स्वास्थ्य विशेषः दाँतलाई बलियो र स्वस्थ बनाउन के गर्ने ?

स्वास्थ्य विशेषः दाँतलाई बलियो र स्वस्थ बनाउन के गर्ने ?


दाँत शरीरको यस्तो हिस्सा हो, जो स्वास्थ्य र सौन्दर्यसँग अभिन्नरुपले जोडिएको छ । समग्र अनुहारकै सौन्दर्यमा दाँतको अहं भूमिका हुन्छ । दाँतले शारीरिक स्वास्थ्यमा जति महत्वपूर्ण भूमिका खेलेको हुन्छ, उत्तिनै आवरणमा पनि । त्यसैले त कवि–कलाकारहरुले दाँतलाई सौन्दर्यकै एउटा विम्ब बनाएर पेश गर्छन् । ‘मिलेका ति दाँतका पंक्ति ।’ ‘अनारका दाना जस्तै मिलेका दाँत ।’

दाँतको मूख्य काम खानेकुरा चपाउनु हो । यसर्थ दाँतको सम्बन्ध सम्पूर्ण शारीरिक स्वास्थ्यसँग पनि छ । राम्ररी चपाएर खानेकुरा सेवन गर्दा त्यसमा रहेको पोषक तत्व शरीरले सहजरुपमा ग्रहण गर्छ । पाचन यन्त्रलाई अनावश्यक भार पर्दैन । यसरी खानेकुरालाई टुक्रा–टुक्रा गर्नका लागि बलियो दाँत चाहिन्छ । बलियो दाँत मात्र भएर पनि पुग्दैन, सफा र स्वास्थ्य पनि हुनु पर्छ । किनभने दाँत फोहोर भयो भने हामीले जे–जति खानेकुरा खान्छौं, त्यो सबै दुषित हुन्छ । मुखमा खानेकुरा चपाउन थालेपछि त्यो सफा हुनु पर्छ । यसका लागि मुख तथा दाँत पनि सफा हुनुपर्छ ।

हामी आफ्नो छाला तथा केशको बारेमा अति नै सम्वेदनशील हुन्छौं । यसका लागि हामी विभिन्न किसिमका उत्पादनहरुको प्रयोग गर्छौं । तर, जब कुरा दाँतको स्वास्थ्यको आउँछ, हामी त्यति वास्ता गर्दैनौं । दाँत त्यसबेला खराब हुन्छ, जब त्यसको सरसफाईमा ख्याल गरिदैन । खानेकुरा खाएपछि त्यसको टुक्रा दाँतमा रहन्छ । खानेकुराको लेउ दाँतमा टाँसिएर बस्छ । यस्ता टुक्रा तथा लेउलाई हटाउनु पर्छ । त्यसको लागि सजिलो र प्रचलित उपाय हो, दाँत ब्रस गर्नु । खाना खाएपछि ब्रस गर्नु पर्छ । सामान्यतः हामी दिनमा दुई पटक खाना खान्छौं । खाना खाइसकेपछि दुई पटक नै दाँत ब्रस गर्नुपर्छ । दिनभर खाजा, नास्ता गरेपछि ब्रस गरिरहने अनुकुलता नमिल्न सक्छ । त्यसैले कुनैपनि खानेकुरा खाइसकेपछि सफा पानीले मुख कुल्ला गर्नुपर्छ ।  

हामी धेरैजसो बिहान उठ्नासाथ ब्रस गर्छौं । हामीलाई लाग्छ, उठेपछि मुखको गन्ध हटाउन ब्रस गर्नु पर्छ । तर, यतिबेलासम्म राति खाएको खानाको टुक्रा सड्ने, गल्ने, कुहिने प्रक्रिया सुरु भइसकेको हुन्छ । दाँतमा जिवाणुहरु फैलिइसकेको हुन्छ । त्यसैले बिहान दाँत ब्रस गर्नुको खास अर्थ छैन । खाना खाइसकेपछि ब्रस गर्नु सबैभन्दा उपयोगी तरिका हो । खाना खाएपछि दाँतमा अल्झिएको खानेकुराको टुक्रा, लेउ आदि हटाउनका लागि ब्रस गर्नु पर्छ ।

दाँतको सरसफाई  गर्ने तरिका

—आफ्नो दाँतलाई दिनहुँ दुई पटक फ्लोराइडयुक्त टुथपेस्टले सफा गर्नु पर्छ । दाँतलाई नरम ब्रशले माझ्नु पर्छ, यसले हाम्रो गिजालाई कुनै पनि किसिमको हानी पुर्याउँदैन ।

—दाँतलाई सुरक्षित राख्नको लागि नियमितरुपमा सरसफाइ गर्नु पर्छ । खाना खाइसकेपछी ब्रश गर्नु पर्छ । टुथब्रश सानो खालको प्रयोग गर्नु पर्छ । ताकि दाँतको कुना कुनामा सजिलैसँग पुगोस् ।

—ब्रश गरेपछि नुनपानीले कुल्ला गर्ने वा माउथ वासको प्रयोग गर्नु पर्छ । यसले हाम्रो दाँत र गीजाहरुलाई ब्याक्टेरियाबाट बचाउँछ ।

—दाँतको बीचमा अड्किएका खानेकुराको टुक्राहरु निकाल्नका लागि समय–समयमा मुख कुल्ला गरिरहनु पर्छ ।

—हरेक तीन महिनामा आफ्नो टुथब्रश परिर्वतन गर्नु पर्छ । यदि ब्रश तीन महिना भन्दा अगाडि नै विग्रियो भने यसलाई तुरुन्त परिर्वतन गर्नु पर्छ ।

—सोडा र चिनी मिसाइएको पेय पदार्थ प्रयोगले पनि दाँतलाई हानि पुर्याउँछ । त्यसैले यस्तो प्रकारको पेयपर्दाथबाट टाढै बस्नु पर्छ । किनकि यस्ता पेयमा अम्लिय पदार्थ हुन्छ ,जसले दाँतको इनामेलमा भएको खनिजलाई घुलाइदिन्छ र दाँत कमजोर हुन थाल्छ ।

—गुलियो खानेकुरा दाँतलाई एकदमै हानिकारक हुन्छ । त्यसैले यसको सेवन कम गर्नु पर्छ । दाँतको माथिल्लो तहमा भएको जीवाणुले गुलियोलाई अम्लमा परिर्वतन गरिदिन्छ र दाँत कमजोर हुन्छ ।

—फलफूलको सेवनले दाँतलाई क्याभिटिबाट बचाउँछ । स्याउ, गाजर आदिको नियमित सेवनले दाँतलाई फाइदा हुन्छ ।

—दाँतले बोतलको बिर्को खोल्ने , सुपारी फुटाउने, जस्ता काम गर्नु हुँदैन । यस्ता काम गर्दा दाँतको क्याप निस्किने या टुट्ने हुन सक्छ ।  

—पानीले दाँतलाई सेतो र चमकदार बनाइ राख्न पनि सहयोग गर्छ । त्यसैले दिनमा ८ देखि १० गिलास पानी पिउनु पर्छ ।

— दाँतमा कुनै समस्या नआए पनि नियमित रुपमा चेकअप गर्नु पर्छ । यसो गर्दा दाँतमा कुनै समस्या भएमा शुरुवातमा नै थाहा हुन्छ । त्यस्तै कुनै समस्या जस्तै –दाँत दुख्ने, झनझनाहट हुने, गिजाबाट रगत आउने आदि भएमा दन्त चिकित्सकलाई देखाउनु पर्छ ।  

कतिपय खानेकुराले दाँतलाई कमजोर बनाउँछ । जस्तो कि, गुट्खा, पराग, पान, सुपारी, चुरोट आदिले दाँतलाई कुरुप र कमजोर बनाउँछ । धेरै तातो खानेकुरा वा धेरै चिसो खानेकुरा पनि दाँतको लागि अनुकुल मानिदैन । मध्यम तापमानको खानेकुरा उपयोगी हुन्छ । भिटामिन डि युक्त खानेकुराले दाँतलाई बलियो बनाउँछ ।

अहिले दाँतको सुरक्षा, सफाई आदिको लागि विभिन्न प्रविधि र विधी प्रयोगमा छन् । यद्यपी कृतिम तरिकाले झन कमजोर बनाउँछ । यसले दाँतको प्राकृतिक इनामेल पनि नष्ट गर्छ र संक्रमणको खतरा बढाउँछ । दाँतलाई बलियो बनाउने भन्दा प्राकृतिकरुपमै स्वस्थ बनाउनु राम्रो हो । दाँतलाई बलियो, स्वस्थ्य र सफा बनाउनका लागि घरेलु तथा प्राकृतिक विधिले सही समयमा सही ढंगले सफाई गर्नु पर्छ ।

दाँतको स्वास्थ्यका लागि घरेलु विधि  

दाँत सफा, स्वास्थ्य, चम्किलो एवं बलियो बनाउन अस्पताल नै धाउनु पर्छ भन्ने छैन । घरमै उपलब्ध सामग्रीको प्रयोगबाट पनि दाँत सफा राख्न सकिन्छ ।

– घर आँगनमा पाइने तुलसीमा दाँतको पहेंलोपन हटाउने विशेष क्षमता हुन्छ । यसले दाँत तथा मुखको रोग पनि ठीक गर्छ । तुलसीको पात सुकाएर पाउडर बनाउने, त्यसलाई टुथपेस्टमा मिलाएर ब्रस गर्नु पर्छ ।  

– यस्तै सुन्तलाको बोक्रा र तुलसीको पातको मिश्रण पनि उपयोगी हुन्छ । दुवैलाई सुकाएर पाउडर बनाउनु पर्छ । यही पेस्टले ब्रस गर्ने तथा दाँतमा मसाज गर्नु पर्छ । यसमा रहेको भिटामिन सि र क्याल्सियमले दाँत चम्किलो बनाउँछ ।

– नीमको उपयोग प्राचिन कालबाटै दाँत सफा गर्नका लागि गरिन्थ्यो । नीमले दाँत सफा बनाउने र दाँतको व्याक्टेरिया नष्ट गर्ने क्षमता राख्छ । नीम ब्याक्टेरियल गुणहरुका लागि प्रख्यात छ । त्यसैले नीमले दाँतमा क्याविटी उत्पन्न गराउने ब्याक्टेरिया नष्ट गराउँछ । यसबाहेक यसले दाँतलाई बलियो र गिजालाई स्वस्थ बनाउनका लागि महत्वपूर्ण भूमिका खेल्छ । दिनमा दुई पटक दाँत र गिजामा नीमको पातको रस दल्नु पर्छ । केहि मिनेट पछि मनतातो पानीले मुख कुल्ला गर्दा राम्रो हुन्छ ।

– अमलामा भिटामिन सी पर्याप्त मात्रामा हुन्छ । अमलाले मुखमा उत्पन्न भएका ब्याक्टेरिया र इन्फेक्शनबाट लडेर हाम्रो मुख र गिजालाई स्वस्थ बनाउँछ । यसले मुखबाट आउने दुर्गन्धबाट धेरै राहत प्राप्त हुन्छ । दिनहुँ ताजा अमला खानु पर्छ अथवा एक चम्चा अमलाको धुलोलाई आधा कप पानीमा मिलाएर पिउनु पर्छ ।

– ल्वाङ एन्टि–इन्फ्लेमेटरी र पीडानासक एवं एन्टि–ब्याक्टेरियल गुणहरुका लागि धेरै लोकप्रिय छ । ल्वाङ चपाउनाले र ल्वाङको  तेल दाँत दुखेको ठाउँमा लगाउनाले धेरै राहत प्राप्त हुन्छ, तर यसलाई धेरै प्रयोग गर्नु हुँदैन । जब दाँतको पीडाले बारम्बार सताउँछ, त्यो समयमा दाँतको पीडा कम गर्न ल्वाङको तेल लगाउन सकिन्छ ।

– बेसार, नुन र तेलको मिश्रणबाट पनि दाँत सफा गर्न सकिन्छ । यसले गर्दा दाँत बलियो हुन्छ ।

–जमरामा प्राकृतिक एन्टि–ब्याक्टेरियल गुण हुन्छ । यसले दाँतको पीडामा धेरै राहत प्राप्त हुन्छ । यसबाहेक जमरामा भिटामिन ए र ई तथा आइरस, क्याल्सिम र म्याग्नेसियम भरपूर मात्रामा हुन्छ । यसले दाँतलाई बलियो बनाउँछ । दिनहुँ आधा कप जमराको जूस पिउनु अथवा केही जमरा चपाउनाले दाँतको स्वस्थको साथैे मुखका लागि पनि फाइदाजनक हुन्छ ।

Logo