अटोमोबाइल क्षेत्रका कर्मचारीलाई खोप उपलब्ध गराउने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको आश्वासन

अटोमोबाइल क्षेत्रका कर्मचारीलाई खोप उपलब्ध गराउने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको आश्वासन


नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले अटोमोबाइल क्षेत्रमा संलग्न व्यवसायी, कर्मचारी, टेक्निसियन र देशैभर छरिएर रहेका श्रमिकहरुको लागि खोप उपलब्ध गराउन स्वास्थ्य राज्यमन्त्रीसँग माग गरेको छ । 

नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वको टोलीले नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई बुधबार मन्त्रालयमा भेट गरी खोप उपलब्ध गराउन माग गरेको हो ।
कोभिड १९ को कारण नेपालको समग्र अटोमोबाइल व्यवसाय नै समस्यामा परेको र यसको प्रत्यक्ष प्रभाव सरकारले अटोमोबाइल क्षेत्रबाट प्राप्त गर्ने राजश्वमा समेत परेको भेटका क्रममा उपाध्यक्ष चौधरीले विचार राखे । 

सरकारले लगाएको निषेधाज्ञा अहिले केही खुकुलो भएपनि नेपालको अटोमोबाइल क्षेत्रका व्यवसायी, कर्मचारी, टेक्निसियन र देशैभर छरिएर रहेका श्रमिकहरु खोपको अभावमा आफनो कार्यक्षेत्रमा जान सकिरहेका छैनन्,’ उपाध्यक्ष चौधरीले भने, ‘खासगरी व्यवसायको फ्रण्टलाइनमा बस्ने कर्मचारी र श्रमिकहरुलाई धेरै समस्या भएको छ ।’

छलफलको क्रममा राज्यमन्त्री श्रेष्ठले अटोमोवाइल क्षेत्रका व्यवसायीलाई खोप उपलब्ध गराउन सक्दो प्रयास गर्ने आश्वासन दिएका छन् ।

नाडाको प्रतिनिधि मण्डलले स्वास्थ्य तथा जनसंख्या सचिव लक्ष्मण अर्यालसंग पनि भेट गरेर आवश्यक खोप उपलब्ध गराई दिन आग्रह गरेका छन्। सचिव अर्यालले निजी क्षेत्रले समेत खोप आयात गरी वितरण गर्न सकिने व्यवस्था भएकाले त्यसका लागि प्रयास गर्न आग्रह गरे । अनलाइनबाट खोपको फारम भरेर पठाउन सकिने व्यवस्था भएकाले सो भर्न समेत जानकारी दिए ।

छलफलमा नाडाका कोषाध्यक्ष सुरेन्द्र कुमार उपे्रती, सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय सदस्यहरु नीलमणि पाठक, मिलनबाबु मल्ल, दीपक अग्रवाल र पंकज अग्रवालको उपस्थिति रहेको महासचिव सुनिल रिजालले जनाए ।

 

Logo