शारीरिक र भावनात्मक रुपले आफ्नो राम्रो ख्याल राख्ने आदर्श समय हो, गर्भावस्था । गर्भावस्थाको बेला स–साना कुरामा सर्तक रहनुपर्छ जस्तै खानपानदेखि जीवनशैलीसम्म । यस्तो बेलामा सकारात्मक सोच राख्नु आवश्यक हुन्छ । यसले गर्भको बच्चामा राम्रो प्रभाव पार्छ । यसको नतिजा बच्चा र आमा दुबैको स्वास्थ्यमा खोट आउने भय हुँदैन । तर, गर्भावस्थामा चिन्ता वा तनाव लिनु बढी हानिकारक हुन्छ । त्यसैले चिन्ता लिने भन्दा पनि आवश्यक तयारी गर्ने, सर्तक रहने गर्नु उचित हुन्छ ।
गर्भावस्थाको पहिलो महिनामा आमाको पेटभित्र रहेको भ्रुणलाई मुख्यतया फलाम, भिटामिन र क्याल्सियमको आवश्यकता पर्छ । किनभने बच्चाको मुटु, पाचन प्रणाली र स्नायुनलीहरू गर्भावस्थाको पहिलो महिनामा विकसित हुन थाल्छन् । यी तत्वहरुले बच्चाको मेरुदण्ड, स्नायु र मस्तिष्कको विकासमा समेत मद्दत गर्छ ।
गर्भावस्थामा ध्यान राख्नु पर्ने कुराहरु :
प्रसव पूर्वको हेरचाह
आफूलाई गर्भवती भएको थाहा भएपछि चिकित्सकलाई भेट्नु पर्छ । प्रसव अघि आफ्नो र बच्चाको स्वास्थ्यका लागि राम्रो हेरचाह आवश्यक हुन्छ । गर्भावस्थामा हेरचाहका लागि चिकित्सकसँग राम्रो सम्बन्ध बनाउनु जरुरी छ, जसले गर्दा आफ्नो व्यक्तिगत हेरचाह हुन सकोस् । साथै नियमित रुपमा एउटै चिकित्सकसँग परामर्श लिने गर्नुपर्छ । यसो गर्दा आफुले के कस्ता सावधानी अपनाउनु पर्ने हो भन्ने कुराको राम्रो सल्लाह पाइन्छ । साथै आपतकालिन अवस्थामा चिकित्सकसँग परामर्श गर्न सजिलो हुन्छ ।
गर्भावस्था एक संवेदनशील क्षण भएकाले उनीहरुको शारीरिक र मानसिक स्वास्थ्यका लागि परिवारले उचित ख्याल राख्नु पर्छ ।
अधिक तरकारीहरूको सेवन
हामीले दैनिक प्रयोग गर्ने तरकारीबाट फोलिक एसिड र भिटामिन बीको आवश्यकता पूर्ति गर्नु पर्छ । यी तत्वहरु ब्रोकली, सिमी, फूलगोभी लगायतका तरकारीहरूमा पाइन्छ । यस्तै हरिया तरकारीहरू पुदीना, मेथीको पात, मुलाको पात, पालक आदि पनि खान सकिन्छ । यसमा फोलिक एसिड प्रशस्त मात्रामा पाइन्छ जुन गर्भावस्थामा एकदमै आवश्यक पर्छ ।
सन्तुलित र पौष्टिक आहार धेरै खाने
गर्भावस्थामा सन्तुलित र स्वास्थ्य आहार महत्वपूर्ण हुन्छ । पर्याप्त मात्रामा सब्जी वा फल खानु पर्छ । केरा, अनार जस्ता फलफूलहरूमा खनिज तथा एभोकाडो, स्याउ आदिमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ । यी फलहरूमा हुने पौष्टिक तत्वले हामीलाई कब्जियतबाट समेत बचाउँछ । तसर्थ, हरेक दिन कम्तीमा दुई किसिमको पौष्टिकताले युक्त फलहरू खानुपर्छ । यस्ता फलहरूमा भिटामिन सीको पर्याप्त मात्रा पाउने गरिन्छ । जुन गर्भवतीको लागि प्रतिरोधक क्षमताका लागि राम्रो मानिन्छ । यस्ता फलहरूले भ्रुणसम्म फलामको मात्रा पु¥याउने काम गर्छ ।
यस्तै केहि कार्बोहाइड्रेट्स, जस्तै रोटी, ब्रेड, चामलले भरपुर आहार लिनुपर्छ । त्यस्तै यसबेला प्रोटिनको पनि जरुरी हुन्छ, जुन माछा, मासु, अन्डा, मेवा, दालबाट मिल्छ । दिनमा तीन पटक धेरै खानेकुरा सेवन गर्नुभन्दा थोरै थोरै पाँच पटक सन्तुलित आहार लिनु पर्छ ।
यस्तो बेलामा खानाको स्वच्छतामा पनि ध्यान दिनु पर्छ । केहि यस्ता खानेकुरा हुन्छ जुन गर्भावस्थामा खान सुरक्षित मानिदैन । त्यस्ता खानेकुरा शिशुको स्वास्थ्यका लागि जोखिमपूर्ण हुन्छ ।
दुग्ध उत्पादनको सेवन
दैनिक दुध एवं दुधजन्य उत्पादनको सेवन गर्नु पर्छ । दूधमा क्याल्सियम, खनिज र फोलिक एसिडको मात्रा पर्याप्त हुन्छ । दैनिक एक गिलास दूध पिउँदा बच्चा र आमा दुवैको हड्डीहरू सुदृढ हुन्छ । त्यस्तै दुधजन्य दही, आइसक्रिम, सोया, दुध, पनिर आदि पनि उपभोग गर्न सकिन्छ । तर दूध सबैभन्दा राम्रो विकल्प हो । दिनको दुई गिलास दूध पिउनु आमा र जन्मनेवाला बच्चाको लागि समेत आवश्यक छ ।
यस्तै दैनिक आठदेखि दश गिलास पानी पिउनु पर्छ । बिहान उठ्नासाथ मनतातो पानी पिउँदा फलदायक हुन्छ । यसले गर्दा पेटको विकार पखालिन्छ । क्याफिनयुक्त र कृतिम स्वाद भएको पेयबाट बच्नु पर्छ । बरु ताजा फलको जुस, सूप पिउनु पर्छ ।
दाल एवं अन्नको सेवन
दलहन एवं विभिन्न किसिमका अन्नहरू जस्तै राजमा, कालो चना वा सोयाबिनमा प्रशस्त मात्रामा फलामको मात्रा पाइन्छ । जुन बच्चाको दिमागको विकासका लागि धेरै फाइदाजनक हुन्छ । यसले भ्रुणको मस्तिष्कको विकास र रक्तसञ्चारमा समेत मद्दत गर्छ । फाइबर र पोषक तत्वहरू जस्तै म्याग्नेसियम र सेलेनियम सम्पूर्ण अन्नहरूमा पाइन्छन् । सोयाबिनमा उचित मात्रामा भिटामिन बी हुन्छ जुन बच्चा र आमा दुवैका लागि लाभदायक हुन्छ ।
यस्तै ओखर, बदाम जस्ता ड्राई फुड स्वस्थ खानाका स्रोतहरू हुन् । जसले गर्भवतीलाई स्वस्थ रहन बल दिन्छ । साथै भ्रुणहरूको लागि आवश्यक भिटामिन बीको परिपूर्ति गर्छ । यस्तै काँक्रोको बीउ लगायतले पनि महिलाहरूको स्वास्थ्यको लागि धेरै फाइदा गराउँछ ।
भाइरल संक्रमण तथा किटाणुबाट बच्ने
गर्भधारण पछिको समयमा भाइरल संक्रमणको जोखिमबाट बच्न विशेष सावधानी अपनाउनु पर्छ । भिडभाडमा जाने वा सरसफाईमा ख्याल नगर्ने जस्ता गल्ती गर्नै हुँदैन । अहिलेको जस्तो कोरोना भाइरसको संक्रमणमा त अझ आफ्नो स्वास्थ्यको ख्याल राख्नु पर्छ । यस्तै निम्न संक्रमणबाट पनि जोगिनुपर्छ ।
लिस्टीरिया
लिस्टिरिओसिज लिस्टीरिया किटाणुले हुने संक्रमण हो । सामान्यतः यसले खतरा पैदा गर्दैन । यद्यपी गर्भावस्थाको क्रममा वा शिशुलाई जन्माएको समयमा जटिलता ल्याउन सक्छ । लिस्टिरिओसिज गर्भपात र नवजात शिशुमा गम्भिर बिमारीको कारण बन्न सक्छ । लिस्टीरिया काँचो दुध, काँचो मासु, राम्ररी नपखालिएको सब्जीमा हुन्छ । त्यसैले कुनैपनि खानेकुरा सेवन गर्नु अघि राम्ररी सफा गर्ने, पकाउने गर्नु पर्छ ।
टोक्सोप्लासमोसिज
यो एक परजीवी हो । यो दुर्लभ छ, तर जन्मने बच्चाको लागि गम्भिर खतरा ल्याउन सक्छ । यो काँचो वा अधकल्चो मासु, माटो आदिमा पाइन्छ । त्यसैले मासु राम्ररी पकाएर मात्र सेवन गर्नुपर्छ ।
साल्मोनेला
साल्मोनेला भोजनलाई विषाक्त गर्ने किटाणु हो । यसले शिशुलाई हानी पु¥याउन सक्छ । यो राम्ररी नपाकेको कुखुराको मासु र अन्डामा पाइन्छ । त्यसैले कुखुराको मासु र अन्डा राम्ररी पकाउनु पर्छ ।
पिसाबको संक्रमण
गर्भावस्थामा पिसाबको संक्रमणले पनि उत्ति नै दुःख दिईरहेको हुन्छ । महिलाहरुमा पिसाबको संक्रमण हुने सम्भावना बढि हुन्छ त्यसमा अझ यस अवस्थामा पिसाबको स्टासिस् अर्थात पिसाबथैलीमा बढी समय पिसाब जम्ने भएकोले संक्रमण हुने सम्भावना अझै बढी रहेको हुन्छ । पिसाबको संक्रमण भएको अवस्थामा पेट दुख्ने, पिसाब छिनछिनमा जाने हुन्छ । कसै कसैलाई ज्वरो आउने पनि हुन सक्छ । पिसाबको संक्रमणलाई जति सक्दो चाडो पत्ता लगाएर उपचार गर्नु आवश्यक हुन्छ ।
नियमित प्राणायाम
यस क्षणमा गहिरो सास लिने, छाड्ने अभ्यास गर्नु उचित हुन्छ । यसले शरीरमा पर्याप्त अक्सिजन प्रवाह हुन पाउँछ । यो आमा र बच्चा दुवैको स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ । कुनै पनि समयमा गहिरो सास लिने र छाड्ने अभ्यास गर्न सकिन्छ । सकेसम्म शान्त र हरियाली वातावरणमा बसेर यस्तो अभ्यास गर्न सकिन्छ । यस्तै घरमै काम गरिरहेको बखत, विश्राम गरिरहेको बखत पनि यो अभ्यास गर्न सकिन्छ । अथवा एउटा नाक बन्द गर्ने, अर्को नाकले गहिरो सास लिने । उक्त नाक बन्द गरेर अर्को नाकले सास छाड्ने । पुनः सास छाडेको नाकले सास लिने । यही क्रिया निरन्तर गर्ने । यस क्रियाले हाम्रो फोक्सोको कार्यक्षमता बढाउँछ वा हल्का काम गरेर भए पनि शरीरलाई सक्रिय राख्ने । भारी काम गर्न उचित हुँदैन । यद्यपि सामान्य कामहरू गरेर शरीरलाई फूर्तिलो राख्न सकिन्छ ।
न्यानो भएर बस्ने
जाडो होस या गर्मी मौसम । मनतातो पानीमा नुन मिसाएर नुहाउनु उत्तम हुन्छ । यसबेला शारीरिक सरसफाइमा एकदमै ध्यान दिनुपर्ने हुन्छ । त्यसैले नियमित नुहाउनु राम्रो हुन्छ । साथै बिहानको घाममा शरीरलाई न्यानो बनाउनु उचित हुन्छ । कम्तीमा १० मिनेट भए पनि घामको तापमा बस्नुपर्छ । यसले शरीरमा भिटामिन डी प्राप्त हुन्छ । गर्भावस्थामा भिटामिन डी एकदमै आवश्यक हुन्छ ।
ध्यान वा मनोरञ्जन गर्ने
ध्यानले मनलाई शान्ति दिन्छ । बेचैनी, तनाव, डर हटाउँछ । ध्यान मुद्रामा बसेर आफ्नो श्वासप्रश्वास प्रक्रियामा ध्यान केन्द्रित गर्ने । दैनिक १०–१५ मिनेट भए पनि ध्यानको अभ्यास गर्न सकिन्छ । यस्तै सकेसम्म आफूलाई रमाइलो माहोलमा राख्ने प्रयास गर्नु पर्छ । रोमान्टिक गीतहरू सुन्ने, फिल्महरू हेर्ने, पुस्तक पढ्न सकिन्छ । यसले मनलाई आनन्दित तुल्याउँछ । नकारात्मक भाव आउन दिँदैन । दुःख र भय हटाउँछ ।
शान्त वातावरणमा बस्ने
गर्भावस्थाको क्रममा महिलाहरुलाई धेरै होहल्ला भएको माहौलमा रहनु हुँदैन । यसले बच्चाको सुन्ने शक्ति कम हुन सक्छ । विभिन्न अध्ययनहरुका अनुसार, ध्वनी प्रदुषणले गर्भमा हुर्किरहेको बच्चाको श्रवणशक्ति प्रभावित हुने उल्लेख गरेका छन् । यस्तै बच्चाको बोल्ने क्षमतामा पनि असर पर्छ किनभने बच्चाले जबसम्म केही सुन्दैनन् उनीहरुको उच्चारण गर्ने क्षमता विकसित हुँदैन ।
मद्यपान र धुम्रपानबाट टाढा बस्ने
मद्यपान, धुम्रपान र गर्भ एकअर्काको परम शत्रु हो । त्यसैले गर्भावस्थामा मदिरापान वा धुम्रपान एकदमै नराम्रो हो । यसले गर्भको शिशुमा प्रत्यक्ष हानी गर्छ । धुम्रपानमा हुने रसायनहरू मुख्यतयः निकोटिनले पाठेघरको भित्रितहमा असर गरेकाले गर्भलाई पाठेघरमा टासिन (इन्प्लान्टेसन) नदिने, भ्रुणहरूको विकास राम्रो हुन नदिने, तौल राम्ररी नबढ्ने, खुडे हुने, कम तौल तथा गर्भको अवधि नपुग्दै जन्मिने सम्भावना रहन्छ । यस्तै मदिराको सेवनले गर्भ तुहिन सक्छ वा भ्रुणको विकास रोकिन सक्छ । मदिराको कारणले बच्चाको व्यवहारमा पनि समस्या हुन सक्छ ।
आइरनको स्तर उच्च राख्ने
गर्भावस्थामा पर्याप्त मात्रामा आइरनले भरपुर खानेकुरा सेवन गर्नुु पर्छ । जसले गर्दा आइरनको स्तर धेरै होस् र एनीमियाबाट बच्न सकौ । शाकाहारी आहारमा सामान्यतः आइरनको मात्रा कम हुन्छ । त्यसैले शाकाहारी भएकाहरुले आइरनको सेवनमा एकदमै ध्यान दिनुपर्छ । खसीको मासु, कुखुराको मासु, माछा आइरनको स्रोत हुन् । हरियो पत्तेदार सब्जी, मेथीको पात, पुदिना, हरियो धनिया, मुलाको साग, किसमिस, फल, दाल आदिमा आइरन पाइन्छ । त्यसैले यसको सेवन नियमित गर्नु पर्छ ।
उच्च रक्तचाप
गर्भावस्थामा हुने अर्को प्रमुख समस्या उच्च रक्तचाप हो । उच्च रक्तचाप हुने कारण धेरै छन् तर उच्च रक्तचाप पहिलोपटक गर्भावस्थमा पनि देखिन सक्छ । यसवाट आमा बेहोस हुने, अचेत हुने, संक्रमित हुने तथा आमाको मुत्यु समेत हुन सक्ने हुन्छ । त्यस्तै शिशु कम तौलको हुनु महिना नपुग्दै तथा गर्भमै बच्चाको मृत्यु समेत हुन सक्छ । शरीरका सम्पूर्ण रक्तनली, विशेषगरि पाठेघर मृगौला र मस्तिष्कमा रक्तनलीहरु आवश्यक भन्दा बढी संकुचित भएका कारण उच्च रक्तचाप हुन्छ । यसबाट बच्नका लागि खानपानमा विशेष ध्यान पुर्याउनु पर्छ ।
प्रतिक्रिया