करदातालाई कर तिर्न सरकारको ताकेता, समयमै बुझाएमा जरिवाना नलाग्ने

करदातालाई कर तिर्न सरकारको ताकेता, समयमै बुझाएमा जरिवाना नलाग्ने


काठमाडौं ।
सरकारले करदातालाई कर तिर्न ताकेता सुरु गरेको छ । लकडाउनका कारण सरकारले कर तिर्ने म्याद २ महिना थपेको थियो । सो समय सकिनै लाग्दा सरकारले यसका लागि ताकेता सुरु गरेको हो ।

मंगलबार आन्तरिक राजस्व विभागले सूचना जारी गर्दै कर र कर विवरण बुझाउन सबै करदातालाई आह्वान गरेको छ । विभागको सूचनामा ’कोभिड १९ को संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण करदाताहरुले आवधिक रूपमा बझाउनु पर्ने कर विवरण, आय विवरण तथा ती विवरण अनुसार भुक्तानी गर्नुपर्ने कर दाखिला गर्ने म्याद नेपाल सरकारको निर्णयानुसार थप गरिएको छ’ भन्ने उल्लेख गरिएको छ । विभागले थप गरिएको म्यादभित्रै विवरण र कर बुझाएमा शुल्क, थप दस्तुर, ब्याज तथा जरिवाना नलाग्ने जनाएको छ । व्यवसायीले जरिवानाबाट बच्न जेठ २५ गतेभित्रै कर तथा विवरण पेश गरिसक्नु पर्ने भनेको छ ।

मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम २०७६ साल फागुन र चैत महिनाको मासिक कर विवरण, माघ र फागुन महिनाको र मंसिर (फागुनको चौमासिक कर विवरण) बुझाउनु पनि विभागले जनाएको छ । त्यसैगरी, अन्तःशुल्क ऐन २०५८ बमोजिम गत फागुन र चैत महिनाको बुझाउनु पर्ने विवरण र ती विवरण बमोजिमको अन्तःशुल्क पनि जेठ २५ गतेसम्म बुझाई सक्नु पर्ने विभागले जनाएको छ । त्यस्तै, आर्थिक ऐन, २०७३ को दफा ८ को उपदफा २ बमोजिम फागुन र चैत्र महिनाको शिक्षा सेवा शुल्क, दफा १४ को उपदफा २ बमोजिमको टेलिफोन स्वामित्व शुल्क तथा दफा १५ को उपदफा ३ बमोजिमको दूरसञ्चार सेवा दस्तुर दाखिला गर्नुपर्ने विभागको सूचनामा भनिएको छ ।

त्यसैगरी, आयकर ऐन, २०५८ बमोजिम गत चैत्र महिनामा बुझाउनु पर्ने आर्थिक वर्ष २०७६/ ७७ को संशोधित अनुमानित कर विवरण र दोस्रो किस्ता बापतको रकम पनि जेठ २५ गतेसम्म बुझाउन करदाताहरुलाई आग्रह गरेको छ । त्यसैगरी, आयकर ऐन, २०५८ बमोजिम गत फागुन र चैत महिनाको बुझाउन पर्ने अग्रिम कट्टी तथा अग्रिम कर असुलीको विवरण बुझाउने म्याद तथा ती विवरण बमोजिमको कर पनि जेष्ठ २५ गतेसम्म बुझाउन पनि विभागले भनेको छ ।

Logo