सामाजिक सुरक्षाको एक वर्ष : एक लाख १५ हजार श्रमिक सूचीकृत

सामाजिक सुरक्षाको एक वर्ष : एक लाख १५ हजार श्रमिक सूचीकृत


काठमाडौं,

जोखिममा परेका नागरिकलाई सामाजिक संरक्षण प्रदान गर्ने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकारले शुरु गरेको रणनीतिक महत्वको सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेको एक वर्ष पुगेको छ । सरकारले गत वर्ष मङ्सिर ११ गते सरकारले ‘नयाँ युगको शुरुआत’ भन्दै सामाजिक सुरक्षा योजनाको घोषणा गरेको थियो ।

कोषमा आजसम्म ११ हजार रोजगारदाता र एक लाख १५ हजार श्रमिक सूचीकृत भइसकेका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी दिनुभयो । त्यस्तै १७ करोड योगदान रकम सङ्कलन भइसकेको छ । मङ्सिर १४ गतेसम्म सूचीकरणका लागि समय थप गरिएको छ । पछिल्लो पटक थप भएको समयावधिभित्र सबै प्रतिष्ठान र आबद्ध श्रमिक कोषमा सूचीकृत हुने सरकारले विश्वास लिएको छ ।

सरकारले कार्यक्रम घोषणा भएको दिनलाई सामाजिक सुरक्षा दिवसका रुपमा मनाउने घोषणा गरेको छ । सरकार, रोजगारदाता र श्रमिकको सहभागितामा दिवसलाई भव्यरुपमा मनाउन तयारी गरिएको छ । यसकै लागि बुधबार भृकुटीमण्डपमा बृहत कार्यक्रमको आयोजना गरिएको छ ।

सामाजिक सुरक्षा योजनामा सहभागी हुन रोजगारदाता र श्रमिकले मन खुम्च्याइरहँदा कोषमा योगदान गरेर मृत्यु भएका योगदानकर्ताको आश्रित परिवारले भने कोषबाट आर्थिक सहायता प्राप्त गर्न थालेका छन् । कोषमा योगदान आरम्भ गरेका एक निजी कम्पनीमा काम गर्ने इञ्जिनीयर रुपेन्द्र थापा तथा अर्को एक कम्पनीमा काम गर्ने प्रकाश तामाङ मोक्तानका आश्रित परिवारले कोषबाट आर्थिक सहायता प्राप्त गरेका हुन् । उनीहरुका परिवारले आश्रित परिवार सुरक्षा योजना अन्तर्गत प्राप्त गर्ने अन्तिम दाहसंस्कार खर्च एकमुस्ट प्रतिव्यक्ति २५ हजार सहायता प्राप्त गरिसकेका छन् ।

यसैगरी मासिक निवृत्तिभरणबापत थापाको आश्रित परिवारले आधारभूत पारिश्रमिकको ६० प्रतिशत हुन आउने मासिक १७ हजार १०० र तामाङको परिवारले मासिक १० हजार २०० प्राप्त गरेको कोषले जनाएको छ । योगदान आरम्भ गरेको एक महिनामै उनीहरुको सडक दुर्घटनामा परी ज्यान गएको थियो ।

कोषले तत्कालका लागि चार प्रकारका सुरक्षा योजना लागू गरेको छ । औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना अन्तर्गत निवृत्तिभरण योजना र अवकास सुविधा योजना सञ्चालनमा ल्याएको छ ।

Logo