चन्द्रागिरीमा प्रहरीको नाममा ‘चिटिङ’ : एम्बुलेन्ससहित ३ वटा सवारी लुट्ने ३ जना पक्राउ

चन्द्रागिरीमा प्रहरीको नाममा ‘चिटिङ’ : एम्बुलेन्ससहित ३ वटा सवारी लुट्ने ३ जना पक्राउ


मंगलबार मध्यराति काठमाण्डौँबाट गणेशमान मार्ग (चन्द्रागिरी) हुँदै एउटा एम्बुलेन्स मकवानपुरको चित्लाङ्तर्फ गइरहेको हुन्छ । प्र. ३ –०१–२३ च – ११०९ नम्बरको एम्बुलेन्समा राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गरेर निको भएका थाहा नगरपालिका १० का बिरामी सवार हुन्छन् ।

राति करिव १२ बजेर २० मिनेट जाँदा उक्त एम्बुलेन्स काठमाण्डौँको चन्द्रागिरि नगरपालिका ४ पानिघाटस्थित जंगलमा पुग्छ ।

त्यहाँ बसिरहेका एक हुल युवाहरूले एम्बुलेन्सलाई रोक्छ।  एम्बुलेन्स चालक इश्वर महर्जन उनीहरूको निर्देशन अनुसार एम्बुलेन्स रोकेर कुराकानी गर्न लाग्छन्।

तर, ति युवाहरू आफूहरू सादा पोशाकको प्रहरी बताउदै कुटपिटमा उत्रन्छन्।  उनलाई मात्रै होइन एम्बुलेन्समा सवार बिरामीमाथि समेत उनीहरूले हातपात गर्छन्। सुनसान जंगलको बीचमा युवाहरूले घेर्दै कुटपिट गरेपछि उनीहरू जे भन्यो त्यही गर्ने अबस्थामा पुग्छन् ।

ति युवाहरूले उनीहरूसँग भएको नगद, सुन, मोबाइल फोनलगायत खोस्न थाल्छन्। ‘धन भन्दा ज्यान ठूलो’ भन्दै सबै सुम्पिन बाध्य हुन्छन्  उनीहरू ।

लुटेराहरूको समूहले सोही सडकखण्डमा तरकारी ढुवानी गर्ने बा ४ ख ९९० नं को आइचर गाडी ग १ च ७६३३ नं को बोलेरोमा सवार चालकहरूमाथि पनि कुटपिट र लुटपाट गर्छन् । 

लुटपाटपछि तीन वटै सवारीसाधनका चालकहरूले इलाका प्रहरी कार्यालय चित्लाङ् र थानकोट प्रहरी वृतमा घटनाबारे जानकारी दिन्छन् ।  घटनाको जानकारी पाउनासाथ खटिएको प्रहरी टोलीले लुटेरा समूहका ३ जनालाई प्रकाउ गर्छ ।

पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका ४ बस्ने  २४ बर्षीय सरोज कामी, ३१ बर्षीय राम भगत शाही र २७ बर्षीय शिव शाही रहेका छन् । प्रहरी टोलीले लुटपाटमा संलग्न व्यक्तिहरूसाथबाट प्रदेश ३–०२–००३ प ४७७७ र बा ७१ प ६९४५ नम्बरको २ वटा मोटरसाइकल बरामद गरेको छ । उनीहरूको साथबाट प्रहरीले ३३ हजार ८९५ रूपैयाँ नगद, ६ वटा मोबाइल फोन समेत बरामद गरेको छ। 

 

उनीहरूमाथि मुलुकी अपराध ऐन २०७४ अनुसार चोरी तथा डाँका सम्बन्धि कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत थानकोटका प्रहरी निरीक्षक गायत्रीराज शर्माले जानकारी दिए ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन कडाइ गरेको छ। नागढुंगा नाकामा कडाइ गरिएसँगै यो बाटो हुँदै आवतजावत गर्नेहरूको संख्या बाक्लो छ।

चन्द्रागिरी सडक

काठमाडौँ र मकवानपुर आवतजावत गर्ने यो सबै भन्दा पुरानो र छोटो मार्ग पनि हो । करिव एक घण्टामा काठमाडौँको थानकोटदेखि मकवानपुरको चित्लाङ् पुग्न सकिन्छ ।

Logo