विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमितता गर्नेलाई कार्वाही गरिन्छः राज्यमन्त्री श्रेष्ठ

विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमितता गर्नेलाई कार्वाही गरिन्छः राज्यमन्त्री श्रेष्ठ


स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमिततामा संलग्नमाथि कारवाही गर्ने प्रतिवद्धता जनाएका छन्।

संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा राज्यमन्त्री श्रेष्ठले सिनेट बैठक बोलाएर छानवीन समिति गठन गरी कारबाही प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । उनले सिनेटको बैठक नबसी दोषीमाथि कारबाही गर्ने अवस्था नभएकाले सरकारले छिट्टैै सिनेटको बैठक बोलाउन लागेको जानकारी पनि दिए । छानवीन समितिले दिएको प्रतिवेदनको आधारमा दोषीमाथि कारबाही हुने उनको भनाइ थियो । 

राज्यमन्त्री श्रेष्ठले जनस्वास्थ्यजस्तो संवेदनशील विषयमा खेलबाड गर्नेहरुमाथि कडा कारबाही गर्न सरकारले मन्त्रालयमा छुट्टै अनुगमन इकाई बनाउन लागेको पनि जानकारी दिए । 

बैठकमा समितिका सदस्यहरुले जनस्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हड्ताल गर्ने कर्मचारीमाथि कडा कारबाही गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । समितिका सदस्य एवम् पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले आन्दोलन गरेर प्रतिष्ठानलाई बन्द गराउने कर्मचारीमाथि कडा कारबाही गर्न ध्यानाकर्षण गराए । 

समितिका अर्का सदस्य एवम् पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिष्ठानका उपकूलपतिलाई दिइएको असीमित अधिकार तत्काल कटौती गर्न सरकारलाई सचेत गराए । 
 

Logo