१० असोज २०७८ आइतबार

खोप लगाएका संक्रमितले पनि सार्न सक्छन् तीव्र गतिमा कोरोना

नेपालमा कोरोना भाइरस संक्रमितको ग्राफ फेरि उकालो लाग्न थालेको छ। सरकारले उपत्यकासहितका विभिन्न ठाउँमा निषेधाज्ञा सहज बनाएसँगै दैनिक संक्रमितको संख्या बढ्दै गएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्दै आएको तथ्याङ्कअनुसार दुई साताअघि दैनिक २ हजार ५ सय हाराहारीमा संक्रमित थपिँदै आएकामा हाल संक्रमितको संख्या बढेर झन्डै चार हजारसम्म पुग्न थालेको छ।

नेपालमा मात्र नभएर विश्वभर प्रतिसाता आठ प्रतिशतका दरले कोरोना संक्रमित बढिरहेका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पुष्टि गरेको छ। डब्लुएचओले संक्रमण जुनसुकै बेला पनि घातक हुन सक्ने भन्दै स्वास्थ्य मापदण्डसहितको जीवनयापनका लागि विशेष जोड दिँदै आएको छ।  

यता, नेपालमा दैनिक संक्रमितको संख्या बढ्दै जाँदा आमसर्वसाधारणमा संक्रमणको त्रास बढ्नुका साथै अस्पतालमा फेरि बिरामीको चाप बढ्न थालेको छ। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, शिक्षण अस्पताल महाराजगन्जलगायत कोभिड अस्पतालमा बिरामीको चाप बढ्दै गएको हो।

पछिल्लो तथ्याङ्कअनुसार टेकु अस्पतालमा मात्रै जनरल वार्डमा ७२ जना, आइसियुमा २२ जना, ३५ जना कोभिड वार्डमा, ८ जना स्पेसल क्याबिनमा र ७ जना आकस्मिक कक्षमा उपचाररत रहेको अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले जानकारी दिए। उपत्यकाका अन्य अस्पतालको अवस्था पनि यस्तै हुन सक्ने डा. बास्तोलाको आँकलन छ। 

पछिल्लो तथ्याङ्क हेर्दा टिचिङ अस्पतालमा पनि बिरामीको संख्या बढ्दै गएको छ। सोमबारको तथ्याङ्क हेर्ने हो भने जनरल वार्डमा ८५, कोभिड आइसियु तथा भेन्टिलेटरमा १८ जना, अक्सिजन सपोर्टमा ११ जना र आकस्मिक कक्षमा ११ जना उपचाररत छन्। 

विशेष गरी निषेधाज्ञा खुकुलो बनाउँदै लैजाँदा मानिसले स्वास्थ्य मापदण्डमा हेलचक्र्याइँ गरेको र खोप लगाउने क्रम जारी रहेकाले अझै जोखिम कायमै रहेको तथा संक्रमण दर बढ्दै गएको डा. बास्तोला बताउँछन्।  

अहिले तेस्रो लहरमा संक्रमित नभएका र खोप नलगाएको समूह सबैभन्दा जोखिममा रहेको बताउँछन् शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन। पहिलो लहरमा संक्रमित भएका र दुवै डोज खोप लगाएकाहरूमा पनि संक्रमण पुष्टि भइरहेको पुनको भनाइ छ। संक्रमण भएको लामो समयपछि उनीहरूमा पुनः संक्रमण देखिन थालेको हो। ‘डेल्टा’ र ‘डेल्टा प्लस’ भेरियन्टबाट संक्रमित नभएका समूहले त अहिलेको अवस्थामा विशेष सावधानी अपनाउनुपर्ने र जतिसक्दो भ्याक्सिनमा जोड दिनुपर्ने डा. पुनको सुझाव छ।

अझ महत्वपूर्ण विषय चाँहि खोप लगाएकाहरूमा भाइरल लोड उच्च देखिएको विभिन्न अनुसन्धानले देखाएको डा.पुन बताउँछन्। भन्छन्, ‘अनुसन्धानबाट के पुष्टि भइरहेको छ भने, खोप लगाएकाहरूमा संक्रमण देखिए पनि उनीहरूमा ‘क्रिटिकल’ समस्या नदेखिन सक्छ, तर ‘भाइरल लोड’ धेरै हुँदा अरुलाई सार्न सक्ने सम्भावना बढी हुन्छ।’

यता, अस्पतालका बेड भरिँदै जाँदा फेरि पनि सरकारले निषेधाज्ञाबारे सोच्नुपर्ने सुझाव दिन्छन् अस्पतालका निर्देशक डा. बास्तोला। ‘अस्पतालले विरामीको चाप धान्न नसक्ने अवस्था आयो भने सरकारले निषेधाज्ञाबारे पुनर्विचार गर्नुपर्छ,’ उनले भने।

डा. बास्तोलाले भनेझैं कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले शुक्रबारको निर्देशक समितिको बैठकमा स्मार्ट लकडाउन प्रस्ताव अघि सारिसकेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकमा सीसीएमसीले स्मार्ट लकडाउनलाई वैज्ञानिक र व्यावहारिक हुने गरी अवधारणाका रूपमा व्याख्या गरेको हो। संक्रमण बढी भएका जिल्ला वा स्थानीय तहले नै लकडाउन गर्न सक्ने अवधारणाको प्रस्ताव सीसीएमसीले गरेको हो।

तर, अघिल्ला गल्ती र कमजोरीलाई सुधार नगर्ने हो भने नेपालका लागि निषेधाज्ञा संक्रमण रोक्न वा न्यूनीकरणका लागि भन्दा ‘पोष्टपोन्ड’का लागि मात्र हुने बताउँछन् डा. पुन। ‘हामीले यसअघि पनि निषेधाज्ञा गरेका हौं तर, कुनै ठूलो उपलब्धि देखिएन। जब खुल्छ, संक्रमणदर बढ्छ। त्यसैले हाम्रो लकडाउडन÷निषेधाज्ञा संक्रमण न्यूनीकरणभन्दा पनि ‘पोष्टपोन्ड’ जस्तो देखियो।’ 

‘हिजो निषेधाज्ञा गरियो, संक्रमण रोकियो । खोलियो, ह्वारर्र पुनः संक्रमण बढ्यो । यो अवस्थाले हाम्रो निषेधाज्ञा ‘पोष्टपोन्ड’ भयो,’ डा. पुन थप्छन्, ‘निषेधाज्ञा भनेको महामारीबाट बाँच्नका लागि तयारीको समय हो तर, हाम्रोमा केही काम गरिएन।’ समयमा काम नगर्ने तर संक्रमण दर बढ्यो निषेधाज्ञा गर्ने, अनि घटेपछि खुला गर्नु वैज्ञानिक नहुने उनको तर्क छ। 

अब, के पुनः नेपालमा संक्रमितको अवस्था पहिलेकै अवस्थामा अर्थात् दैनिक ९÷१० हजारको गतिमा पुग्ने सम्भावना छ त? डा. पुन भन्छन्, ‘सम्भावित तथ्याङ्कका बारेमा त यसै भन्न सकिँदैन तर, दोस्रो वेबमा संक्रमित हुनेको संख्याले अबको संक्रमण दर निर्भर गर्छ,’ उनी थप्छन्, ‘सेकेन्ड वेभमा जति धेरै संख्यामा संक्रमण फैलियो, त्यति नै कम संक्रमण पुष्टि हुन्छ। र, हिजो कम जनसंख्यामा संक्रमण भएको छ भने अब पहिलेको अवस्थामा नै संक्रमण दर पुग्न सक्छ।’

तथापि, नेपालमा भाइरस संक्रमणको अवस्था (प्रिभ्यालेन्स) कस्तो छ भन्ने यकिन नभएकाले अबको अवस्था कस्तो हुन्छ भन्नेबारे यसै भन्न नसिकिने डा. पुन बताउँछन्।

छुटयो कि ?

प्रकाशित: १९ साउन २०७८ १४:४४ मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी