दशैँसम्म एक करोड ४० लाख मानिसलाई कोरोना विरुद्धको खोप: राज्यमन्त्री श्रेष्ठ

दशैँसम्म एक करोड ४० लाख मानिसलाई कोरोना विरुद्धको खोप: राज्यमन्त्री श्रेष्ठ


स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले डायलाईसिस, किड्नी र क्यान्सरजस्ता रोगहरुको उपचारका लागि समयमै व्यवस्थापन गर्न नसके ठूलो महामारी व्यहोर्नुपर्ने बताएका छन्।

बुधबार सिंहदरवारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा राज्यमन्त्री श्रेष्ठले नेपालमा प्रत्येक वर्ष ३ हजार मानिसको किड्नी फेल भएको विवरण आइरहेको भन्दै पाँच वटा मात्रै उपचार गर्ने अस्पताल भएकोले किड्नी ट्रान्सप्लान्ट गर्नका लागि पनि २ वर्षसम्म कुर्नुपर्ने बाध्यता रहेको बताए।

उनले डायलाईसिस गर्नका लागि आवश्यक्ता अनुसारको सर्भिस सेन्टर नपुगेको पनि जानकारी दिए।
राज्यमन्त्री श्रेष्ठले जिल्लादेखि प्रदेशसम्म डायलाईसिस सेन्टर बनाउनुपर्ने र यसलाई सर्वसुलभ बनाउनुपर्ने बताए।

त्यस्तै सरकारले थोरैमा दुई सयदेखि तीन सय वटा डायलाईसिस बनाउनुपर्ने योजना बनाएको पनि उनले जिकिर गरे। सरकारी अस्पताललाई अब पनि सुधार गर्न नसके ठूलो दुर्घटना हुन सक्ने राज्यमन्त्री श्रेष्ठले चिन्ता ब्यक्त गरे।

अप्रेशन गर्नका लागि दुई वर्ष कुर्नुपर्ने बाध्यता रहेको बताउँदै राज्यमन्त्री श्रेष्ठले अप्रेशन सेन्टर पनि बढाउने सरकारको योजना रहेको जानकारी दिए।

उनले ट्रान्सप्लान्ट र डायलाईसिसमा ६ महिनाभित्र ठूलो परिवर्तन हुने दाबी गरे। स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले अहिलेसम्म नेपाललाई १ करोड ७७ लाख कोरोना विरुद्धको खोप प्राप्त भएको बताए।

उनले ३ करोड ५९ लाख खोप आउने प्रबन्ध मिलाएको र आउने क्रममा रहेको पनि जानकारी दिए।
अहिलेसम्म ५६ लाख मानिसलाई पूर्ण खोप लगाइसकेको र ६२ लाख मानिसलाई पहिलो डोज लगाएको उनको जिकिर छ।

राज्यमन्त्री श्रेष्ठले जम्मा जनसंख्याको १८ प्रतिशतभन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाइसकेको दाबी गरे।

उनले दशैँसम्म एक करोड ४० लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाउने योजना रहेको बताउँदै दशैँसम्म पहिलो डोज लगाउनेको संख्या १ करोड पुर्याउने सरकारको लक्ष्य रहेको जिकिर गरे।

राज्यमन्त्री श्रेष्ठले फेरि थपे,‘अहिलेसम्म नेपाललाई १ करोड ७७ लाख कोरोना विरुद्धको खोप प्राप्त भएको छ, ३ करोड ५९ लाख खोप आउने प्रवन्ध मिलाएको र आउने क्रममा छ, अहिलेसम्म ५६ लाख मानिसले पूर्ण खोप लगाइसक्नुभएको छ भने ६२ लाख मानिसलाई पहिलो डोज लगाइएको छ, जम्मा जनसंख्याको १८ प्रतिशत भन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाइसक्नुभएको छ,दशैँसम्म एक करोड ४० लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाउने योजना छ, १ करोड ५० लाख पनि पुग्न सक्छ, दशैँसम्ममा पहिलो डोज लगाउनेको संख्या १ करोड पुर्याउने सरकारको लक्ष्य छ, पूर्ण डोज लगाउनेको संख्या ७५ हजार हुनेछ ।’

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले अहिले स्वास्थ्यमा सबैभन्दा ठूलो खतरा बीमाबाट रहेको बताउँदै बीमा व्यवस्थित गर्न जरुरी रहेको जानकारी दिए।

उनले बीमा भएकाहरुले वर्षमा एकपटक स्वास्थ्य परीक्षण गरे स्वास्थ्य समस्या कम हुने बताए। उनले राज्यको पैसाको स्वास्थ्य क्षेत्रमा दुरुपयोग भएको भन्दै म्यानेजमेण्टलाई व्यवस्थापन गरेर अघि बढ्न जरुरी रहेको बताए।

Logo