ओमिक्रोनको संक्रमणबाट जोगाउन उपलब्ध खोप असफल: सुरक्षित रहन आवश्यक

ओमिक्रोनको संक्रमणबाट जोगाउन उपलब्ध खोप असफल: सुरक्षित रहन आवश्यक


ओमिक्रोन संक्रमणबाट जोगाउन अधिकांश खोप असफल भएको प्रारम्भिक अध्ययनले देखाएको छ । विश्वभरका रिपोर्ट अनुसार कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनको संक्रमणबाट जोगाउन प्राय सबै खोप असफल भएको पाइएको छ ।

एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र चीन र रसियामा उत्पादित खोपहरूले ओमिक्रोनफैलनबाट रोक्न सक्षम नभएको दाबी भइरहेको छ । र, विश्वका अधिकांश देशहरूले आफ्नो नागरिकहरूलाई संक्रमणबाट जोगाउन ती खोप नै प्रयोग गरिरहेको हुँदा यसको महामारीमा दूरगामी असर पर्ने देखिएको छ ।

तर हामीसँग उपलब्ध खोपले जटिल प्रकारको कोभिड–१९ हुनबाट भने जोगाउने देखिन्छ । जुन अहिलेको सन्दर्भमा निकै महत्त्वपूर्ण लक्ष्य हो । यस्तै, फाइजर र मोडर्नाका खोप बुस्टरसहित लगाएमा भने केही हदसम्म संक्रमण फैलनबाट पनि रोक्न सक्ने देखिएको छ । 

खोप लगाउने दर निकै कम भएका देशहरूमा बसोबास गर्ने मानिसहरुबीच संक्रमण फैलिनुले थप नयाँ भेरिएन्टको उत्पत्ति हुने डरलाई पनि बढाएको छ । एकातर्फ ओमिक्रोनविरुद्ध खोपहरू निष्प्रभावी रहेका खबर बाहिर आउनु र अर्कोतर्फ गरिब मुलुकमा खोप लगाउनेहरूको संख्या कम हुनुले पनि थप जटिलता बढाएको छ ।

हाल सार्वजनिक भएका अधिकांश अनुसन्धान रिपोर्टहरू प्रयोगशालामा गरिएको परीक्षणमा आधारित हुन् । ती अनुसन्धानले शरीरको समग्र रोग प्रतिरोधी क्षमताले कसरी काम गर्छ र वास्तविक जनसंख्यामा खोपको प्रभाव कस्तो देखिन्छ भन्ने विषय समेटेको छैन । तर, परिणाम भने आश्चर्यजनक नै छ ।

फाइजर र मोडर्ना खोप ‘एमआरएनए’ प्रविधिमा आधारित नयाँ खोप हो । जसले कुनै पनि प्रकारका भेरिएन्टविरुद्ध सुरक्षा प्रदान गर्ने दाबी गरिएको छ । अन्य सबै खोप भने शरीरको रोग प्रतिरोधी प्रतिक्रियालाई जगाउने पुरानो विधिमा आधारित छन् ।

नेपालमा हालसम्म तीन जना व्यक्तिमा ओमिक्रोन संक्रमण पुष्टि भएको छ । जसमध्ये दुई जना  संक्रमणमुक्त भइसकेका छन् । बुधवार मात्र ५८ वर्षीय एक पुरुषमा ओमिक्रोन संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । संक्रमित व्यक्ती मन्त्रालयकै निगरानीमा होम आइसोलेसनमा बसेका छन् भने कनट्याक्ट ट्रेसिङको काम पनि भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा ओमिक्रोन 

याे रिपाेर्ट तयार गर्दासम्म भारतमा ओमिक्रोन संक्रमितको संख्या बढेर २१३ पुगेको छ।ओमिक्रोन भेरियन्टका सबैभन्दा धेरै संक्रमित दिल्लीमा ५७जना रहेका छन् भने महाराष्ट्रमा ५४ जना पाइएको छ। यो भेरियन्टद्वारा संक्रमित रहेका ९० जना बिरामी निको भएका छन् ।

युरोपमा क्रिसमसपछि कडा लकडाउन

युरोप यति बेला ओमिक्रोनको त्रासमा रहेको छ। नयाँ भेरिअन्ट फैलिने क्रम जारी रहेका बेला नेताहरूले कोभिड– १९ सम्बन्धी प्रतिबन्धात्मक नियम पुनः लागू गर्ने घोषणा गरेका छन् । जर्मनीले २८ डिसेम्बरपछि व्यक्तिगत जमघटलाई १० जना मानिसमा मात्रै सीमित पार्ने र नाइट क्लब बन्द हुने घोषणा गरेको छ । 

उक्त मितिदेखि फुटबल प्रतियोगिता बन्द स्थलमा मात्रै गर्न पाइने भएको छ । यसैबीच जर्मनीसँगै पोर्चुगलसहितका मुलुकमा क्रिसमसपछि सामाजिक दूरीसहितका नियममा कडाइ गरिने भएको छ।पोर्चुगलले जनवरीसम्म घरमै बसेर काम गर्नुपर्ने नियमलाई अनिवार्य बनाइएको छ । 

स्विडेनमा बार, क्याफे र रेस्टुरेन्टमा बसिरहेका पाहुनालाई मात्रै सेवा उपलब्ध गराइने भएको छ भने संभव भएसम्म घरमै बसेर काम गर्न भनिएको छ। त्यहाँकी स्वास्थ्य मन्त्री लिना हलेनग्रेनले ओमिक्रोनका संक्रमित फैलिन सक्ने भन्दै स्वास्थ्य सेवामा चाप बढिरहेको बताएकी छन् ।नेदरल्याण्डले कडा लकडाउन गर्ने घोषणा गरिसकेको छ।

२०२२ भित्र कोरोना महामारी अन्त्य गर्न एकजुट बनौंः डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वलाई आगामी वर्ष भित्रमा कोभिड–१९ को महामारी अन्त्य गर्न एकजुट हुन आह्वान गरेको छ। संयुक्त राष्ट्रसंघ स्वास्थ्य एजेन्सीले सन् २०२२ महामारीको अन्त्य गर्ने वर्ष हुनुपर्छ भनेको छ ।

ओमिक्रोन भेरिअन्ट पहिलो पटक दक्षिण अफ्रिकामा फेला परेको हो । त्यसपछि यो दर्जनौँ देशहरूमा फेला परेको छ । नयाँ संस्करण डेल्टा भेरिअन्ट भन्दा बढी गम्भीर छैन तर सम्भवतः बढी संक्रामक र प्रतिरोधात्मक भने अवश्य छ। 

आगामी वर्ष महामारीको अन्त्य गर्न खोपको पहुँचमा भएको असमानता अन्त्य गर्नुपर्ने डब्लुएचओले टिप्पणी गरेको छ ।

Logo