चितवनमा कोरोना संक्रमणको जोखिम कायमै

चितवनमा कोरोना संक्रमणको जोखिम कायमै


चितवनमा कोरोना सङ्क्रमणको ग्राफ ओरालो लाग्दै गएको भए पनि कोरोना संक्रमणको जोखिम भने कायमै रहेको छ । 

चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय भन्दा माथि रहेको छ । सक्रिय संक्रमितको संख्या ५ सय माथि भएपनि अहिले विद्यालय र बजार पूर्ण रुपमा खुलेका छन् भने चाडपर्व नजिकिदै गएकाले कोरोना संक्रमणको जोखिम कायमै रहेको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । 

शुक्रवारसम्म चितवनमा ५ सय ८५ जना सक्रिय कोरोना सङक्रमित रहेका छन् । जोखिम कायमै रहेको भएपनि पछिल्लो समय कोरोना संक्रमितको संख्या भने घट्दै गइरहेको छ । 

चितवनमा पिसिआर परीक्षणमा १० प्रतिशतभन्दा थोरैमा संक्रमण देखिने गरेको छ । कोरोनाका गम्भीर प्रकृतिका बिरामी घट्दै जानु र मृत्युदरमा कमी आउनुले पनि कोरोनाको संक्रमणदर घटेको स्वास्थ्य कार्यालय चितवनले बताएको छ । 

जिल्लावासीले स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न छाडेर सावधानी नअपनाइ दैनिक कामकाज सुरु गरेको अवस्थामा फेरि पनि कोरोना सङ्क्रमण बढ्न सक्ने स्वास्थ्य कार्यालय चितवनका वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपकबाबु तिवारीले बताए।

संक्रमण घट्दै गएपनि आवश्यक सावधानी र जनस्वास्थ्यका मापदण्ड पालना गर्न हेलचेक्र्याइँ गर्नु नहुने उनले बताए।

चितवनमा हालसम्म दुई लाख ७० हजार बढीले कोरोना विरुद्धको खोप लगाएको उल्लेख गर्दै तिवारीले खोप लगाएकामध्ये एक लाख ५० हजारले पूर्ण खोप पाइसकेका जानकारी दिए।

खोप लगाउने क्रम बढ्दै गएको भए पनि कोरोना भाइरसले स्वरुप परिवर्तन गरिरहने भएकाले सावधानी अपनाउनुपर्नेमा उनको जोड छ।

Logo