संघीय राजधानी काठमाडौं यो बेला हैजाको उच्च जोखिममा छ । एक जनामा मात्रै हैजा पुष्टि हुनुलाई नै जोखिम मानिन्छ ।
यहाँ त अहिलेसम्म१२ जनामा हैजा देखिएको छ । बागबजार, डिल्लीबजार, सानेपा, कालो पुल, कपन, बल्खु, बालाजु, बोहोराटार र थानकोटमा हैजाका बिरामी देखिएका छन् । प्रारम्भिक जानकारी अनुसार काठमाडौंमा हैजा मानव दिसाबाट प्रदूषित पानी र सडक छेउमा बिक्री वितरण गरिने खाद्य पदार्थको माध्यमले फैलिरहेको हो । यो संक्रमण काठमाडौंमा भित्रभित्रै छरिएर रहेको र बढ्दो क्रममा देखिएको छ ।
अहिलेसम्म पाएको जानकारी अनुसार हैजा फैलिने मुख्य कारण दिसाले संक्रमित ट्युबेल, धारा र जार लगायतका पानी र स्ट्रिट फुड हो । हालको अवस्थामा पानी उमालेर मात्र खान वा उपयुक्त मात्रामा क्लोरिनको प्रयोग गरेर शुद्ध बनाएर मात्र खानुपर्ने चिकित्सकहरु बताउँछन् । यस्तै सडक छेउको खाने कुरा पटक्कै नखान र सकेसम्म घर बाहिर खाना नखान चिकित्सकहरुले आग्रह गरेका छन् ।
स्वास्थ्यकर्मीहरुका अनुसार डिल्लीबजारमा धारा, ट्युबेल आदिबाट संकलित पानीमा ‘कोलिफर्म’ र ‘इकोलाइ’ दुवै संक्रमण देखिएको थियो । बुढानीलकण्ठमा धारा, जार लगायतका पानीको नमूनामध्ये ७५ प्रतिशत ‘कोलिफर्म’ र ‘इकोलाइ’ दुवैबाट प्रदूषित रहेको पाइएको छ। त्यस्तै जिल्ला प्रशासन कार्यालय ललितपुरले पाटन अस्पताललाई हैजा रोगको उपचारका लागि ‘डेडिकेटेड’ अस्पताल तोकेको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) घनश्याम उपाध्यायको संयोजकत्वमा आइतबार बसेको जिल्लास्थित सुरक्षा अधिकारी, स्थानीय तह, जनस्वास्थ्य अधिकृत, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, खानेपानी वितरक, ट्यांकर व्यवसायी, उपभोक्ता अधिकारवादी, व्यवसायीसहितको बैठकले हैजा रोग तथा यससँग मिल्दोजुल्दो लक्षणको उपचारमा पाटन अस्पताललाई डेडिकेटेड अस्पताल तोक्ने निर्णय गरेको हो ।
डेडिकेटेड तोकिएसँगै हैजा रोगका लागि पाटन अस्पतालमा छुट्टै हेल्थ डेस्क खडा गरी सोहीअनुसार उपचारको प्रबन्ध मिलाइने प्रशासनले जनाएको छ ।
अनियन्त्रित रुपमा चौलानी जस्तो पातलो दिसा हुने रोगलाई बोलीचालीको भाषामा झाडापखाला भनिन्छ भने रोगीको पखालामा ‘ब्याक्टेरियम भिब्रियो कोलेरी’ नामक ब्याक्टेरिया जीवाणु देखियो भने त्यो हैजा हो । भिब्रियो कलेरीबाट संक्रमित दूषित खाना वा पानी सेवन गर्दा कुनै पनि व्यक्तिलाई हैजा हुन सक्छ ।
विज्ञहरूका अनुसार महामारीको समय सामान्यतः हैजा संक्रमित व्यक्तिको दिसाबाट अन्य व्यक्तिमा फैलिन्छ । हैजाको बिरामीहरूको चिकित्सकीय इतिहास अनुसार उनीहरूले सोझै धारा, ट्युबेल र जारको पानी सेवन गर्नुको साथै चटपटे लगायत सडक छेउमा बिक्री वितरण गरिने खाद्य पदार्थ र होटेलको खाना सेवन गरेको देखिएको चिकित्सकहरु बताउँछन् ।
काठमाडौँ उपत्यकामा जार र बोतलको पानी शुद्ध ठानेर ढुक्कसँग पिउने गरिन्छ । तर एकाध कम्पनीद्वारा उत्पादन गरिएका जार र बोतलका पानी मात्र पिउन योग्य छन् । तीबाहेक धारामा आउने, ट्याङ्करमा ल्याइने, सिल्बन्दी गरेर बिक्री वितरणका लागि ल्याइका जार र बोतलका पानी ढुक्क भएर पिउने अवस्था नरहेको विभिन्न अध्ययनहरूले देखाएका छन् ।
यद्यपि उपत्यकावासीले प्रशोधित र शुद्ध ठानेर पिउने पानी ८२ प्रतिशत प्रदूषित तथा हानिकारक रहेको अध्ययनहरूले देखाएका छन् ।सरकारले जनताको स्वास्थ्यसँग प्रत्यक्षसम्बन्ध राख्ने पिउने पानीको नियमित गुणस्तर परीक्षण तथा अनुगमन नगरेकाले ठाउँठाउँमा हैजाजन्य सङ्क्रामक रोग फैलिएको उपभोक्ताहरू बताउँछन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले २०२० मा गरेको एक अध्ययनले बागमती नदी छेउछाउका धारा, इनार, कलबाट निकालिएका पानीको ५२ वटा नमुनामा ८५ प्रतिशत स्थानमा कोलिफर्मको किटाणु भेटिएको थियो । यस्तै ५० वटा जारको पानीका नमुना सङ्कलन गरी परीक्षण गर्दा ७६ प्रतिशत इकोलाई, ९२ प्रतिशतमा कोलिफर्म भेटिएको थियो ।
काठमाडौँ उपत्यकामा बजारका चोकचोक अनि सडक छेउमा थुप्रिएको फोहोरसँगै दैनिक वर्षा हुँदा पानीमार्फत ठाउँठाउँमा हैजा पुष्टि भएको हुन सक्ने भएकाले जार, बोतलसँगै धारा, इनारको पानीको नमुना परीक्षण गरी जनतामा चेतना फैलाउन पर्ने विज्ञहरुको जोड छ । बजारमा पाइने जार वा बोतलमा राखिएको पानीको शुद्धता नाङ्गो आँखाले हेरेर थाहा पाउन सकिँदैन ।
धेरै मानिसलाई जार र बोतलको पानी भन्नासाथ स्वच्छ भन्ने लाग्छ । तर सबै जार र बोतलका पानी प्रशोधित हुँदैनन् । त्यसैले जार, बोतल किन्न जाँदा उपभोक्ताले लेबल प्रस्टसँग हेर्नुका साथै पानीको उत्पादन मिति, ब्याच नम्बर र उपभोग मिति प्रष्टसँग उल्लेख गरिएको खण्डमा मात्रै पिउनुपर्ने गुणस्तर विभागले जनाएको छ ।
यस्तै जार र बोतल फुटेको, लेउ लागेको, कोत्रिएर किच्चिएरको भएमा किन्न हुँदैन । जार र बोतलको बिर्कोमा बेरिएको पातलो प्लास्टिक र त्यसमा टासिएको स्टिकरमा उत्पादित कम्पनीको नाम मिलेको खण्डमा मात्रै प्रयोग तथा उपभोग गर्नुपर्ने हुन्छ । हैजा हुँदा बारम्बार वान्ता र पखाला हुनाले शरीरमा भएको पानीसँगै द्रव्य र लवणसमेत निस्किन्छ ।
शरीर बाहिर निस्किएका यी पदार्थको तुरुन्त आपूर्ति नभए संक्रमित व्यक्तिको मृत्युसमेत हुनसक्ने चिकित्सकहरू बताउँछन् । विशेषगरी शुद्ध खाना, पानी, पर्याप्त सरसफाइ, व्यक्तिगत स्वच्छताले हैजाको संक्रमणबाट जोगिन सकिन्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार हैजाको जीवाणु शरीरमा प्रवेश गरेपछि यो रोगको लक्षण दुई घन्टादेखि पाँच दिनसम्म देखिन सक्छ ।
धेरै कम अवधि भएकोले यो संक्रमण महामारीकै रुपमा फैलिने क्षमता राख्छ । यसको उपचार नगरिए बिरामीको मृत्युसमेत हुने चिकित्सकहरूको भनाइ छ ।हैजाको जीवाणु शरीरमा प्रवेश गरेपछि रोगको लक्षण दुई घण्टादेखि पाँच दिनसम्ममा देखिन सक्छ । हैजाको संक्रमण भएपछि अत्यधिक बान्ता र पखाला लाग्छ ।
डब्लूएचओका अनुसार हैजाले संक्रमित करिब ८० प्रतिशत व्यक्तिमा कुनै लक्षण विकसित हुँदैन । सामान्य पखाला मात्र लाग्ने गर्छ । जबकि यस्ता संक्रमितको दिसामा संक्रमण भएको १० दिनसम्म ब्याक्टेरिया रहन सक्छ । यसैबाट अरूलाई संक्रमण सर्छ । आन्द्रामा हुने संक्रमणको सुरुवात पखाला र बान्ताबाट भए पनि समयमा उपचार नगर्दा यसले ज्यानसमेत लिन सक्ने चिकित्सकहरु बताउँछन् । हैजाले प्यास बढी लाग्ने, नाडी मन्द हुने, पिसाब कम आउने र बेहोससम्म हुने समस्या देखिन्छ ।
प्रकाशित: १४ असार २०७९ ०७:५४ मंगलबार