स्वास्थ्य प्रदेश ३

वायु प्रदूषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, 'मर्निङ वाक नगरौं, फोहोर जलाउने काम बन्द गरौँ'

15 Shares

काठमाडौं।

काठमाडौं उपत्यकामा वायु प्रदूषणको मापक उच्च भएपछि स्वास्थ्य मन्त्रालयले मर्निङ वाक नगर्न र घर बाहिर ननिस्कन सर्वसाधारणमा आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

“केही दिनदेखि मौसममा आएको परिवर्तनसँगै काठमाडौं उपत्यकाभित्रको वायु प्रदूषण निकै बढेको छ,” विज्ञप्तिमा भनिएको छ , “यसले श्वासप्रश्वासमा कठिनाई लगायत विविध स्वास्थ्य समस्याहरु देखा पर्दछ । वायु प्रदूषणका कारण जनस्वास्थ्यमा पर्न सक्ने प्रभावहरुलाई मध्यनजर गरि नेपाल सरकारले मापदण्डहरु तोक्न सक्ने व्यवस्था जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४० मा गरिएको छ । उक्त व्यवस्था अनुसार मापदण्डहरु तोकी नसकिएको र हालको वायु प्रदूषणको अवस्थालाई मध्यनजर गरि आकस्मिकरुपमा निम्न अनुसारका काम गर्नु हुन सरोकारवाला सबैमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हार्दिक अपिल गर्दछ ।”

१–मर्निङवाकमा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने केही दिनका लागि रोकौँ ।

२–फोहोरहरुको उचित व्यवस्थापन गरौँ तर फोहोर जलाउने काम नगरौँ, नगराऔँ । कसैले फोहोर जलाउने काम गर्ने गरेको छ भने त्यसलाई निरुत्साहित गरौँ र बन्द गर्न लगाऔँ ।

३–घर बाहिर ननिस्कौँ । निस्कनै पर्ने अवस्था भएमा मास्कको अनिवार्य प्रयोग गरौँ र कोभिड १९ का लागि तोकिएका जनस्वास्थ्यका मापदण्डहरु पालना गरौँ, गराऔँ ।

४–धुलो धुवाँ उड्ने खालका पेसा, व्यवसाय, निर्माण कार्यहरु केही दिनलाई स्थगन गरौँ, गराऔँ । केही दिनपछि त्यस किसिमका पेसा, व्यवसाय, निर्माण कार्यहरु सुचारु गर्दा धूलो धुवाँ नउड्ने वा कम हुने व्यवस्थाहरु गरौँ, गराऔँ ।

५–अत्यावश्यक नभई सवारी साधनहरु नचलाऔँ ।

यस्तै विभिन्न स्वास्थ्यविदहरुले पनि वायु प्रदूषणको अवस्थाप्रति सजग रहन भन्दै सर्वसाधारणमा अनुरोध गरेका छन् ।

प्रकाशित: २२ पुस २०७७ ०६:२८ बुधबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी