सरकारबाट सहयोग नपाएपछि पाइलट पढ्न दिपेन्द्रले थाले ‘एक रुपैयाँ संकलन अभियान’

सरकारबाट सहयोग नपाएपछि पाइलट पढ्न दिपेन्द्रले थाले ‘एक रुपैयाँ संकलन अभियान’


गरिबीका कारण पाइलट अध्ययन गर्न नपाएका दिपेन्द्र घिसिङ तामाङले अध्ययनका लागि ‘एक रुपैयाँ संकलन अभियान’ सञ्चालन गरेका छन् । 

शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले अभियान सुरु भएको जानकारी गराएका हुन् । दोलखाको बैतेश्वर गाउँपालिका स्थायी ठेगाना भएका दिपेन्द्र अभिभावकविहीन छन् । सानै उमेरदेखि पाइलट बन्ने सपनाले मेहनतका साथ पढेपनि प्लस टू पछिको अध्ययन पैसा अभावले रोकिने अवस्था आएको उनले बताए । 

आफ्नो समस्या लिएर स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रमा पहल गरेपनि कतैबाट सुनुवाइ नभएको उनको गुनासो छ ।

एमबीबीएस पढ्ने विद्यार्थीले स्थानीयदेखि संघीय सरकारसम्मको सहयोग पाउने व्यवस्था भएपनि पाइलट पढ्न चाहने विद्यार्थीलाई कसैले सहयोग गर्न नचाहेको दिपेन्द्रले बताए । त्यही कारण एक रुपैयाँ अभियान सञ्चालन गरेर भएपनि पाइलट पढिछाड्ने अठोट उनको छ ।

‘मेरो बाल्यकालदेखिको सपना भनेको पाइलट बन्ने थियो । मैले एमाले, कांग्रेस र नयाँ दल भनिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुसँग पनि भेटे । नेताहरुले आश्वासनमात्रै दिए’ उनले भने । 

गुनासो लिएर अर्थमन्त्रालय, शिक्षा मन्त्रालय, पर्यटन मन्त्रालयसम्म धाउँदा पनि सहयोग नपाएपछि एक रुपैयाँ संकलन अभियान सुरु गर्न परेको बताए । उनले प्रदेश सरकारमा गुनासो सुनाउँदा विदेश जाने सल्लाह दिएको समेत बताए । 

‘एक रुपैयाँ अभियान चलाउनु मेरो रहर होइन । मेरो रहर भनेको पाइलट बन्नु हो । पाइलट किन भन्दाखेरी मलाई धेरैले तिमीजस्तो गरिब मान्छेले यस्तो सपना बोक्नु गलत हो भनेर भने तर मेरो मनमा गरिब विद्यार्थीले पाइलट बन्न नसक्ने हो ? भन्ने लाग्यो’ उनले भने, ‘यो अभियानबाट पनि पाइलट बन्छु भन्ने लागेको छ । यो अभियानबाट भोलिका दिनमा पढ्न चाहेर पनि पैसा नभएकालाई सहयोग हुनेछ ।’

एक रुपैयाँ अभियानमा सहभागी हुन चाहनेहरुका लागि चाँडै सहयोगको माध्यम सार्वजनिक गर्ने उनले बताए । पाइलट पढ्नका लागि करिब ८० लाख रुपैयाँ लाग्ने उनको भनाई छ । पाइलट पढिसकेर सेवामा आएपछि आफूले सहयोग पाए बराबरको रकम सामाजिक सेवामा खर्चने उनले प्रतिवद्धता जनाए ।

Skip This
Logo