काठमाडौंमा जारको पानी समेत दूषित, हैजाको महामारी फैलने जोखिम

काठमाडौंमा जारको पानी समेत दूषित, हैजाको महामारी फैलने जोखिम


इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले हैजाबाट बच्न नागरिक नै सजग रहनुपर्ने  बताएका छन् । आज सोमवार सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै महाशाखाका निर्देशक दासले हैजाबाट बच्न नागरिक र सरोकारवाला निकाय सजग रहनुपर्ने आवश्यकता रहेको बताए । उनले अहिलेसम्म महाशाखाले परीक्षण गरेको तीन ठाउँको पानी प्रदूषित देखिएको बताए । उनका अनुसार ललितपुरको सानेपा, काठमाण्डौको बागबजार र डिल्लीबजारमा गरिएको पानी परीक्षणमा प्रदूषित पानी फेला परेको हो । 

उनले भने , ‘तीनै ठाउँको रिपोर्टमा स्टोर गरेर राखेको पानी प्रदूषित भएको भेटिएको छ । सानेपामा ६२ प्रतिशत पानी प्रदूषित भेटिएको छ । बल्खु र कोटेश्वरको पनि नमुना लिइएको छ, रिपोर्ट आएको छैन । १० वटा नमुना केयूकेएलले लिएको छ तर ठाउँ यकिन छैन । बूढानीलकण्ठ नगरपालिकाले परीक्षण गरेकोमा जार, ढुङ्गेधाराको पानी प्रदूषित पाएका छौँ । त्यहाँ १५ प्रतिशत जारको पानी प्रदूषित पाइएको छ ।’

निर्देशक दासले नागरिकले पानी उमालेर तथा क्लोरिन र पियूष हालेर खाएमा पनि हैजबाट बच्न सकिने बताए । यसका कतिपय लक्षण नदेखिने भएकाले सामान्य शंका लागेमा पनि स्वास्थ्य परीक्षण गराउन उनको सुझाव छ ।  निर्देशक दासले सरकारले हैजा फैलिनबाट रोक्न विभिन्न कदम चालिरहेको र अस्पतालहरूलाई तयारी अवस्थामा बस्न पनि भनेको बताए ।  

Logo