काठमाडौँ

त्रिवि शिक्षण अस्पताल कलेजो प्रत्यारोपणको अन्तिम तयारीमा पुगेको छ । ‘जेठ दोस्रो साता भित्र कम्तीमा एक जना बिरामीमा प्रत्यारोपण गर्ने गरी तयारी भइरहेको छ,’ अस्पतालका प्रशासक मान बहादुर भट्टले भने । "/>

शिक्षण अस्पताल कलेजो प्रत्यारोपणको अन्तिम तयारीमा

शिक्षण अस्पताल कलेजो प्रत्यारोपणको अन्तिम तयारीमा


काठमाडौँ

त्रिवि शिक्षण अस्पताल कलेजो प्रत्यारोपणको अन्तिम तयारीमा पुगेको छ । ‘जेठ दोस्रो साता भित्र कम्तीमा एक जना बिरामीमा प्रत्यारोपण गर्ने गरी तयारी भइरहेको छ,’ अस्पतालका प्रशासक मान बहादुर भट्टले भने । कलेजो प्रत्यारोपण गर्न जति सक्दो छिटो तयारीमा जुटिरहेको प्रत्यारोपणको नेतृत्व गरिरहेका कलेजो तथा प्यानक्रियाज सर्जन प्राध्यापक डा. रमेशसिंह भण्डारीले बताए । ‘स्वास्थ्य मन्त्रालयमा केही काम बाँकी छन्, त्यो पूरा हुने क्रममा छ,’ उनले भने।

प्रत्यारोपणमा आवश्यक सामग्री तयारी अवस्थामा रहेको, चार शैयाको आइसियू, चिकित्सक समूह, चिकित्सकलाई तालिम लगायतका काम पूरा भइसकेको डा. भण्डारीले बताए । ‘कलेजो प्रत्यारोपणकै लागि एक चिकित्सकले भारतको मेदान्त अस्पतालबाट तालिम लिइसकेका छन् । अब नर्सहरुले पनि तालिम लिँदैछन्’, उनले भने । बिरामीको कलेजोले काम गर्न छोडेपछि दोस्रो व्यक्तिको आधा कलेजो झिकेर राख्ने विधि हो कलेजो प्रत्यारोपण । कलेजो प्रत्यारोपण दुई तरिकाबाट गर्न सकिन्छ । मस्तिष्क मृत्यु भएका तर शरीरको मृत्यु नभएका व्यक्तिबाट कलेजोको आधा भाग निकालेर बिरामीलाई प्रत्यारोपण गर्न सकिन्छ । यस्तै जीवित व्यक्तिको आधा कलेजो शल्यक्रियाका माध्यमबाट निकालेर बिरामीमा प्रत्यारोपण गरिन्छ ।

नेपालमा २०७३ सालमा कोरियाली चिकित्सक डेभिन कोनको नेतृत्वमा पहिलोपटक कलेजो प्रत्यारोपण भएको थियो । त्रिवि शिक्षण अस्पतालमा भने रमेश भण्डारीकै नेतृत्वमा प्रत्यारोपण हुन लागेको हो । यसका लागि डा भण्डारी विगत तीन वर्ष देखि क्रियाशील छन् । उनका अनुसार नेपालमा प्रतिवर्ष एक हजार व्यक्तिको कलेजोमा समस्या देखापर्छ । ती मध्ये २० प्रतिशतलाई कलेजो प्रत्यारोपण गर्नु पर्ने अवस्था रहेको डा. भण्डारीले बताए। वार्षिक ८० जना बिरामीले भारतका विभिन्न अस्पतालामा पुगेर कलेजो प्रत्यारोपण गर्ने गरेको तथ्यांक छ ।

भारतमा प्रत्यारोपण गर्दा दोब्बर खर्च लाग्ने भएकाले नेपालमा यस्तो सेवा उपलब्ध हुँदा बिरामीलाई राहत पुग्ने डा. भण्डारीले बताए । उनका अनुसार शिक्षण अस्पतालले कलेजो प्रत्यारोपण गर्दा सम्पूर्ण उपचार खर्च सहित २५ लाख रुपैयाँ लाग्ने अनुमान गरेको छ । भारतमा प्रत्यारोपण गर्दा ४० लाख रुपैयाँ लाग्छ ।
नागरिकबाट

Logo