काठमाडौं ।
आज डिसेम्बर १ तारिख, प्रत्येक वर्ष यस दिन विश्वभर एड्स दिवस मनाइँदै आएको छ । नेपालमा पनि विगत ३३ वर्षदेखि एड्स दिवस मनाउने गरिएको छ । नेपालमा ३३ वर्ष अघि अर्थात् सन् १९८८ मा पहिलो एचआईभी एड्स संक्रमित फेला परेको थियो ।
त्यसैलाई आधार मानेर नेपालमा पनि प्रत्येक वर्षको डिसेम्बर १ तारिखमा एड्स दिवस मनाइँदै आएको छ । विश्व एड्स दिवस अन्तर्गत यस वर्ष ‘एचआईभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यबद्धता तथा साझा जिम्मेवारी’ लेखिएको नारा तय गरिएको थियो ।
पछिल्लो तथ्यांक अनुसार नेपालमा २९ हजार ५ सय ३ जना एचआईभी संक्रमित भएको अनुमान गरिएको छ भने नेपालमा दैनिक दुई जनालाई एचआईभी संक्रमण भएको पाइएको छ । जस अनुसार आर्थिक वर्ष २०७६÷७७ मा ७ सय ९० जनालाई एचआईभी संक्रमण भएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले जनाएको छ । विश्व एड्स दिवसको अवसरमा केन्द्रले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्ष ५ सय पुरुष र २ सय ९० महिलामा एचआईभी संक्रमण पुष्टि भएको थियो, जस अनुसार एकजना महिला संक्रमित हुँदा दुईजना पुरुषमा संक्रमण भएको देखिएको तथ्यांकले देखाएको छ ।
त्यसमध्ये पनि एचआईभी संक्रमण हुने नयाँ महिला मध्ये २ सय ३९ जना गर्भवती हुने गरेका छन् । केन्द्रले नेपालमा गत वर्षसम्म ३७ हजार ५ सय ९६ जना एचआईभी संक्रमितको तथ्यांक दर्ता भएको जनाएको छ । जसमध्ये १४ हजार ४ सय ६० जनाको मृत्यु भई गत वर्षसम्म २३ हजार एकसय ३६ जना मात्रै जीवित रहेको केन्द्रको तथ्यांकले देखाएको छ ।
केन्द्रका अनुसार एचआईभी एड्सको क्षेत्रमा कार्यरत संघसंस्थाले नेपालमा अनुमानित १० हजार जना एचआईभी संक्रमितहरुको पहिचान नै हुन सकेको छैन । तथापि, नेपालमा एचआईभी संक्रमण घट्दै आएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको दावी रहेको छ ।
प्रकाशित: १६ मंसिर २०७७ १५:३३ मंगलबार