अब ७५ जिल्लामा स्वास्थ्य बीमा

अब ७५ जिल्लामा स्वास्थ्य बीमा


नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डले थप ६ जिल्लामा कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

पाँचौ स्वास्थ्य बीमा दिवसको अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा सरकारले थप ६ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको हो । बुधबारबाटै स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुनेगरी ताप्लेजुङ, बारा, सर्लाही, दोलखा, मनाङ र मुस्ताङमा कार्यक्रम सुरु गरिएको छ । स्वास्थ्य बीमा सेवालाई नेपाल सरकारले सञ्चालनमा ल्याएको नागरिक एपमा पनि समावेश गरिएको छ । 

कार्यक्रम शुभारम्भ गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्यबीमा कार्यक्रमलाई नेपाल सरकारले धेरै नै महत्व दिएको बताए । उनले स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सबै कर्मचारी पदाधिकारी लाग्नुपर्नेमा जोड दिए । विद्यमान स्वास्थ्य सेवा प्रणालीका सबै समस्या एकैपटक समाधान गर्न नसकिने भन्दै मन्त्री त्रिपाठीले कार्यक्रमबाट पछाडी फर्कने विकल्प नरहेको बताए ।

मन्त्री त्रिपाठीले स्वास्थ्य बीमामा सहभागी भएका बिमितहरुको सेवा सुविधामा हेलचेक्र्याइ नगर्न सचेत गराए । स्वास्थ्य बीमाका बिमितहरुलाई दिइने सेवा सुविधालाई बोझको रुपमा नहेर्न उनले चेतावनी  दिएका छन् ।

नेपाल सरकारले २०७२ चैत्र २५ देखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो । पहिलो कार्यक्रम कैलाली जिल्लाबाट सुरु गरिएको थियो । थप ६ जिल्लामा विस्तार भएसँगै स्वास्थ्य बीमा कार्यक्रम आजबाट ७५ वटा जिल्लामा लागू भएको छ । यो कार्यक्रममा सहभागी भएका बिमितहरुले औषधी र उपचार सेवामा सहुलियत पाउनेछन् । ५ जनासम्मको परिवार भएको बिमितले प्रतिबर्ष ३ हजार ५ सय रुपैँया प्रिमियम शुल्क तिरेमा स्वास्थ्य बीमा कार्यक्रमको सम्पूर्ण सुविधा लिन पाउछन् । आज थपिएका ६ जिल्ला बाहेक ६९ वटा जिल्लामा करिब ३७ लाख ४२ हजार ६ सय जना बीमा कार्यक्रममा सहभागी भइसकेका छन् । 

Logo