चीनमा नेपालीहरूले गरे रक्तदान

चीनमा नेपालीहरूले गरे रक्तदान


ग्वान्जाउ,
दक्षिण चीनको औद्योगिक सहर ग्वान्जाउमा रहेका नेपालीहरूले रक्तदान गरेका छन् । ग्वान्जाउस्थित नेपाली महावाणिज्य दूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए, चीन) मिलेर नेपाल भ्रमण वर्षको प्रचार–प्रसारसँगै हालै उनीहरुले रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् । कुल ८८ जना रक्तदातामध्ये ७६ नेपाली थिए भने अन्य विदेशी सहभागी थिए ।

एनआरएनए चीनकी उपाध्यक्ष तथा रक्तदान कार्यक्रमकी संयोजक श्रीमती खुश्बू अग्रवालका अनुसार चीनमा व्यवसाय गर्ने नेपाली व्यापारी, साउथ चाइना युनिभर्सिटी, ग्वान्जाउ नानफाङ युनिभर्सिटी र सनयात्सेन युनिभर्सिटी लगायतका विद्यार्थीहरू रक्तदानमा भाग लिएका थिए । ग्वान्जाउस्थित ब्लड बैंक सेन्टरले ३१ हजार ६ सय एमएल रगत संकलन गरेको थियो । नेपालीहरूले औपचारिक रूपमा पहिलो पटक यति ठूलो परिमाणमा रक्तदान गरेको अग्रवालले बताइन् । ‘एनआरएनए चीनले धेरै पहिलेदेखि नै धेरै नेपालीको कर्मभूमि तथा असल छिमेकी देश चीनमा रक्तदान कार्यक्रम गर्ने सोच बनाएको भए पनि यस बेला मात्र यो पवित्र कार्यलाई साइत जु¥यो,’ अग्रवालले भनिन् ।

कार्यक्रममा एनआरएनए चीनका तर्फबाट केन्द्रीय सदस्य (आईसीसी) नवीन विक, पूर्वअध्यक्षहरु शंकर ज्ञवाली र बलराम पराजुली, पूर्वउपाध्यक्ष रोहित अग्रवाल, अध्यक्ष प्रदीप निउरे, अर्का उपाध्यक्ष सुशील बेलबासे, महासचिव ओम ज्ञवाली, सचिव तीर्थ पौड्याल, महिला संयोजक सविता बर्तौलासहित कार्यकारी सदस्यहरुको पनि बाक्लो उपस्थिति थियो । नेपाली वाणिज्यदूतावासका तर्फबाट वाणिज्य शाखाका उपसचिव शरद ढुंगानाको उपस्थिति थियो ।

Logo