निपा भाइरसको संक्रमणबाट बच्न नागरिकलाई स्वास्थ्य मन्त्रालयको अपिल

निपा भाइरसको संक्रमणबाट बच्न नागरिकलाई स्वास्थ्य मन्त्रालयको अपिल


सरकारले निपा भाइरसको संक्रमणबाट बच्न सबै नागरिकलाई अपिल गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले निपा भाइरस प्राणघातक भएको उल्लेख गर्दै त्यसबाट बच्न सबै नागरिकलाई आग्रह गरेका छन्। 

प्रवक्ता पौडेलले निपा भाइरस प्राणघातक भएको भन्दै कसैले पनि हेलचेक्राइँ गर्न  नहुने बताए । उनले निपा भाइरसको कुनै भ्याक्सिन बनि नसकेकोले यसबाट बच्न सबै सचेत र शतर्क हुनुपर्ने बेला आएको बताए। प्रवक्ता पौडेलले निपा भाइरसको मृत्युदर निकै उच्च रहेको र यो भाइरस फलफूल बढी खाने चमेरो (फ्रुट ब्याट) बाट पशुमा र पशुबाट मानिसमा सर्ने बताए। निपा भाइरसले मस्तिष्कमा चाँडो असर गर्ने, कोमामा पुर्याउने र बेहोस बनाउने गरेको बताउँदै प्रवक्ता पौडेलले पशुपंक्षीले जुठो पारेका, खोपेर छोडेका फलफूलहरु असावधानीवश पनि नखान आग्रह गरे ।

स्वास्थ्य मन्त्रालयले निपा भाइरस प्राणघातक भएकाले पूर्णरुपमा स्वास्थ्यका मापदण्ड अपनाइ सचेत र सजग हुन र यस सम्बन्धी लक्षण देखिए तत्काल स्वास्थ्यचौकी गएर डाक्टरलाई देखाउन आग्रह गरेको छ । प्रवक्ता पौडेलका अनुसार श्वासप्रश्वासको समस्या, सामान्य रुघाखोकी, ज्वरो आउने, टाउको दुख्ने, एकदम छिटो अचेत हुने, कोमामा जाने जस्ता समस्या छिटो–छिटो देखा पर्ने र कम्पन आउने निपा भाइरसका मुख्य लक्षण हुन्। 

यो प्राणघातक भाइरस प्राकृतिक रुपमा फलफूल बढी खाने चमेरा (फ्रूट ब्याट) बाट पशुपंक्षी हुँदै मानिसमा सर्छ। साथै संक्रमित मानिसबाट अन्य मानिसमा पनि यो भाइरस सर्ने गर्दछ । निपा भाइरस विशेष गरि शरीरको र्याल, दिशापिसाव लगायतको तरल पदार्थबाट सर्ने गर्दछ। निपा भाइरस विश्वमा पहिलोपटक सन् १९९९ मा मलेसियाको बंगुर फार्ममा भेटिएको थियो।

Logo