“मेरो जित सुनिश्चित छ, सबै साथीहरुलाई समेटेर लैजान्छौं” : चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्षका उम्मेदवार (नेपाल उद्योग वाणिज्य महासंघ)

“मेरो जित सुनिश्चित छ, सबै साथीहरुलाई समेटेर लैजान्छौं” : चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्षका उम्मेदवार (नेपाल उद्योग वाणिज्य महासंघ)


नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन नजिकिरहँदा तपाईको तयारी के कस्तो भइरहेको छ ?

हामी तीनवटै समूहमा लिड गर्दैछौं यसैले हामी मंसिर १३ को पर्खाइमा छौं । अहिलेसम्म जिल्लानगरका साथीहरुले ८० देखि ८५ प्रतिशत मतको आँकलन गर्नुभएको छ भने वस्तुगत र एशोसिएटमा पनि हामी ८० प्रतिशतभन्दा माथि नै छौं । हाम्रो समूहको जीत सुनिश्चित छ र निर्वाचन परिणामको पर्खाइमा छौं । त्यसकारण हामी उत्साहित छौं ।

तपाईंको जित्ने आधार के हो त ?

मैले के गरेँ भनेर आफैं दावी गर्नुभन्दा मेरा अग्रजहरुबाटै मेरो मूल्यांकन गरिनु उपयुक्त होला । म महासंघ कार्यकारिणी समिति सदस्यमा पहिलोपटक चुनिँदा अध्यक्ष रहनुभएका आदरणीय सुरज वैद्यदेखि हालको कार्यकारिणी समितिमा रहेर कति उपलब्धि हासिल गर्न सकेँ, दिइएको जिम्मेवारी कति पूरा गर्न सकेँ भनेर हेर्दा प्रष्ट हुन्छ । रोजगारदाता परिषदको सभापतिका रुपमा न्यूनतम पारिश्रमिक विवादको समाधानदेखि लकडाउन अवधिको तलबमान निर्धारणमा सरकारको निर्णयभन्दा एक कदम अगाडि सरेर मजदुर प्रतिनिधिलाई ५० प्रतिशत तलबमा सहमत गराउन सकेको र यसलाई सिंगो निजी क्षेत्रको उपलब्धिका रुपमा नेतृत्व गर्न पाएको अवसरलाई मैले उपलब्धिका रुपमा लिन्छु । दुर्गमका जिल्लानगरदेखि अन्तर्राष्ट्रिय मञ्चहरुमा समेत महासंघको उपस्थितिका लागि अहोरात्र खटेको छु, नीति निर्माणका तहमा निजी क्षेत्रका आवाज मुखरित गरेकै छु । महासंघको प्रादेशिक संरचना अनुसार स्थापना भएको प्रदेश उद्योग वाणिज्य संघको पूर्वाधारको व्यवस्था लगायत जिल्ला नगरका हरेक इस्यू र जिल्लाका साथीहरुका गुनासाहरुलाई सुल्झाउने प्रयास गरेको छु । यी सबै कामका साक्षी महासंघका मेरा साथीहरु हुनुहुन्छ ।

उद्योग वाणिज्य क्षेत्रलाई माथि उकास्ने एजेण्डा के के छन् ?

हामीले भनेका छौं निजी क्षेत्र भनेको देशको समृद्धिको यात्राको दरिलो खम्बा हो । तर समृद्धिको यात्रामा यही निजी क्षेत्रले राज्यको तर्फबाट अपेक्षा अनुसार सम्मान पाउन सकेको छैन , चाहिएको बेला अभिभावकको भूमिका पाउन सकिरहेको छैन । तपाईं हाम्रो अबको यात्रा त्यो सम्मान पाउनका लागि हुनेछ, राज्यबाट अभिभावकत्व पाउनका लागि हुनेछ । हिजो अस्ती राज्यसँग लडेर त्यो भूमिका खोज्नु पर्दथ्यो, सम्मान माग्नु पर्दथ्यो । तर आज लडाईं होइन संवाद गरेर हाम्रा हक खोज्नुपर्छ । हाम्रो सम्मान फिर्ता ल्याउनुपर्छ । हाम्रो यो टीमले त्यसका लागि दिलो ज्यान दिएर काम गर्नेछ ।

निजी क्षेत्र आर्थिक विकास र रोजगारी सृजनाको बलियो इन्जिन हो । यो इन्जिनलाई चलाउन निजी क्षेत्रको सक्रिय सहभागिता अनिवार्य छ । औद्योगिक र व्यापारिक वातावरण बनाउन हामीकहाँ अझै थुप्रै काम गर्न बाँकी छ । ती के काम हुन भनेर हामीले पहिचान गरिसकेका पनि छौं । हामी नेतृत्वमा आउना साथ ती क्षेत्रमा काम थाल्नेछौं ।

जिल्ला नगरका साथीहरुलाई थप विश्वास दिलाउन चाहन्छु, हामी नेतृत्वमा आएपछि घरेलु नवीकरणका लागी उद्योग बाणिज्य संघको सिफारिस चाहिने कुरालाई हामीले उठाउने छौं । नगरपालिकाको ब्यवसायिकरणमा उद्योग बाणिज्य संघलाई सहभागिता लागू गर्न पहल गर्नेछौं ।

निम्न आय भएका उद्योग वाणिज्य संघलाई कम्तिमा बार्षिक आम्दानीको श्रोत जुटाउनका लागि मोडल बनाउने छौं । उद्यमशीलता विकासका तालिम दिने, एक गाउँ एक उत्पादन जस्ता कार्यक्रमलाई फेरि लागू गर्ने विषय पनि हाम्रो प्राथमिकतामा रहनेछ । त्यसैगरी जिल्ला नगरका समस्या समाधान गर्नका लागि महासंघसँग सिधै जोडिने गरी संयन्त्र बनाउने प्रतिवद्धता पनि व्यक्त गर्दछौं ।

हामीले भनेका पनि छौं, यी कामका लागि हामी नेतृत्व मात्रै होइन, महासंघको सचिवालयलाई पनि विश्वासिलो, भरपर्दो र डायनामिक बनाउँछौं । हाम्रो टीमले देशमा औद्योगिक वातावरण निर्माण गर्न, वैदेशिक लगानी भित्र्याउन, नयाँ प्रविधि भित्र्याउन, निजी क्षेत्रको सृजनात्मक भूमिका बढाएर व्यावसायिक क्षेत्रमा देखा परेका समस्या समाधान गर्न र व्यवसायीका हकहित तथा अधिकारका लागि सरकारसँग लविङ्ग गर्नेछ ।

हामीले महासंघलाई ठूला उद्यमीहरुको मात्रै होइन, साना र मझौला उद्योगी व्यापारीको पनि साझा चौतारीका रुपमा स्थापित गर्न प्रयास गर्नेछौं । त्यस चौतारीमा सबैका समस्याको सुनुवाई हुने वातावरण बनाउने काम हामीले गर्नेछौं । कोरोना महामारीले उद्योग र व्यवसाय सबैभन्दा बढी मारमा छ । इतिहासमै यसअघि कहिल्यै नआएको र नसोचेको क्षतिको अवस्था हामीले भोग्न थालेका छौं । अझै पनि यो महामारीले कुन रुप लिने हो स्पष्ट भएको छैन । त्यही कारण यो संकटसँग जुध्न पनि हामीलाई बलियो काँध चाहिएको छ । महामारीको यो बेलामा ज्यान जोगाउने र भोलि व्यवसायलाई पनि माथि उठाउन सबैले मिलेर बल दिनुपर्ने जिम्मेवारीमा अबको महासंघको नेतृत्वले काम गर्नुपर्नेछ ।

नेतृत्व भनेको संकटको सारथी हो, दुःखको बेला सम्झिने आडभरोसाको केन्द्र हो । त्यसैले प्रकृतिले थपिदिएको यो चुनौतीसँग जुधेर देशको समग्र निजी क्षेत्रको मनोबल उँचो पार्ने काममा दरिलो आत्मविश्वासका साथ हामीले काम गर्नेछौं

यी र यस्तै विभिन्न व्यवसायीका इस्यूहरुलाई समेटेर हामीले एफएनसीसीआई भिजन २०२५ को मस्यौदा बनाएका छौं । भोलि हामी नेतृत्वमा पुगेपछि हामीले यसमा थप छलफल र अन्तर्क्रिया गरी थप परिष्कृत बनाएर कार्यान्वयन गर्नेछौं ।

निर्वाचनमा प्रतिस्पर्धी तपाईँको टीमका साथीहरु कतिको अनुभवी हुनुहुन्छ ?

हाम्रो यो टीम अनुभवले भरिएको छ । विश्वासले भरिएको छ । टीममा साना तथा मझौला व्यवसायदेखि ठूलो व्यवसायिक घरानासम्मको उपस्थिति छ । त्यति मात्रै नभएर यो टीमको गाउँ जिल्लादेखि नीतिगत तहसम्म पहुँच छ । तपाईंलाई दुःख परेको बेला हाम्रो टीम तपाईंको नजिक हुनेछ, तपाईंले खोजेको बेला पहुँचमा रहनेछ, समस्यालाई नीति निर्माता कहाँ पुर्याइदिएर समाधान खोजिदिनेछ । आखिर तपाईंले महासंघमा खोजेको पनि यस्तै नेतृत्व होइन् र ?

आज हामी चुनावमा छौं, स्वाभाविक रुपमा हाम्रो टीमसँग प्रतिष्पर्धा गर्नका लागि विपक्षी टीम पनि खडा भएको छ । आज मेरो तपाईंलाई आग्रह छ, हाम्रो र विपक्षी टीमको तुलना गर्नुस, त्यहाँका उम्मेदवारको आगत र विगत पनि हेर्नुहोस । विपक्षी टीमका अधिकांश साथीको नेतृत्व तपाईं हामीले यस अघि नै भोगिसकेका छौं, त्यो अनुभवलाई आज फेरि सम्झनुहोस् ।

अझ विशेष गरी म जिल्ला उद्योग वाणिज्य संघका साथीहरुसँग आग्रह गर्न चाहन्छु, उद्योग वाणिज्य महासंघको नेतृत्वमा रहनु भएका हाम्रा विपक्षी टीमका साथीहरु वितेका वर्षहरुमा तपाईंको नजिक कहिले पुग्नु भएको थियो ? प्रश्न सोध्न चाहन्छु, चुनाव जितेपछि पुग्नु भएको थियो ? तपाईंले खोज्दा, के उहाँहरुसँग भेट भएको थियो ? तपाईंले फोन गर्दा उहाँहरुको फोन उठेको थियो ? तपाईंलाई समस्या पर्दा के त्यो उहाँहरुले सुनिदिनु भएको थियो ? समाधान खोजेर ल्याइदिनु भएको थियो ?

त्यसो भए आफूले चुनाव जित्नेमा तपाईं ढुक्क हुनुहुन्छ ?

मेरो जित सुनिश्चित छ । सबै साथीहरुलाई समेटेर यस क्षेत्रलाई माथि उकास्न हामी सक्रिय छौं ।

Logo