अस्पतालमा विरामीको मृत्यु प्रकरण : मृतकका आफन्तको आन्दोलन बार्गेनिङमा अड्कियो

अस्पतालमा विरामीको मृत्यु प्रकरण : मृतकका आफन्तको आन्दोलन बार्गेनिङमा अड्कियो


विराटनगर,

विराटनगरको नोवेल शिक्षण अस्पतालमा घुँडाको शल्यक्रिया गरिएका बिरामीको मृत्यु प्रकरण क्षतिपुर्तिको बार्गेनिङमा पुगेर अल्झिएको छ । क्षतिपुर्तिको विषयमा कुरा नमिल्दा मृतकका परिवार र आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । उनीहरुले सोमबार पनि सुनसरीको दुहवी बजार बन्द गर्दै कोसी राजमार्ग अवरुद्ध पारे । बजार आइतबारदेखि बन्द गरिएको थियो ।

सोमबारबाट सडकमै टायर बालेर राजमार्ग अवरुद्ध पार्दै यातायात सञ्चालनमा रोक लगाइएको हो । घुँडाको शल्यक्रिया गरिएका सुनसरीको दुहवी नगरपालिका–६ का ५० वर्षीय अनिलकुमार साहको अस्पतालमै मृत्यु भएको विरोधमा आफन्त र स्थानीय आन्दोलित बनेका हुन् ।

सडकमा टायर बाल्दै बजार बन्द गराउँदा यहाँको माहोल थप अशान्त बनेको थियो । बजार दिनभर ठप्प रह्यो । सवारी आवागमन भने प्रहरीले बल प्रयोग गरी दिउसोबाट सुचारु गराएको थियो । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी समीरचन्द्र खरेलको नेतृत्वमा पुगेको प्रहरी टोलीले सडकमा अवरोध गर्नेहरुलाई हटाएर यातायात सुचारु गरेको थियो । बन्द रहेको बजार भने खुल्न सकेन ।

शनिबार शल्यक्रिया गरिएका साहलाई आइतबार बिहान अस्पतालले मृत घोषणा गरेको थियो । उपचारमा चिकिसत्कको लापरवाही भएको भन्दै परिवारका सदस्य, आफन्त र स्थानीय बासिन्दा घटनाको विरोधमा आन्दोलित बनेका हुन् । समस्या समाधानका लागि भन्दै सोमबार पनि मृतक पक्ष र अस्पताल प्रशासनबीच वार्ता भयो । तर वार्ता साँझसम्म चले पनि विना निस्कर्ष टुँगियो । वार्ताका क्रममा मृतक पक्षले पाँच लाख रुपैयाँ क्षतिपुर्ति दिइनुपर्ने अडान राखेको थियो । तर अस्पताल प्रशासनले भने तीन लाख रुपैयाँ मात्रै दिन तयार भएको जनाइएको छ ।
अन्नपूर्णबाट

Logo