इ–सिगरेटसँगै सामान्य सिगरेट अझ हानिकारक

इ–सिगरेटसँगै सामान्य सिगरेट अझ हानिकारक


इ–सिगरेटसँगै सामान्य सिगरेट सेवन गर्नेहरुले सावधानी अपनाउनु पर्ने भएको छ। यसो गर्नु घातक हुने देखिएको छ। यसले श्वास प्रश्वासको रोग हुने खतरा देखिएको छ। हालै भएको नयाँ अध्ययनमा उक्त  कुरा प्रमाणित भएको छ। यसरी धुम्रपान गर्दा कफ तथा दम फुल्ने जस्ता श्वास प्रश्वासको रोग हुने सम्भावना रहन्छ।

अमेरिकन जर्नल अफ रेस्पिरेटरी एण्ड क्रिटिकल केयर मेडिसिनले सो कुरा प्रकाशमा ल्याएको हो । शोधकर्ताका अनुसार कतिपय मानिसहरु परम्परागत सिगरेट छोड्नका लागि इ–सिगरेट प्रयोग गर्ने गर्छन् । तर पछि भने उनीहरु यी दुवै सिगरेट सेवन गर्न थाल्छन्।

अमेरिकाको म्यासाचुसेट्स जनरल हस्पिटलका शोधकर्ताहरुले गरेको अध्ययनमा इ–सिगरेट तथा पारम्परिक सिगरेट दुवै एकसाथ सेवन गर्दा श्वास प्रश्वास सम्बन्धी समस्या बढ्ने देखिएको छ।

यो निष्कर्ष झण्डै २१ हजार मान्छेको तथ्यांक विश्लेषणको आधारमा गरिएको हो। यसमा सहभागी ११.८ प्रतिशत इ–सिगरेट तथा १७.१ प्रतिशत पारम्परिक सिगरेट सेवन गर्नेहरु थिए। दुवै सिगरेट सेवन गर्ने भने १९.७ प्रतिशत रहेका थिए।

शोधकर्ताका अनुसार पारम्परिक सिगरेटका साथ इ–सिगरेट सेवन गर्नेमा श्वास प्रश्वास सम्बन्धी समस्या १.९ गुणा ज्यादा देखियो। जबकि पारम्परिक सिगरेट सेवन गर्नेको तुलनामा केवल इ–सिगरेट प्रयोग गर्नेमा यो खतरा १.२४ प्रतिशत अधिक पाइयो।

म्यासाचुसेट्स जनरल हस्पिटलका शोधकर्ता कृष्णा रेड्डीका अनुसार मानिसहरुलाई धुम्रपान छोड्नका लागि अभिप्रेरित गर्नुपर्ने देखियो। साथै इ–सिगरेटका साथ सामान्य सिगरेट सेवन गर्नु अझ हानिकारक देखिएकाे छ।

Logo