“हलिउडमा जाने कुरा निश्चित भएको छैन” – स्वस्तिमा खड्का

“हलिउडमा जाने कुरा निश्चित भएको छैन” – स्वस्तिमा खड्का


यतिबेला विश्व समुदाय नै कोभिड-१९ (कोरोना भाईरस) को चपेटामा छ । जसबाट नेपाल पनि अछुतो छैन । यो समाचार तयार पार्दासम्म नेपालमा २१९ जनामा कोरोना भाईरसको संक्रमण भेटिएको छ । जसकारण जेठ ५ सम्मका लागि तोकिएको लकडाउन अझै बढ्ने सम्भावना प्रवल छ ।

गत चैत्र ११ गतेबाट जारी गरिएको लकडाउनका कारण लगभग २ महिनादेखि सबै मानिसहरु सेल्फ क्वारेन्टाईनमा छन् । जसमा कलाकारहरू पनि पर्दछन् । अरू समयमा चलचित्रको छायांकन, प्रोमोशन, प्रदर्शन र देशविदेशको घुमघाममा व्यस्त रहने कलाकारहरु यो लकडाउनको समय कसरी र के गरेर विताउदै होलान् भन्ने आम चासोको विषय हो । तपाईको यहि जिज्ञासा हटाउने उद्धेश्यसहित हामीले तपाईका लागि कलाकारहरुको ‘लकडाउन डायरी’ लिएर आएका छौँ । आज हामी तपाईंमाझ अभिनेत्री स्वस्तिमा खड्कासँग गरिएको टेलिफोन अन्तर्वार्ता प्रस्तुत गर्दैछौं ।

१. अरूबेला धेरैजसो चलचित्रमै व्यस्त हुने तपाईं लकडाउनमा दिनहरू कसरी विताउदै हुनुहुन्छ ? 

– लकडाउनमा मेरो त्यस्तो स्पेशल त केहि पनि छैन । घरभित्रै हुने भएकोले केहि नयाँ नौलो पनि हुँदैन । त्यसैले अरू मानिसहरु आफ्नो घरमा जसरी समय विताउँछन् मेरो पनि त्यसरी नै वितिरहेको छ । बढीजसो समय चाहिँ मुभी हेरेर बिताईरहेकी छु ।

२. हरेक कुराको फाईदा र बेफाईदा दुवै हुने गर्छ, लकडाउनको धेरै बेफाईदाहरु भएपनि फाइदा के छन् जस्तो लाग्छ ? 

– मलाई ठ्याक्कै यहि फाईदा छ जस्तो त केहि पनि लाग्दैन । लकडाउन लागु भएको केहि हप्तासम्म चाहिँ आफ्नो लागि समय दिन पाएको र परिवारसँग कुनै कामको प्रेशरबिना घरमा बस्न पाएको कारण फाईदा भएको जस्तो लागेको थियो । अहिले त लगभग २ महिना भइसक्यो लकडाउन भएको र अझै कहिलेसम्म लम्बिने हो थाहा छैन । त्यसैले सबै काम बन्द भएकोले बेफाइदा मात्र भइरहेको जस्तो लाग्छ ।

३. लकडाउनमा सबैभन्दा धेरै के ‘मिस’ गर्नुभयो ? 

– मेरो लागि मेरो काम महत्वपूर्ण हो । त्यसैले काम नै ‘मिस’ गरेँ । अरु कुराहरुको याद नै नआएको भन्ने हुँदैन तर पनि तिनीहरु भनेको साधारण कुराहरु भए । त्यसैले यो लकडाउनमा सबैभन्दा धेरै मैले मेरो कामलाई मिस गरेँ ।

४. लकडाउनमा भागदौड नहुँदा धेरै मानिसहरु मोटोपनको शिकार भइरहेका छन् । त्यसमाथि पनि सेलिब्रेटी भइसकेपछि आफुलाई फिट राख्न निकै जरुरी हुन्छ । त्यस्तै आफ्नो छालाको पनि केयर गर्नुपर्ने हुन्छ । कसरी ‘मेनटेन’ गरिरहनुभएको छ ? 

 – मैले त्यस्तो त खासै केहि गरेकी छैन । किनकी घरमै बस्दा ‘हेल्दी’ खाना खाइन्छ । खानाको समय पनि ठिक टाईममा हुन्छ । बाहिरका ‘जंकफूड’, ‘फास्टफूड’ खाईदैन । त्यसैले ‘फिट’ हुन त्यस्तो केहि गर्नुपरेको छैन । अब छालाको कुरा गर्ने हो भने पनि घरबाहिर अथवा ‘शुटिंग’मा हुँदा धेरै ‘मेकअप’ गर्नुपर्ने हुन्छ । जसबाट धेरै ‘केमिकल’हरु ‘फेस’मा गइरहेको हुन्छ तर घरमै बस्दा ‘मेकअप’ गरिदैन । त्यसैले कहिलेकाहिँ ‘होम रेमेडी स्किनकेयर’ गरेपनि नियमित भने केहि गरेकी छैन ।

५ लकडाउन सकिएपछि सुरुमा के गर्नुहुन्छ र क-कसलाई भेट्नुहुन्छ ?   

– मेरो यसलाई भेट्छु, उसलाई भेट्छु भन्ने त खासै कोहि छैन । मलाई मात्रै कतिबेला लकडाउन सकिन्छ र काममा फर्कन पाउँछु भन्ने मात्रै ध्यान छ । त्यसैले लकडाउन सकिने बित्तिकै काममा फर्किएर ‘नर्मल लाईफस्टाईल’मा फर्कन मन छ ।

६. लकडाउन अझै जारी नै छ र अझै बढ्न सक्ने सम्भावना देखिएको छ । यस्तोमा नेपालीहरुलाई के सुझाव दिन चाहनुहुन्छ  ?   

-अहिलेको समयमा सबैलाई घरमा बसेर कसरी ‘प्रोडक्टिभ’ हुने, खालि समय कसरी ‘युटिलाइज’ गर्ने भन्ने कुराले ‘प्रेसर’ दिईरहेको छ । किनभने सबैजनाको घरमा बसेर काम गर्ने बानी हुँदैन। गर्नेले गरिरहेका होलान् तर नगर्नेहरुले सबैले केहि न केहि गरिरहेका छन्, मैले मात्र केहि गर्न सकिन भनेर धेरै ‘प्रेशर’ लिएको देखिराको हुन्छु ।

म उनीहरुलाई त्यसरी ‘मोनोटोनस’ नहुनु भन्न चाहान्छु । किनकी यसले हाम्रो ‘मेन्टल हेल्थ’मा असर पर्न सक्छ । ‘डिप्रेसन’को बिरामी हुन सक्छ । त्यसैले अरू के गर्दैछन् भन्ने तिर नलागेर घर भित्रै कुनै न कुनै कुरामा बिजी हुने कोसिस गर्नुहोस भन्न चाहन्छु ।

७. तपाईं ‘हलिउड मुभि’को लागि ‘साईन’ भइसक्नु भयो भन्ने खबरहरु आईरहेका छन् । केहि तयारीहरू गरिरहनुभएको छ कि छैन ?   

– यो कुरामा चाहि सबैजना एकदमै धेरै ‘कन्फ्युजन’मा हुनुहुन्छ । वास्तवमा ‘हलिउड मुभि’को लागि होइन ‘अमेरिकन मुभि’को लागि हो । तर यसबारे मैले अहिले नै केहि भन्न मिल्दैन र भन्न मिल्ने अवस्था पनि छैन ।

बाहिर-बाहिर धेरै कुराहरु आईरहेका छन्, जुन सबै सहि होइनन् । मैले लकडाउन भन्दा आगाडि ‘अमेरिकन मुभि’मा अडिसनको लागि  ‘भिडियो टेप’ पठाएको हो र उताबाट अलि ‘पोजेटिभ’ जस्तो ‘रेस्पोन्स’ आएको मात्र हो।

यसलाई मैले शत प्रतिशत भन्न मिल्दैन । अहिलेसम्म कहिलेबाट शुट हुने हो, कहाँ हुने हो भन्ने कुरा पनि ‘फिक्स’ भएको छैन त्यसैले त्यहि मुभिको लागि भनेर त त्यस्तो खासै केहि तयारी गरेकी छैन ।

Logo