बिरामीले मुगु अस्पताल भरिभराउ, ७५ प्रतिशत बिरामी झाडापखालाका

बिरामीले मुगु अस्पताल भरिभराउ, ७५ प्रतिशत बिरामी झाडापखालाका


जिल्ला अस्पताल मुगुमा पछिल्लो समय बिरामीको चाप बढ्दै गएपछि अस्पतालका बेड भरिभराउ भएका छन्। गर्मी मौसम सुरु भएसँगै जिल्ला अस्पताल मुगुमा बिरामी भरिभराउ भएका हुन् । 

टाइफाइड, ज्वरो, झाडापखाला, निमोनियालगायतका बिरामी बढेपछि अस्पतालमा औषधिको अभाव हुने पनि समस्या सिर्जना भएको छ। अस्पतालमा एक साताको अवधिमा ४५ जना बिरामी भर्ना भएका छन् । चैत महिनामा १२१ बिरामी भर्ना भएका थिए ।

अस्पतालमा बिरामीको चाप पछिल्लो समय ह्वातै बढेपछि उपचार गर्न मुस्किल हुने देखिएको स्वास्थ्य सेवा कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख उमेश गौतमले बताए। उनका अनुसार १५ शय्याको अस्पतालमा दैनिक १० जनासम्म नयाँ बिरामी भर्ना भइरहेका छन्। गर्मी बढेसँगै ज्वरो, टाइफाइड र झाडापखालाका बिरामीको संख्या बढेको उनको भनाइ छ।  

अस्पतालमा आएका मध्ये झण्डै ७५ प्रतिशत बिरामी झाडा पखालाका हुने उनको भनाइ छ । टाइफाइटले थला परेपछि औषधि गर्न अस्पतालमा आएकी सोरु–९ कालैकी जानदेवी ऐडीले औषधि नहुँदा बाहिरका मेडिकलबाट सुई, स्लाइन र औषधि ल्याएर उपचार गर्नुपरेको बताइन् ।

बिरामीको चाप बढ्न थालेपछि अस्पतालमा कार्यरत चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीलाई भ्याइनभ्याइ छ। दैनिक १ सयभन्दा बढी बिरामीको चेकजाँच गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

जिल्ला अस्पतालको आफ्नै फार्मेसी छैन। भर्ना भएका बिरामीलाई एस्पिरिन, एड्रेनालिन, अबलेन्डाजोल, टिनीडाजोल, भिटामिनहरू, जिंक सल्फेटलगायत औषधिको मौज्दात पनि कम रहेको प्रमुख गौतमले बताए।  

उनका अनुसार स्वास्थ्य सेवा कार्यालयले अस्पताललाई औषधि खरिदका लागि १८ लाख रुपैयाँ बजेट दिए पनि अहिलेसम्म औषधि खरिद भएको छैन। उनले अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा शल्यक्रिया सेवासमेत ठप्प भएको बताए।

Logo