ग्रह शान्तिदेखि थुप्रै रोगहरू निको पार्न उपयोगी यी ‘मसला’

ग्रह शान्तिदेखि थुप्रै रोगहरू निको पार्न उपयोगी यी ‘मसला’


  • सुरेशचन्द्र रिजाल

नेपालमा कयौं प्रकारका मसलाहरू उत्पादनसँगै दोस्रो तथा तेस्रो  मुलुकबाट आयात तथा निर्यात गर्ने गरिएको छ। मसलाको प्रयोग तरकारीमा आवश्यकता अनुसार स्वादिष्ट  बनाउन तथा अन्य थुप्रै खाद्य पदार्थ बनाउनका लागि उपयोग गर्ने परम्परा शदीयौंदेखि चलिआएको छ । 

यस्ताखाले मसलाको प्रयोगबाट मानव शरीर सन्तुलन राख्नुका साथै ग्रह तथा नक्षत्रहरूको नकारात्मक प्रभाबबाट जोगाउन पनि ऋषि महर्षीहरूले  पुर्खाहरूलाई जानकारी गराएको थुप्रै प्रमाणहरू पाइन्छन् । मौखिक रुपमा जानकारी गराएर एक पुस्तादेखि अर्काे पुस्तालाई हस्तान्तरण गरेकै भरमा आजसम्म पनि जीवन्त चलिआएको छ ।

यदि थोरै मात्र सावधानी अपनाउन सकेमा रोग तथा ग्रहहरूको नकारात्मक प्रभाव पूर्णरुपमा नियन्त्रण हुने विश्वास गरिन्छ। नवग्रहहरूको प्रभाव कम गर्न भिन्नाभिन्नै घरेलु वस्तुहरूको प्रयोग तथा दान गर्न सकिने धार्मिक शास्त्रमा उल्लेख गरिएको छ। 

सूर्य ग्रह : रातो खुर्सानी सूर्यको नकारात्मक शक्तिलाई कम गर्न प्रयोग गर्न सकिन्छ। यो दैनिक रुपमा भान्सामा प्रयोग गरिने वस्तु हो। यसले बुद्धिलाई तृष्ण बनाउनुका साथै रक्त सञ्चालनमा पनि यसको महत्त्वपूर्ण भूमिका रहने गरेको छ। यसका अलावा मसुरो, गुण, करवीरको फूल लगायतका वस्तु दान गरेमा सूर्यबाट हुने रोग तथा ग्रहको नकारात्मक शक्ति कम गर्न सकिने बताइएको छ।

चन्द्र ग्रह : अलैँची तथा सुकुमेल चन्द्रमाको प्रमुख मसलाका रुपमा लिने गरिएको छ। यसलाई हरेक तरिकाबाट प्रयोग गर्न सकिन्छ। खाना खाइसकेपछिको मसलाको रुपमा प्रयोग गर्ने परम्परा पनि रहिआएको छ। श्वाससम्बन्धी रोग तथा वायु प्रकोपलाई हटाउनका लागि पनि अति लाभदायक मानिएको छ। सेतो कपडासहित अलैंची तथा सुकुमेल दान गरेमा पनि चन्द्रमाको प्रभाव कम गर्न सकिने उल्लेख गरिएको छ।

मंगल ग्रह : मंगल ग्रहले शरीरमा रक्त सञ्चालन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ। उक्त ग्रहको तत्व पनि रातो नै रहेको छ। यदि मंगल कमजोर तथा पापान्तर भएर बसेको अवस्था यसको फल अत्यन्तै अशुभ हुने गरेको छ। प्रेसर तथा हट्हट्याक हुनुमा मंगलको मूख्य भूमिका रहने गरेको छ। यस्तो समस्या कम गर्न सुकेको रातो खुर्सानी बहुउपयोगी रहने गरेको छ। यसका अलावा दालचिनी, अदुवा, मेथी कस्तुरी लगायतका वस्तु प्रयोग तथा दान गरेमा मंगल ग्रहको नकारात्मक प्रभाव कम गर्न सकिन्छ साथै विज्ञको सल्लाहअनुसार मुगाको धारण गरेमा पनि शुभ फल मिल्ने उल्लेख गरिएको छ।

बुध ग्रह : बुध ग्रहको कलर हरियो भएकाले धनियाँको प्रयोगबाट पित्त सन्तुलित हुने उल्लेख गरिएको छ। यसको प्रयोगबाट किड्नीलाई सफा गर्नुका साथै पिसाबसम्बन्धी सम्पूर्ण समस्या निको पार्ने बताइएको छ। यसका अलावा हिंग तथा हरियो धनियाँको प्रयोग तथा दानबाट पनि बुधको प्रभाव कमगर्न सकिने उल्लेख गरिएको छ। पन्ना धारण गरेमा पनि फाइदा हुने बताइएको छ।’

बृहस्पति ग्रह : सम्पूर्ण ग्रहहरूको राजा देवगुरु बृहस्पति हुन र उक्त ग्रहको स्वभाव पहेंलाे हुने भएकाले पनि भान्सामा प्रयोग हुने बेसार बहुउपयोगी औषधिका रुपमा उल्लेख गरिएको छ। विशेषगरी काटेको घाउ पुर्नका लाग एन्टिबायोटिकका रुपमा रहेको बताइएको छ। यसको प्रयोगले हाम्रो शरीरमा भएका हड्डीहरू मजबुत गर्ने यसको विशेष भूमिका रहने उल्लेख गरिएको छ। यसका अलावा पुष्पराजका प्रयोग गरेमा पनि दीर्घरोगीहरूलाई लाभ मिल्ने बताइएको छ।

शुक्र ग्रह : समस्त आयुर्वेदका ज्ञाता गुरु शुक्राचार्यलाई आयुर्वेदिकका पिताका रुपमा वर्णन गरिएको छ। शुक्रको लागि जिरा सेवनले अम्लिय प्रभावलाई कम गर्ने उल्लेख गरिएको छ । पाचन प्रणालीमा केही असहज महसुस भएको अवस्थामा जिरा र पानी सेवन गर्ने परम्परा रहिआएको छ । यसको अतिरिक्त सोफ, सुपाडी दालचिनीलगायतका वस्तुको सेवन तथा दानबाट शुक्र ग्रहलाई बलियो बनाउन सकिने उल्लेख गरिएको छ।

शनि ग्रह : शनि ग्रहको प्रभाव कम गर्न कालो मरिच बहुउपयोगी भएको उल्लेख गरिएको छ। यसले कफको समस्यालाई तुरुन्तै सहजीकरण गर्नुका साथै दाँतको समस्या पनि समाधान गर्ने कुरा उल्लेख गरिएको छ। यसका अलावा तोरीको तेल, कालो तिल, सख्खरलगायतका वस्तुको प्रयोग तथा दानबाट शनिको प्रभाव कम गर्न सकिने बताइएको छ।

राहु ग्रह : राहुको प्रभाव कम गर्न दालचिनीबाट बनाइएको मसला बहुउपयोगी रहने बताइएको छ। यसका अतिरिक्त जाइफल पनि प्रभावकारी मानिएका छ।

केतु ग्रह : केतु ग्रहको प्रभाव कम गर्नका लागि कालो नुन अर्थात वीरे नुन प्रयोग गरेमा यसले पेटमा हुने हरेक समस्याको बहुउपयोगी साबित हुने बताइएको छ। यसका अलावा गहतको प्रयोग तथा दान गरेमा पनि केतु ग्रहको प्रभाव कमगर्न सकिने शास्त्रमा उल्लेख गरिएको छ। 

यसरी हजारौं वर्षअघि यस्ता वस्तुहरूको प्रयोग गर्ने गरिएकाले स्वास्थ्यमा देखापरेका हरेक प्रकारका रोग तथा समस्याहरूको समाधान गर्न सकिने भएकाले पनि आजसम्म पनि हाम्रो भान्सामा प्रयोग हुँदै आएको छ।

(लेखक सुरेशचन्द्र रिजाल दक्षिण एसीयाली ज्योतिष महासंघ नेपालका महासचिव तथा वास्तुविद् हुन्।)

Logo