स्वास्थ्य

कोरोना विरूद्धकाे खोप: अक्सफर्ड आस्ट्राजेनेका खोपलाई डब्ल्यूएचओले आपत्‌कालीन अनुमति दिँदा नेपाललाई कस्तो फाइदा ?

15 Shares

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले अक्सफर्ड आस्ट्राजेनेकाको खोपलाई आपत्‌कालीन प्रयोगका लागि सूचीकृत गर्दै कोभ्याक्स अभियानबाट वितरण गर्न अनुमति दिएसँगै त्यसले नेपालमा थप खोप भित्र्याउन बाटो खोल्ने अधिकारीहरूले बताएका छन्।

सोमवार डब्ल्यूएचओले जेनेभामा गरेको उक्त निर्णयले कोभ्याक्स अभियानमा आवद्ध भएर खोप पर्खिरहेका नेपाल जस्ता कैयौँ देशलाई फाइदा पुग्ने ठानिएको छ।

यसअघि कोभिड विरूद्धको खोपको पहुँच विश्वव्यापी बनाउने लक्ष्य लिएको कोभ्याक्सले आफ्नो अन्तरिम खोप वितरण योजनामा सिरम इन्स्टिच्युटमा उत्पादित २२ लाख ५६ हजार खोप नेपाललाई फेब्रुअरी महिनाको अन्त्यबाट उपलब्ध गराउने जनाएको थियो।

डब्ल्यूएचओले फाइजर/बायोएनटेकले एमआरएनए विधि अन्तर्गत विकास गरेको खोपलाई गएको डिसेम्बर ३१ मा आपत्‌कालीन प्रयोगका लागि अनुमति दिएको थियो।

डब्ल्यूएचओको पछिल्लो निर्णयको अर्थ के हो?

सोमवार डब्ल्यूएचओले कोरियाको आस्ट्राजेनेका-एसकेबायो र भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको अक्सफोर्ड आस्ट्राजेनेकाको खोप सूचीकृत भएको जनाएको हो। नियामक निकायले आपत्‌कालीन प्रयोगको अनुमति दिएपछि नेपालले अहिले अनुदानमा प्राप्त भारतमा उत्पादित अक्सफर्ड आस्ट्राजेनेका १० लाख मात्रा खोप स्वास्थ्यकर्मी सहित विभिन्न समुदायलाई वितरण गरिरहेको छ।

डब्ल्यूएचओको निर्णयबारे प्रतिक्रिया दिँदै राष्ट्रिय खोप कार्यक्रमका शाखा प्रमुख डाक्टर झलक गौतम भन्छन्, “डब्ल्यूएचओले सुरक्षा, प्रभावकारिता र गुणस्तरका कुराहरू हेरेर अनुमोदन दिने हो। हामीजस्तो न्यून आय भएका देशहरूमा सबै क्षमता हुँदैन। त्यही भएर डब्ल्यूएचओले गरेको कुरालाई हामी एउटा आधार मान्छौँ। अब हामीजस्ता धेरै मुलुकका लागि खोप सहज बन्छ।”

उनले पछिल्लो निर्णयले कोभ्याक्स अभियानमार्फत खोप हासिल गर्न नेपाललाई सहयोग पुग्ने पनि बताए। डाक्टर गौतम भन्छन्, “उनीहरूले पनि डब्ल्यूएचओले आपत्‌कालीन अनुमति दिएपछि मात्रै पठाउन पाउँछ। अब त्यो पनि प्रक्रियामा जान्छ होला।”

उनले नेपालमा थप खोप छिट्टै आउने अपेक्षा गरिएको उल्लेख गर्दै मिति भने तोक्न नसक्ने उल्लेख गरे।

झण्डै दुई साता अघि सार्वजनिक गरिएको कोभ्याक्स अन्तरिम खोप वितरण योजनामा सिरम इन्स्टिच्युटमा उत्पादित २२ लाख ५६ हजार खोप नेपाललाई फेब्रुअरी महिनाको अन्त्यबाट उपलब्ध गराउन थालिने भनिएको थियो।

कोभिड-१९ विरूद्धका भ्रम चिर्न सूचीकरण महत्त्वपूर्ण

सङ्क्रामक रोग सम्बन्धी अनुसन्धानकर्ता एवम् पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डाक्टर बुद्ध बस्न्यात डब्ल्यूएचओबाट प्राप्त आपत्‌कालीन प्रयोगको अनुमतिलाई खोप विरूद्धका प्रचारसँग जुझ्न प्रयोग गरिनुपर्ने बताउँछन्।

उनले भने, “नेपालमा स्वास्थ्यकर्मीले पनि लगाएनन् भन्ने छ। डब्ल्यूएचओले नै यसलाई सिफारिस गरेको छ र लिनुपर्छ भनेको छ भन्ने कुरा स्वास्थ्यकर्मीको नजरमा राखिदिनुपर्‍यो। खोप विरूद्ध आएका कुरालाई प्रतिकार गर्न सक्नुपर्छ।”

सङ्क्रामक रोग सम्बन्धी एक जना विशेषज्ञ डाक्टर शेरबहादुर पुन अक्सफर्ड आस्ट्राजेनेकाको खोपलाई आपत्‌कालीन प्रयोगका लागि अनुमति दिने निर्णयले खोप लगाउनुपर्ने पक्षमा पैरवी गर्दै आएका व्यक्तिहरूलाई बल दिने बताउँछन्।

उनले भने, “यो निर्णयको प्रभाव परिहाल्छ किनभने डब्ल्यूएचओले सिफारिस नगरिकनै किन खोप लगाउने भन्ने केही मान्छे भइहाल्छन्। नीति निर्माण तहमा भएर खोप लगाउन अप्ठेरो बेहोरिरहेकाहरूले चाहिँ अब यसलाई देखाएर आफ्नो तर्क प्रस्तुत गर्न सक्नुहुन्छ।”

उनले थपे, “अहिले पनि पहिले अरूहरूले लगाउन् अनि हेरौँ भन्ने मानिसहरू धेरै छन्। उच्च पदस्थ वा लोकप्रिय मानिसहरूले खोप लगाउँदा अरूहरूले पनि खोप लगाउँछन् जस्तो मलाई लाग्छ।”

अहिलेसम्म खोप लिनेको सङ्ख्या दुई लाख बढी

पहिलो चरणमा ४ लाख ३० हजार स्वास्थ्यकर्मी र अग्रमोर्चामा खटिने सहयोगीहरूलाई खोप उपलब्ध गराउने लक्ष्य सरकारले राखेको थियो।

खोप अभियान आरम्भ भएको तीन साता पुग्न लाग्दा हालसम्म दुई लाखभन्दा बढीले खोप लगाएका छन्। हालसम्म खोप लिएका व्यक्तिलाई गम्भीर खालका स्वास्थ्य समस्या देखा परेको विवरण आएका छैनन्।

कोभिड-१९ विरूद्धको खोप लगाउने क्रममा विश्वका अन्य देशहरूमा पनि अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीसहित अन्यलाई आकर्षण गर्न चुनौती देखा परिरहेको उल्लेख गर्दै डाक्टर बस्न्यातले सार्वजनिक सहभागितामा जोड दिइनुपर्ने बताए।

उनी भन्छन्,“मानिसहरूलाई सुविधा नजिकै होस् भनेर थप केन्द्रहरू खुल्नुपर्‍यो। अहिले खोप उपलब्ध गराउनु नै ठूलो कुरा हो। सर्वसाधारणलाई खोप महत्त्वपूर्ण छ भनेर बुझाउन सबै क्षेत्रबाट प्रयास हुनुपर्छ।”

दोस्रो मात्राको खोप आठ देखि १२ हप्ता भित्र लिनुपर्ने

यसअघि अक्सफर्ड आस्ट्राजेनेकाको खोप पहिलो मात्रा लिएको चारदेखि छ हप्तापछि दोस्रो मात्रा लिनुपर्ने भनिएको थियो। तर पछिल्लोपटक उपलब्ध तथ्याङ्कका आधारमा उक्त समयलाई ८ देखि १२ हप्ताको बीचमा पुर्‍याउन डब्ल्यूएचओले सिफारिस गरेको अधिकारीहरू बताउँछन्।

राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष डाक्टर रमेशकान्त अधिकारीले भने, “फेब्रुअरीको ८ मा डब्ल्यूएचओको विज्ञ समितिले जूममार्फत हामीलाई पनि बोलाएर यसबारेको प्रस्तुती दिएका थिए। सुरुमा कम समयको तथ्याङ्क भएकाले उत्पादक कम्पनीले पहिलो खोप लिएको चार हप्तापछि दोस्रो मात्रा लिन भन्यो। अहिले त्यसबारे थप सूचना र जानकारी प्राप्त भइरहेको छ। साढे तीन महिनाको तथ्याङ्क हेर्दा चारदेखि छ हप्ताभन्दा आठदेखि १२ हप्ताभित्र लिनु नै उपयुक्त हो भन्ने कुरा आएको छ। अब आठ हप्तापछि गर्नु भनेर हाम्रो निर्देशिकामा पनि परिवर्तन हुँदैछ।”

उनी थप्छन्, “अहिले खोप लगाइसकेका व्यक्तिहरूले अब यसअघि बोलाएको एक महिनापछि नभइ आठ र १२ हप्ताको बीचमा जहिले गएपनि हुन्छ। खोपकार्डमा त्यो कुरा छाप्न भनेर तयारी भइसकेको मैले बुझेको छु।”

डब्ल्यूएचओको पछिल्लो निर्णयमा के छ?

आफ्नो पछिल्लो निर्णयले विभन्न देशका नियामक निकायहरूलाई सूचीकृत गरिएको खोपको प्रयोगलाई अनुमति दिने प्रक्रियामा गति दिन सहयोग पुग्ने विश्वास डब्ल्यूएचओले गरेको छ।

त्यसबाहेक हालसम्म खोपको पहुँच नपुगेका देशहरूले कोभ्याक्स अभियानमार्फत् अक्सफर्ड आस्ट्राजेनेका खोप प्राप्त गर्न पछिल्लो निर्णयले बाटो खोल्ने ठानिएको छ।

अक्सफर्ड-आस्ट्राजेनेकाको खोपका हकमा गुणस्तर, सुरक्षा, प्रभावकारिताको तथ्याङ्क, जोखिम व्यवस्थापनको योजना र तापक्रम व्यवस्थापन जस्ता मानकहरूलाई ध्यान दिएर निर्णय गरिएको डब्ल्यूएचओको भनाइ छ।

चार हप्ता लगाएर उक्त निर्णयमा पुगेको डब्ल्यूएचओको खोप सम्बन्धी रणनीतिक विज्ञ सल्लाहकार समूह (सेज) ले १८ वर्ष भन्दा माथिको उमेर समूहलाई उक्त खोप दिनसकिने सुझाव दिएको थियो।

अक्सफर्ड-आस्ट्राजेनेका खोप ६३ दशमलव ०९ प्रतिशत प्रभावकारी पाइएको र सहज किसिमको तापक्रम मापदण्ड भएकाले गरिब र मध्यम आय भएका देशहरूका लागि यो उपयोगी रहेको भनिएको छ।

डब्ल्यूएचओको वेबसाइटका अनुसार कुनै पनि खोपले आपत्‌कालीन प्रयोगको अनुमति पाएपछि उक्त सङ्गठनले उसको सञ्जाल र साझेदारमार्फत् विभिन्न देशका राष्ट्रिय स्वास्थ्य निकायहरूलाई खोप र त्यसको पछिल्लो अध्ययनले देखाएका सम्भावित लाभबारे जानकारी गराउने गर्छ।बीबीसीबाट

प्रकाशित: ५ फाल्गुन २०७७ ०८:१६ बुधबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी