चितवनमा ५६ कुष्ठरोगी थपिए

चितवनमा ५६ कुष्ठरोगी थपिए


जिल्लामा ५६ कुष्ठरोगी थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको छ महिनामा सो सङ्ख्यामा रोगी थपिएका  हुन । 

६८ औं विश्व कुष्ठरोग दिवसको सन्दर्भमा शुक्रबार आयोजित कुष्ठरोग तथा हात्तीपाइले अन्तरक्रिया कार्यक्रममा सो तथ्याङ्क सार्वजनीक गरिएको हो । कार्यालयका प्रमुख दिपक तिवारीका अनुसार भेटिएका रोगीहरु मध्ये सबैभन्दा बढी भरतपुर महानगरका छन् । इच्छाकामना गाउँपालिकामा भने रोगी नभेटिएको उनले बताए । भरतपुर महानगरपालिकाको नारायणी नदी किनारमा बढी कुष्ठरोगी भेटिएको कार्यालयले जनाएको छ । 

अहिले जिल्लामा नयाँ सहित कुष्ठरोगीको संख्या १ सय १६ पुगेको छ । उनीहरुले नियमित औषधि सेवन गर्दै आएको उनको भनाइ छ । चितवन कुष्ठरोग निवारणतर्फ लागिरहेको उनले बताए ।  द लेप्रोसी मिसन नेपालको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा गत आर्थिक बर्षमा ६० जना नयाँ रोगी भेटिएको जानकारी दिइएको थियो । 

कुष्ठरोगीहरुको जिविकोपार्जनका लागि जिल्लामा ६ वटा सहकारी संस्थाबाट काम भइरहेको छ । यो रोग माइट्रो व्याक्टेरीया लेप्रो नामक सुक्ष्म किटाणुबाट सर्ने गर्दछ । अहिले जिल्लामा १० हजार जनामा एक जनालाई रोग देखिने गरेको तिवारीको भनाइ छ । सो संख्या घट्दो क्रममा रहेको छ । 

कुष्ठरोग लागेका बिरामीहरुले नियमित एक वर्षसम्म औषधि खानुपर्छ । शरीरको कुनै भागमा छुँदा थाहा नपाउनु, रातो फुस्रो दागहरु देखिनु, हात खुट्टा झमझमाउनु, अनुहार र कानको लोति बाक्लो हुनु र गिर्खाहरु देखिनु यसका लक्षणहरु हुन ।

Logo