चार लाख ३० हजार जनाले लगाए खोप

चार लाख ३० हजार जनाले लगाए खोप


सरकारले कोभिड–१९ विरुद्धको खोप पहिलो चरणको  अभियानअन्तर्गत करीब चार लाख ३० हजार जनाले खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले पहिलो चरणको अभियानअन्तर्गत दुई पटक सञ्चालन भएको खोपमा चार लाख २९ हजार ७०५ जनालाई खोप प्रदान गरिएको जानकारी दिए ।

सरकारले भारत सरकारबाट अनुदानमा प्राप्त गरेको ‘कोभिशिल्ड’ खोप १० लाख मात्रा पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाएको थियो । मन्त्रालयले पहिलो प्राथमिकता परेका व्यक्तिलाई माघ १४ देखि २४ गतेसम्म पहिलो चरण र फागुन २ देखि १० गतेसम्म दोस्रो चरणको खोप लगाएको थियो ।

उनले पहिलो चरणमा एक लाख ८९ हजार ३४५ जनालाई खोप र दोस्रो चरणमा दुई लाख ४० हजार ३६० जनालाई खोप प्रदान गरिएको बताए । उनका अनुसार पहिलो अभियानको खोप ८५.६५ प्रतिशत उपलब्धि हासिल गरिएको छ । मन्त्रालयले पहिलो अभियानमा पाँच लाख सात हजार ६०६ जनालाई खोप लगाउने योजना बनाएको थियो ।

उनले नेपालको कूल जनसङ्ख्याको १.४ प्रतिशतलाई खोप प्रदान गरिएको बताए । पहिलो चरणमा १८९ खोप केन्द्र र दोस्रो चरणमा २२२ खोप केन्द्रबाट खोप प्रदान गरिएको थियो । 

मन्त्रालयले यही फागुन २३ गतेदेखि दोस्रो चरणको खोप अभियानअन्तर्गत ५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्दैछ । खोप अभियान सञ्चालनका लागि भारतबाट १० लाख मात्रा खोप नेपाल आइसकेको छ । 

Logo