स्वास्थ्य सेवा कार्यालयमा कर्मचारीबीच अश्लील बाझाबाझ

स्वास्थ्य सेवा कार्यालयमा कर्मचारीबीच अश्लील बाझाबाझ


जाजरकोटमा स्वास्थ्य सेवा कार्यालयको ल्याब शाखामा आवश्यक पर्ने सामग्री कार्यालय प्रमुख टिकाराम जैसीसँग माग गर्न जाँदा स्वाथ्यकर्मीबीच झन्डै हात हालाहालको अवस्था सिर्जना भएको छ । कार्यालय प्रमुखसँग आवश्यक सामग्री माग्दा अन्य शाखाको स्वास्थ्यकर्मीको टाउको दुख्नु अनौठो रूपमा हेरिएको छ । 

चौबिसै घण्टा ल्याबमा काम गर्नुपर्ने स्वास्थ्यकर्मीले त्यहाँ आवश्यक पर्ने सामग्रीहरू माग्दा कार्यालय प्रमुख जैसीले कार्यालयमा कार्यरत स्वास्थ्यकर्मी गंगा रेग्मीलाई ‘तपाईँले लिएको पुरै सामग्री बुझाएको देखिएन, बाँकी फिर्ता गर्नुहोस्’ भनी सल्लाह दिएपछि स्वास्थ्यकर्मी गंगा रेग्मीले म बुझाउँदिन भन्दै  विवाद  सुरु भएको थियो । कार्यालय प्रमुखको कार्यकक्षकै अपशब्द प्रयोग गरी बाझाबाझ भएको भिडियोसमेत सार्वजनिक भएको छ । 

ल्याबमा कार्यरत स्वास्थ्यकर्मी हरिकला, कमला रावललाई स्वास्थ्यकर्मी रेग्मीले जागिर खाइदिने मात्र नभई कार्यालय प्रमुखलाई समेत अश्लील शब्दले गाली गरेको भिडियोमा स्पष्ट सुनिन्छ ।

रेग्मी पुरै आक्रोशित भएको र हरिकला लगायतका ल्याबमा काम गर्ने स्वास्थ्यकर्मीहरू कम बोलेको भिडियोमा देखिन्छ । कार्यालय प्रमुख जैसीले ‘तपाईँहरू झगडा गर्ने भए बाहिर गएर गर्नुहोस्, यहाँ नगर्नुहोस् र कार्यालयको गरिमा अनि इज्जतसमेत बचाउनुहोस्’ भन्दै झगडा मत्थर पार्न खोजेको देखिन्छ । 

दुई दशकभन्दा बढी जागिर खाएको स्थायी कर्मचारी हो म, करारकाले हल्ला गर्ने भनी रेग्मीले ल्याबका स्वास्थ्यकर्मीलाई हप्काएको भिडियोमा सुनिन्छ । स्वास्थ्य सेवा कार्यालयमा ल्याबमा काम गर्ने सबै करारका नै छन् । 

हरिकला सिंहले पटक पटक ल्याबमा काम गर्न आफू नसक्ने भन्दै राजीनामा दिँदासमेत काम गर्ने मान्छे नहुँदा उनलाई रोकिएको छ । स्वास्थ्य सेवा कार्यालयमा यो लफडा भएपछि जिल्ला प्रहरी कार्यालयमा गाली बेइज्जतीको उजुरी दर्ता भएको छ । न्युज कारखाना

Logo