चितवनमा घरघरमा एआरभी

चितवनमा घरघरमा एआरभी


कोभिडको उच्च जोखिममा रहेका एचआईभी पोजेटिभहरूलाई घरघरमै औषधि पुर्‍याउने व्यवस्था गरिएको छ । भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउण्डेसन नेपाल क्षेत्रीय कार्यालय भरतपुरले एआरभी औषधि नियमित सेवन गर्ने बिरामीका लागि घरघर औषधि पुर्‍याउँदै आएको हो ।

यस कार्यालयमा नियमित औषधि सेवन गर्ने एक हजार छ जना रहेका छन् । जस मध्ये ४५ जना बालबालिका रहेका छन् । औषधि सेवन गर्दै आएका मध्ये ३० प्रतिशतले अस्पतालमानै आएर औषधि लैजाने गरेका छन् भने बाँकी ७० प्रतिशतलाई घरमानै पुर्‍याउने व्यवस्था गरिएको कार्यालयका प्रमुख कृष्णहरि सापकोटाले जानकारी दिए ।

उनका अनुसार अहिले भरतपुर महानगरपालिका र आसपासका पालिकाहरुबाट अस्पतालमा औषधि लिन आउने गरेको भए पनि टाढा टाढा कार्यालयलेनै पुर्‍याउँदै आएको छ ।

यसका लागि सहभागी, चितवन सक्रिय महिला प्रतिष्ठान र लुम्विनी प्लस नामक संस्थाले सहयोग गरेका छन् । कार्यालयका तर्फबाट कर्मचारी धिरण अधिकारीले औषधि पुर्‍याउँदै आएका छन् ।  यस कार्यालयले चितवन, मकवानपुर, वर्दघाट-सुस्ता पूर्व नवलपरासी, वर्दघाट-सुस्ता पश्चिम नवलपरासी, गोरखा, लम्जुङ्, तनहुँ र धादिङ्का सङ्क्रमितहरुलाई घरमानै औषधि पुर्‍याउने गरेको छ ।

उनले भने, ‘निषेधाज्ञा सुरु भएदेखि अहिलेसम्म ३ सय ९० जनालाई घरमानै औषधि पुर्‍याएका छौं,’  नजिकका भए एक महिनाको लागि र टाढाका भए दुई महिनाको लागि औषधि पुर्‍याउँदै उनले जानकारी दिए ।

औषधि वितरणका लागि भरतपुर अस्पतालले सहजिकरण गरेको औषधि पुर्‍याउँदै आएका अधिकारी बताउँछन् । उनले भने,  ‘एचआइभी एड्स संक्रमितहरूलाई घरमा औषधि पुर्‍याउनका लागि भरतपुर अस्पतालको ठूलो सहयोग रहेको छ,’ परिचय पत्र निर्माणदेखि स्थानीय प्रशासनसँग समन्वय गर्ने काम अस्पतालले गरिदिएको उनले बताए ।

कोरोना कहरका कारण अस्पतालमा आएर औषधि लिन नसक्ने एचआइभी संक्रमितहरू घरमै औषधि पाउँदा लाभान्वित छन् । फाउण्डेसनमा दर्ता भएका १ हजार ५ सय ८५ जना संक्रमित रहेका छन् । उनीहरू मध्ये कतिपयले अन्य केन्द्रबाट औषधि लिँदै आएका छन् ।

Skip This
Logo