के कोरोना संक्रमण बढेको हो ?

के कोरोना संक्रमण बढेको हो ?


सन् २०१९ अन्तिम देखि चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना आज संसारको लागि अकल्पनीय समस्या बनेको छ ।

विश्व स्वास्थ्य संगठनबाट महामारी घोषित कोरोनाले संसारको शक्तिशाली देशहरुलाइ पनि घुडा टेक्न बाध्य बनायो । कोरोना महामारीले विश्वभरका मानव जातिमा आर्थिक, सामाजिक र मनोवैज्ञानिक हर क्षेत्रमा धक्का दियो । पछिल्लो केही समय मत्थर देखिएको कोरोना भाइरस संक्रमणको दर पुनः उकालो लाग्न थालेको छ । करिब दुई वर्ष त्रासका साथ बिताएका सर्वसाधारण पछिल्लो एक सातादेखि पुनः त्रसित बनेका छन् ।

विश्वभरीको तथ्याङ्क केलाउँदा अहिले अधिकांश मुलुकमा कोरोना संक्रमण औसत २० प्रतिशतले बढेको छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार विश्वका ११० देशमा कोरोना भाइरसको संक्रमण बढेको छ । डब्लुएचओका महानिर्देशक टेड्रोस घेब्रेयसकाले कोरोना भाइरसले स्वरूप परिवर्तन गर्दै गए पनि महामारी अझै अन्त्य नभएको जानकारी दिएका छन् । धेरै देशमा अहिले पनि संक्रमण देखिइरहेकाले सावधानी अपनाउन र खोप लगाउन आग्रह गरिएको छ ।

कोरोना महामारीले अहिलेसम्म विश्वभरी ६३ लाख ५८ हजार २ सय ८ जनाको ज्यान गइसकेको छ । ५५ करोड २७लाख ८४ हजार ९ सय पाँच जना संक्रमित भएका छन् भने ५ं२ करोड ७९ लाख ५७ हजार १ सय ८६ निको भएका छन् ।त्यसैगरी नेपालमा आजसम्म ११ लाख २० हजार दुई सय १७जना संक्रमित भएका छन् । ९ लाख ६७ हजार ४ सय७८ निको भएका छन् भने ११हजार ९ सय ५२ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो १८ महिनामा विश्वमा १२ अर्ब खोप वितरण गरिएको छ । विश्वका ५८ देशले मात्रै ७० प्रतिशतभन्दा बढीले कोरोना भाइरसविरूद्धको खोप लगाइसकेका छन् । केही दिनयता कोरोना संक्रमण निरन्तर उकालो लागिरहेको छ । असार महिना लागेदेखि नै कोभिड संक्रमण दर (पोजिटिभिटी रेट) बढ्दै गएको हो । यो दर शुक्रबार ३.३ प्रतिशत पुगेकोे छ । जबकि १५ दिनअघि असार १ मा संक्रमण दर ०.६४ प्रतिशत मात्र थियो ।

संक्रमण दर बढेसँगै सक्रिय संक्रमितको संख्यामा पनि उल्लेख्य वृद्धि देखिएको छ । असार १ गते ९७ सक्रिय संक्रमित रहेकामा हाल यो संख्या झन्डै तीन गुणले बढेर २८० पुगेको छ । गत माघ ८ गते नेपालमा कोरोना संक्रमण सबैभन्दा उच्च बिन्दुमा पुगेको थियो । त्यस दिन १० हजार २५८ जनामा संक्रमण पुष्टिभएको थियो । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या थियो । 

छिमेकी मुलुक भारतमा पछिल्ला दिन संक्रमण दर बढ्दाकै असर हो÷होइन भन्ने निक्र्योल गर्न स्वास्थ्य मन्त्रालयले सूक्ष्म अध्ययन थालेको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्ला दिन पुष्टि भएका केसको जिन सिक्वेन्सिङ पनि सुरु गरिएको छ । त्यसको परिणाम आएपछि मात्र ओमिक्रोन भेरिएन्ट वा भारतमै देखिएको बढी संक्रामक ‘बीए.४’ र ‘बीए.५’ हो भन्ने यकिन हुने मन्त्रालयको भनाइ छ । भारतीय सिमानाका हुँदै आउने नेपाली कामदारमा संक्रमणको दर बढी देखिएकाले ‘बीए.४’ र ‘बीए.५’ भेरिएन्ट भित्रिसकेको मन्त्रालयको आशंका छ ।

केही दिनयता नाकाहरूबाट आउनेमध्ये दैनिक सरदर ५–६ जनामा संक्रमण देखिएकामा २ हजार ८ सय १४ जनामा नमुना परिक्षण गर्दा पछिल्लो २४ घण्टामादेशभरी ५० जनामा कोभिड पुष्टि भएको छ । १८ जना निको भएर घर फर्किएका छन् भने मृत्यु हुनेको संख्या शून्य रहेको छ । सक्रिय संक्रमितको संख्या २ सय ९७ रहेको छ । नेपालमा हालसम्म ओमिक्रोनको ‘बीए.२’ भेरिएन्टका कारण संक्रमण फैलिएको पाइएको छ ।संक्रमण बढ्दै गएपछि ओमिक्रोनबाहेकका भेरिएन्टको समेत परीक्षण थालिएको छ । 

Logo