कोरोना संक्रमण कायम रहेको भन्दै जुलुस र भीडभाड नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

कोरोना संक्रमण कायम रहेको भन्दै जुलुस र भीडभाड नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सभा, जुलुस र भीडभाड नगर्न सबैमा आग्रह गरेको छ। छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि त्यसको असर नेपालमा पनि पर्न सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको हो। 

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबार विज्ञप्ति जारी गर्दै भारतमा कोरोना भाइरस सङ्क्रमण बढ्दो क्रममा रहेकाले नेपालमा पनि सङ्क्रमण बढ्न सक्ने भन्दै सचेत हुन आग्रह गरेका हुन्। सङ्क्रमित बढ्न सक्ने भएकाले सभा, गोष्ठी, जुलुस, र्याली, भेला, जमघट, सेमिनार, बैठक तथा भीडभाड हुने व्यवसायिक कार्यहरु नगर्न विज्ञप्तिमा उल्लेख छ। भौतिक दूरी कायम राख्न, मास्कको अनिवार्य प्रयोग गर्न, साबुनपानीले राम्रोसँग हात धुन, स्यानिटाइजरको प्रयोगलगायत मापदण्डको अनिवार्यरुपमा पालना गर्न मन्त्रालयले विज्ञप्तिमार्फत सबैमा अनुरोध गरेको छ। 

भारतमा पछिल्लो समय एकै दिन ४३ हजारभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। नेपालमा विगत २४ घण्टामा ७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार ९०६ पुगेको छ। हालसम्म कोरोनाबाट तीन हजार १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

Logo