दैनिक बढ्दै कोरोना संक्रमितको ग्राफ

दैनिक बढ्दै कोरोना संक्रमितको ग्राफ


नेपालमा पछिल्लो साता कोरोना संक्रमितको सख्या ह्वात्तै बढेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार बिहिबार मात्रै ३ हजार ३६५ जना कोरोना संक्रमित थपिएका छन्। 

यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या ३० हजार ३९० रहेको छ। कुल संक्रमितको संख्या पिसिआर परीक्षणबाट ६ लाख ९० हजार ६४२ जना र एन्टीजेन परीक्षणबाट ५९ हजार ३८० जना पुगेको छ। 

पछिल्लो २४ घन्टामा १६ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ८०७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३७३ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५० हजार ४४५ पुगेको छ।

यस्तै विश्वभरिको तथ्यांकले पनि कोरोनाभाइरसबाट संक्रमितको साप्ताहिक संख्या बढ्दै गएको देखाएको छ। यही जुलाई १७ देखि २५ सम्मको एक सातामा त्यसको अघिल्लो साताको तुलनामा ८ प्रतिशत बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यस साता ३८ लाख मानिस कोरोनाभाइरसबाट संक्रमित भएका थिए।

संयुक्त राष्ट्रसंघको स्वास्थ्यसम्वन्धी निकायको रुपमा रहेको विश्व स्वास्थ्य सङ्गठनले कतिपय क्षेत्रमा ३० प्रतिशतसम्म संक्रमितको संख्यामा बृद्धि भएको जनाएको छ । पछिल्लो साता दैनिक विश्वभरी पाँच लाख ४० हजार सङ्क्रमित भएका छन् । त्यसअघि चार लाख ९० हजार औसतमा दैनिक संक्रमित भएको डब्लएचओको भनाई छ ।  

त्यसैगरी अघिल्लो साताको तुलनामा गत साता मृत्यु भएकाहरुको संख्यामा पनि केही बृद्धि भएको डब्लुएचओका अधिकारीहरुले जनाएका छन् । डब्लुएचओले विश्वका १३२ देशमा कोरोनाभाइरसको डेल्टा भेरियन्ट फैलिएको पनि जानकारी दिएको छ । त्यसैगरी अल्फा भेरियन्ट १८२ देशमा, बेटा भेरियन्ट १३१ देशमा र गाम्मा भेरियन्ट ८१ देशमा पुगेको पनि डब्लुएचओले जनाएको छ ।  

सङ्क्रमितहरुको कुल सङ्ख्याका आधारमा अमेरिका सवैभन्दा अगाडि रहेको छ भने भारत, ब्राजिल, रुस, फ्रान्स, बेलायतलगायतका देशहरुले क्रमशः अमेरिकालाई पछ्याइरहेका छन् । कतिपय देशहरुमा कोरोनाभाइरसको चौथो चरणको महामारी समेत सुरु भएको छ । 

उता ब्राजिलमा कोभिड १९ बाट हुने मृत्यु अझै पनि घट्न सकेको छैन । त्यहाँका अधिकारीहरुका अनुसार पछिल्ला केही दिनमा कोभिडबाट हुने मृत्यु बढ्दै गएको छ । कोभिड १९ बाट धेरै प्रभावित देशहरुको सूचीमा रहेको ब्राजिलमा २४ घण्टामा कोरोना भाइरसबाट कम्तीमा पनि एक हजार ३४४ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

Logo