविधिक समितिलाई विश्वविद्यालयले शिक्षण अस्पतालको वातावरणीय परीक्षण प्रतिवेदन प्रस्तुत गरिसकेको र मन्त्रालयले त्यसको चाँडै टुङ्गो लगाउने उनले बताए ।
    
पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक डा.दीपेन्द्रकुमार यादवले अस्पताल सञ्चालनका लागि जनशक्ति व्यवस्थापन भइसकेको र आवश्यक फर्निचर तथा उपकरणको यथेष्ट व्यवस्थापन गरी वैशाखको पहिलो हप्तादेखि आकस्मिक सेवा सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिए ।विश्वविद्यालयका इन्जिनियर सुदीप अधिकारीले अस्पतालको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेको बताए । 

Logo