केएमसीको स्वास्थ्य टोली लिएर सांसद डा. शर्मा अर्घाखाँचीमा, १५ सय बढी बिरामीले लिए लाभ

केएमसीको स्वास्थ्य टोली लिएर सांसद डा. शर्मा अर्घाखाँचीमा, १५ सय बढी बिरामीले लिए लाभ

केन्द्रबिन्दु
84
Shares

नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)ले अर्घाखाँचीमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा १५ सय बढी विरामीले लाभ लिएका छन् ।

केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालका अनुसार सुशील कोइराला स्मृति प्रतिष्ठान र सन्धिखर्क नगरपालिकाको संयुक्त आयोजनामा नगरपालिका २ स्थित आनन्दपुर माविमा भएको स्वास्थ्य शिविरमा १५ सय ८५ बिरामीको निःशुल्क उपचार गरिएको हो । बिरामीमध्ये १०७ जनाको ईसीजी, १७५ जनाको ल्याब परीक्षण, १२५ जनाको भिडियो एक्सरे र ६५ जनाको ईको गरिएको थियो । त्यस्तै, ६० जनाको दाँत खोलिएको थियो भने ४५ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ ।

सन्धिखर्कका मेयर कृष्ण श्रेष्ठको सभापतित्व तथा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति एवं सुशील कोइराला स्मृति प्रतिष्ठानका अमरसिंह पुनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले शुभकामना मन्तव्य राखेका थिए । सो क्रममा शिविर सम्बन्धी प्रकाश पार्दै केएमसीका प्रबन्धक दाहालले रेफर गरिएका बिरामीको निःशुल्क शल्यक्रिया गरिने जानकारी गराए ।

सांसद डा. शर्माले दुर्गम गाउँका जनतालाई स्वास्थ्य चेकजाँचका लागि केही राहत होस् र पैसा नभएका कारण कोहि पनि उपचारबाट वञ्चिन हुन नपरोस् भन्ने हेतुले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छन् । यो टोलीले अब फागुन २० र २१ गते रोल्पामा पनि निःशुल्क स्वास्थ्य शिविर गर्नेछ । यसअघि पाल्पामाा पनि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । केही साताअघि केएमसीको स्वास्थ्य टोली लिएर सुदूरपश्चिम प्रदेशमा पुगेका सांसद डा. शर्माले बैतडीको पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका, दार्चुलाको शैल्यशिखर नगरपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका थिए, जसमा हजारौंले स्वास्थ्य लाभ लिएका थिए ।

Logo