जुम्लाका बालबालिकालाई २५ चैतदेखि टाइफाइडविरुद्धको खोप लगाइने

जुम्लाका बालबालिकालाई २५ चैतदेखि टाइफाइडविरुद्धको खोप लगाइने


जुम्लामा २५ चैतदेखि आगामी १८ वैशाखसम्म बालबालिकालाई टाइफाइडविरुद्धको खोप अभियान संचालन गरिने भएको छ । सञ्चालन हुने खोप अभियानमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाले खोप लगाउन सक्नेछन् । जुम्लामा ४२ हजार चार सय २० बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ  ।

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुसार खोपका लागिगाउँ तथा विद्यालयमा १ सय ९१ जनाको खोप टोली परिचालन गरिने भएको छ । यो अभियान जुम्लासहित देशभर नै सञ्चालन हुँदैछ ।

चार वर्षमा टाइफाइडका ३५ सय बिरामी 
जुम्लामा चार वर्षमा टाइफाइटका ३५ सय बिरामी फेला परेका छन् । आर्थिक वर्ष २०७५-७६ मा ९ सय ७८, आव २०७६-७७ मा १ हजार १ सय ५८, आव २०७७-७८ मा ८ सय ७९ र चालु आवको ८ महिनामा ५ सय ९२ जना गरी ३ हजार ५ सय ९७ जना बिरामी फेला परेको स्वास्थ्य कार्यालयको तथ्यांक छ ।

नेपालमा पाँच वर्षमा ४ लाख ५० हजार बालबालिका टाइफाइडबाट ग्रसित भएका छन् । टाइफाइड शून्यमा झार्न सरकारले खोप अभियान सञ्चालन गर्दै आएको छ ।
जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख सापकोटाका अनुसार दूषित पानी र खानेकुराबाट टाइफाइड संक्रमणको जोखिम रहन्छ । यो रोगका लक्षण ज्वरो आउने,टाउँको दुख्ने, पेट दुख्ने, आद्रामा समस्या आउने लगायत छन् ।

Logo