स्वास्थ्य वाग्मती

बाह्र जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै

15 Shares

सरकारले आजदेखि देशका १२ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउँदै छ ।

हात्तीपाइले रोग मानिसलाई शारीरिक रुपमा अशक्त तथा अपाङ्ग बनाउने सरुवा रोग हो । यसविरुद्ध हरेक वर्ष अभियान नै चलाए पनि नियन्त्रण हुन सकेको छैन । हात्तीपाइले विरुद्धको औषधिले असर गर्छ भन्ने भ्रमका कारण धेरैले औषधि खान नमान्दा अभियान प्रभावकारी हुन सकेको छैन । 
    
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जोखिममा रहेका १२ जिल्लामा हात्तीपाइले रोगबाट बच्नका लागि ‘डाइथाइल कार्बामाजिन’ (डिइसी) र जुकाको औषधि ‘अल्वेन्डाजोल’ नामक दुई औषधि आजदेखि खुवाइँदै छ । 

चिकित्सकका अनुसार डिइसीले रगतमा रहेको परजीवी जुकालाई र ‘अल्वेन्डाजोल’ले पेटमा रहेको जुकालाई मार्ने गर्दछन् । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले हात्तीपाइले जोखिम रहेका झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलबस्तु, दाङ, बाँके, बर्दिया र कैलाली जिल्लाका १२९ स्थानीय तहका ७० लाख ४५ हजार व्यक्तिलाई औषधि खुवाइँदै गरेको बताए ।
 
औषधि खुवाउनका लागि पाँच हजार ४०० स्वास्थ्यकर्मी र नौ हजार ५०० महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ । दश दिनसम्म स्वास्थ्यकर्मी स्थानीयवासीको घरघरमा पुगेर औषधि खुवाउने उनले जानकारी दिए । उनले निर्धक्क भएर औषधि खान सबैलाई आग्रहसमेत गरे । 
    
नेपालमा हात्तीपाइले रोग नियन्त्रणका लागि सरकारले सन् २००९ देखि ती औषधि खुवाइरहेको छ । हात्तीपाइले रोग सङ्क्रमति पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो रोग लागेपछि मानिसलाई शारीरिकरूपमा अशक्त, असमर्थ र अपाङ्ग बनाउने गर्दछ । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीले मानिसको शरीरमा प्रवेश गरेपछि हुने गर्दछ । परजीवी प्रवेश गरेको केही वर्षपछि मात्र यो रोगको लक्षण देखिने गर्दछ । 

हात्तीपाइले रोगको लक्षण देखिसकेपछि निको पार्न नसक्ने भएकाले रोग लाग्न नदिन नै यस रोगबाट बच्न उत्तम उपाय रहेकाले औषधि खुवाउन थालिएको हो । हात्तीपाइले रोग सुरूको अवस्थामा नरम वा थिच्दा थिचिने खालको सुन्निने गर्दछ भने पछिल्लो अवस्थामा छाला बाक्लो हुँदै नथिचिने खालको हुँदै जाने, ठूलो खालको सुन्निने, छालमा पत्र हुँदै जाने वा गाँठागुँठी पलाउन थाल्ने र सुन्निएको अङ्गमा मुसा पलाउने र घाउ हुँदै जाने गर्दछन् । 

विश्व स्वास्थ्य सङ्गठनसँगै नेपालले पनि सन् २०३० सम्म औषधि सेवनमार्फत यस रोगलाई निवारण गर्ने लक्ष्य लिएको छ । वर्षको एक पटकका दरले छ वर्षसम्म नियमित औषधि सेवन अभियान सञ्चालन गर्ने र रोग सर्ने प्रक्रियालाई रोकिने लक्ष्य लिइएको महाशाखाका निर्देशक डा पौडेलले बताए । 
    
दुई वर्ष उमेर नपुगेको बालबालिका, गर्भवती र सात दिनसम्म सुत्केरी तथा सिकिस्त बिरामीले हात्तीपाइले रोगविरुद्धका ती औषधि सेवन गर्नुहुँदैन । हात्तीपाइले विरुद्धको औषधिले केहीलाई रिँगटा लाग्ने, ज्वरो आउने र वाकवाकी लाग्ने जस्ता लक्षण देखिए पनि केही समयपछि यो समस्या हट्ने निर्देशक डा पौडेलले बताए । नेपालमा अझै पनि झण्डै ३० हजार हात्तीपाइलेका बिरामी रहेको अनुमान छ । रासस

प्रकाशित: २० चैत्र २०७७ १५:५३ शुक्रबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी