कोभिडका बिरामी बढे पनि अस्पतालका ७५ प्रतिशत बेड खाली (भिडियाे)

कोभिडका बिरामी बढे पनि अस्पतालका ७५ प्रतिशत बेड खाली (भिडियाे)


यतिबेला कोरोना संक्रमितहरु संख्यात्मक हिसाबले उच्च रहेका छन् । तर डेल्टा भेरियन्ट फैलिएको समयमा जस्तो अस्पतालमा बिरामीको चाप भने छैन ।

अस्पताल  आएकामध्ये उमेर बढी भएका व्यक्तिहरु रहेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा भर्ना भएका १७ जना कोभिडका बिरामीहरू मध्ये ९ जना वार्डमा र ८ जना आइसियुमा छन् । ८ जना मध्ये पनि ६ जना ७० वर्ष उमेरमाथिका बिरामीहरू रहेको अस्पतालमा कार्यरत डा. रिजन महर्जन बताउँछन् । 

केन्द्रबिन्दुसँगको कुराकानीका क्रममा डा महर्जनले भने ‘अधिकांशजसो कोभिड बिरामीले खोप लगाउनुभएको छ। आइसियुका ८ मध्ये २ जनाले मात्र खोप लगाउनु भएको छैन । आइसियुमा भर्ना भएकाहरू मध्ये १ जना मात्र भेन्टिलेटरमा हुनुहुन्छ । त्यसबाहेक सबै अक्सिजनको सपोर्टमा हुनुहुन्छ ।’

डेल्टा भेरियन्टकाे समयमा मध्यम उमेर समूहका मानिसहरू बढी प्रभावित बनेको स्मरण गर्दै उनी भन्छन् ‘त्यसबेला लगभग ४० देखि ५० उमेर समूहका मानिसहरू अस्पताल भर्ना भएका थिए । त्यति बेला सिकिस्तै भएर भेन्टिलेटर नै चाहिने बिरामीहरू पनि धेरै नै थिए । अहिलेको अवस्थामा अक्सिजनको सपोट लिएर उपचार गराउनेहरू थोरै छन् । जति पोजेटिभ केशहरू बढेको छ त्यो हिसाबमा अस्पताल एडमिट नै हुनुपर्ने पहिलेको अनुपातमा कमै छ। भर्ना भएका बिरामी सबैलाई थोरै मात्रामा अक्सिजन चाहिने देखिन्छ तर भेन्टिलेटर नै चाहिने अवस्था भने छैन।’

ओमिक्रन धेरैजसो बिरामीहरूलाई फोक्सोभन्दा माथितिर असर गरेका कारणले निमोनिया कम हुन सक्ने अनुमान गर्न सकिने डा. महर्जन बताउँछन् । उनले भने ‘निमोनिया नभएका कारणले मृत्युदर कम भएको छ । बिरामीहरूको श्वास नलिमा असर गर्दा रोग छिटो निको भएको पाएको छु। निमोनिया भएर अक्सिजन चाहिएर भर्ना हुनुपर्ने अवस्था न्यून छ । यो ओमिक्रनको पोजेटिभ पक्ष पनि हो।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा दैनिक ४ देखि ५ जनासम्म  कोभिडका बिरामी भर्ना हुने गरेको अस्पतालका प्रशासन प्रमुख तथा सूचना अधिकारी डा. नवराज गौतम बताउँछन् । उनका अनुसार विगत ५ दिनदेखि अस्पतालमा मृत्युदर शुन्य रहेको छ । अस्पतालमा कोभिडका लागि ९० बेड छुट्याइएकोमा २५ प्रतिशत बेडहरू मात्र बिरामी रहेको उनी बताउँछन् । 

अस्पतालमा नियमित खोप लगाउने कार्य भइरहेको जानकारी दिँदै डा. गौतमले भने ‘नेपाल सरकारको निर्णय बमोजिम यो अस्पतालमा सबै प्रकारको खोपहरू उपलब्ध छन् । भेरोसिल्ड, कोभिसिल्ड, एस्ट्रोजेनिका, जोन्सन खोपहरू तथा बुस्टर डोजहरू नियमित रूपमा दिइरहेका छौं। जसका कारणले यसलाई नियमित खोप केन्द्र भनेर तोकिएको पनि छ। दैनिक २५०० भन्दा बढिलाई खोप लगाइरहेको छौं।’ 

 

Logo