आठ मुलुकका राष्ट्र प्रमुखले लगाए चिनियाँ खोप

आठ मुलुकका राष्ट्र प्रमुखले लगाए चिनियाँ खोप


चीनमा विकास गरिएको कोरोनाविरुद्धको खोप आठ देशका राष्ट्र तथा सरकार प्रमुखले लगाएका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले कम्तीमा त्यस्ता आठ जनाले चिनियाँ खोप लगाएको शुक्रबार दावी गरेका हुन् । 

प्रवक्ता होउ चुन्निङले पत्रकार सम्मेलनमा खोप लगाउने राष्ट्र तथा सरकार प्रमुखहरूको विवरण प्राप्त भएको जानकारी दिए । तर उनले चिनियाँ खोप लगाएका राष्ट्र प्रमुख तथा सरकार प्रमुखको नाम भने उल्लेख गरेन । 

सञ्चार माध्यमहरूमा आएका विवरणहरुमा चिनियाँ खोप विश्वसनीय, प्रभावकारी र उपयोगी भएकाले उनीहरुले प्रयोग गरेका उल्लेख गरिएको उनले बताए । 

खोप विकास गर्ने क्रममा कतिपय पश्चिमा देशहरू र चीनका बीचमा प्रतिस्पर्धा पनि भएको थियो । त्यसमा चीनले पनि सफलता हासिल गरेको प्रवक्ता चुन्निङको दावी छ । 

उनले महामारीकै बीचमा पनि चीनले धेरै देशहरूलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराएर सहयोग गरेको जानकारी दिए । चिनियाँ खोप प्रयोग गरेका देशमा चिनियाँ खोप उपयुक्त भएको प्रतिक्रिया पाएको पनि उनले बताए । 

कतिपय देशहरूले चीनबाट खोप लैजानका लागि चार्टर विमान पनि पठाउने गरेको उनले पत्रकारहरूलाई जानकारी दिए । कतिपय राष्ट्र तथा सरकार प्रमुखहरूले व्यक्तिगत रूपमा पनि चिनियाँ खोपको माग गर्ने गरेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चुन्निङले बताए । 

खोपको उपलब्धता र प्रभावकारीताका कारण अन्तर्राष्ट्रिय जगतमा चीनको प्रभाव फेरि बढेको चिनियाँ अधिकारीहरूले बताएका छन् । 

Logo